सिड्नी । अस्ट्रेलियामा नेपाली बढ्दै गर्दा उन्नति र प्रगतिका कथासँगै विकृति र विसंगतिका व्यथा पनि वृद्धि हुन थालेको छ ।अस्ट्रेलियामा हाल लगभग दुई लाख नेपाली छन् । पुगनपुग १० हजारको हाराहारीमा अभिभावकको उपस्थिति छ । छोराछोरीको निम्ता, नातिनातिनीको हेरचाहका निम्ति प्यारेन्टल भिसामा रहेका र ग्राजुएसनमा सहभागी हुन नेपालबाट आएका अभिभावक यति बेला कृषि मजदुरका रूपमा अस्ट्रेलियाका विभिन्न गाउँठाउँमा सजिलै भेट्न सकिन्छ ।
अस्ट्रेलियामा कृषि कामदारको चरम अभाव र बिचौलियाको बेइमान स्वभाव अनि अभिभावकमा डलर कमाउने भावले पनि उनीहरू त्यसतर्फ आकर्षित भएको जानकार बताउँछन् ।छोराछोरी सहरमा काम र अध्ययनमा व्यस्त रहन्छन् । बाबुआमा घरमै बस्ने हुनाले पार्कमा भेला हुने, चाडपर्व मनाउने गरेको दृष्य नेपालीको बाक्लो संख्या रहेको सिड्नीका अर्वन, ग्रानभिल, रकडेल, कोग्रा, हर्षभिलतिर देखिन्छ ।
तर, पछिल्ला दिनहरूमा पैसा कमाइने हल्ला र लोभले नेपाली अभिभावक अस्ट्रेलियाका कृषि फार्मतिर दौडधुप गरेको देखिन थालेको छ ।प्रशस्तै पैसा कमाइ हुने र गाउँघर घुम्न पाइने हल्लाका पछाडि लागेर कैयौँ नेपाली अभिभावक न्यु साउथवेल्सको कप्स हार्वरदेखि भिक्टोरियाको सेपाटन र साउथ अस्ट्रेलियाको रेनमार्कसम्म पुगेका देखिन्छ । यति बेला कप्स हार्वरमा ब्लु बेरीको सिजन छ । त्यहाँका फार्ममा मात्र एक हजारको संख्यामा नेपाली अभिभावक रहेका उक्त स्थानमा एक हप्ताको बसाइपछि सिड्नी फर्किएका कृष्णराजले बताए । ‘यति कमाइन्छ र उति कमाइन्छ भनेर भन्दा रहेछन्, पुगेपछि थाहा हुँदो रहेछ पीडा,’ उनले भने ।
अभिभावकलाई यसरी फार्ममा पुर्याउनेमा नेपाली मूलकै बिचौलियाको बिगबिगी रहेको जानकारको भनाइ छ । फार्मरसँग यति मान्छे ल्याउँछु भनेर डिल गर्ने, आफूले मनग्य कमिसन खाने, कतिपयलाई पैसा नदिने र धम्क्याउने समेत गरिएको एक नेपाली अभिभावकले सुनाए ।
यति मात्र होइन, एउटा कोठामा सात–आठजना सुताउने, हरेकसँंग हप्ताको डेढ सय डलर असुली गर्ने, बस्ने ठाउँबाट फार्ममा पुर्याएको छुट्टै पैसा लिने गरिएको आरोप छ । “यसरी लहलहैमा अभिभावकहरू पनि ठगिएको र कमाइ भने खासै नहुने हुनाले हामीले यसलाई सम्बन्धित निकायमा सुसूचित गर्नुपर्नेछ,” कृष्णराजले भने ।
सुन्तला र अंगुर टिप्न साउथ अस्ट्रेलिया पुगेका नेपाली अभिभावकको कहानी पनि उस्तैउस्तै छ । “बलियाबांगाले डेढ सय रुपैयाँसम्म कमाउँछन् होला, तर सामान्य व्यक्तिले असी–सय बनाउलान्,” एक चरण फार्म घुमेर फर्किएका एक अभिभावकले सुनाए ।
भिक्टोरियाको सेपाटनमा स्याउ होस् या गोलभेँडा टिप्ने काम, क्वीन्सल्यान्डको बुन्डावर्ग सबैतिर नेपाली पुगेका छन् । सेना–प्रहरीका रिटार्यडदेखि नेपाल सरकारका पेन्सनर समेत यति बेला अस्ट्रेलियाका फार्मतिर भेटिन थालेका छन् ।
यसरी अभिभावकले रहरमा होस् या डलरको लोभमा, काम गर्नु कानुनी रूपमा अवैध मानिन्छ । अस्ट्रेलियामा प्यारेन्ट भिसामा आएका अभिभावकलाई कानुनी रूपमा काम गर्ने अधिकार रहँदैन । करको दायरामा काम गर्न नपाएपछि यसरी नगदमा गरिने कार्य आफैँमा अवैध हो ।
अस्ट्रेलियाको प्रवेशाज्ञा लिएर आएपछि यहाँको नियम–कानुन मान्नुपर्ने हुन्छ । अभिभावकलाई काम गर्ने अधिकार प्रदान गरिएको हुँदैन । यसरी फार्ममा काम गर्न जानु आफैँमा गलत भएको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले बताए । आम्दानी हुने देखेर लोभिएर जानु अभिभावकको गलत निर्णय भएको पोखरेलको भनाइ छ ।
बिनाअनुमति काम गर्दा केही घटना भइहाले त्यसको जिम्मेवारी कसैले नलिने भएकाले परिवारले दुःख पाएको घटना समेत देखिएको पोखरेलले सुनाए । प्रहरीको फन्दामा परेको अवस्थामा भिसा रद्द हुनेदेखि अन्य कानुनी कारबाही भोग्नुपर्ने हुँदा छोराछोरी पनि सजग हुनुपर्नेमा उनले जोड दिए ।
केही दिनअघि मात्र अभिभावकका रूपमा अस्ट्रेलिया आएका एक नेपाली कामका दौरान घाइते भए । उनले काम गर्ने ठाउँको विदेशी साहुले वास्ता गरेन । उनी नगदमा काम गर्थे । सोही कारण क्षतिपूर्ति माग गर्ने अवस्था रहेन । उनको छोरा दिनरात कमाएको पैसा हाल अभिभावकको उपचारमा खर्च गर्न बाध्य छन् ।
यस्तो कार्यले कालान्तरमा नेपाली समाजलाई आहात तुल्याउने एनआरएनए एनएसडब्ल्यूका सचिव कल्याण खड्काले बताए । पेसाले वकिल खड्काले भने,‘अभिभावक अस्ट्रेलिया ल्याउने छोराछोरीले पनि जिम्मेवार बन्नुपर्ने मैले देखेको छु । किनभने, अभिभावकलाई कानुनी प्रावधान थाहा नभए पनि यहाँ बस्ने विद्यार्थी, पीआर र नागरिकलाई सबै कुराको जानकारी हुन्छ । यस्ता कुरालाई स्वयं छोराछोरीले निरुत्साहित गर्नुपर्छ ।’ साभार बाह्रखरी डटकम
© 2023. All rights reserved. Designed By: HK Web Services