अस्ट्रेलियामा महिला भन्दा पुरुषको तलब १९ प्रतिशत बढी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 months ago

सिड्नी । अस्ट्रेलियामा महिला र पुरुषबीचको पारिश्रामिक भिन्नता १९ प्रतिशत देखिएको छ । हरेक रोजगारदाताले सरकारलाई आफ्नो कर्मचारीको तलब भिन्नता प्रतिबेदन बुझाउनुपर्ने एक बाध्यकारी नियम आएसँगै अस्ट्रेलियाका ५ हजार भन्दा बढी रोजगादाताले बुझाएको प्रतिवेदनका आधारमा उक्त भिन्नता देखिएको हो ।

अस्ट्रेलियाको इतिहासमा पहिलो पटक महिला र पुरुष बीचको तलब भिन्नता (जेण्डर पे ग्याप) सार्वजनिक भएसँगै संघीय सरकारका महिला मन्त्री क्याटी गल्लाघरले यसलाई ऐतिहासिक दिनको संज्ञा दिएकी छन् । ‘अस्ट्रेलिया जस्तो विकसित देशमा पनि जेन्डर पे ग्याप निकै जटिल समस्याका रुपमा देखिएको छ, यसलाई न्यूनीकरण गर्न यसले तथ्यांकले सहयोग पुग्छ’, उनले सञ्चारकर्मीहरुलाई भनेकी छन् ।

औषत रुपमा महिला भन्दा पुरुषको तलब १९ प्रतिशत धेरै देखिएपनि विगतको तुलनामा महिलाहरुको अवस्था सुधार हुदै आएको बताईएको छ । प्रतिवेदन अनुसार, निर्माण क्षेत्रमा सबैभन्दा बढी ३१.८ प्रतिशत र होटल तथा पर्यटन उद्योगका क्षेत्रमा सबैभन्दा कम १.९ प्रतिशत तलब अन्तर देखिएको छ । अस्ट्रेलियामा १ सय कामदार रहेका हरेक रोजगारदाताले जेण्डर पे ग्याप न्यूनीकरणका लागि थालेका प्रयासका बारे पनि सरकारलाई जानकारी गराउनुपर्नेछ ।

पछिल्लो तथ्यांकले अस्ट्रेलियामा नाम चलेका कम्पनी तथा ब्राण्डहरुलाई महिला तथा पुरुषलाई समान ज्यालाको व्यवस्था गर्न नैतिक दबाब पनि सिर्जना गरेको महिलाअधिकारबादीहरुले प्रतिक्रिया दिएका छन् ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services