महँगो कोठा भाडाका कारण सिड्नीबाट अन्य शहर जाने बढे
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 weeks ago

सिड्नी । घर र कोठाको भाडा अत्यधिक महँगो भएपछि सिड्नीबाट युवा वर्ग धमाधम अन्य शहरहरुमा बसाई सर्न थालेका छन् । अस्ट्रेलिया भर सिड्नीमा घर र कोठाको भाडा सबैभन्दा महँगोे छ, जहाँ प्रतिहप्ता ७ सय ५० डलरको हाराहारीमा रहेको छ ।

अस्ट्रेलियाको उत्पादनशील आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार, संघीय र राज्य सरकारले निर्माण गर्ने नयाँ घर तथा मर्मतका लागि दिईएका आवेदनहरु समयमै स्वीकृत नहुँदा हाउजिङ क्राइसिस बढेको उल्लेख गरिएको छ ।

‘सोही कारण भाडा आकाशिएको छ भने युवा पुस्ताहरु अन्य सस्तो राज्यतर्फ आकर्षित भएका छन्’, प्रतिवेदनमा भनिएको छ । हाउजिङ कम्पनीहरुले गरेको एक अध्ययन अनुसार, अस्ट्रेलिया भर घर र कोठाको अभाब रहेपनि तुलनात्मक रुपमा मेलर्बन सबैभन्दा सस्तो रहेको छ, जहाँ प्रतिहप्ता औषत ४ सय ५० देखि ६ सय डलर सम्म रहेको छ ।

आयोगको प्रतिवेदन अनुसार, एकबर्षको अवधीमा ३५ देखि ४० बर्ष उमेर समूहका ३५ हजार भन्दा बढीले सिड्नी छोडेर अन्य शहर गएका छन् । ‘त्यसमा व्यक्तिगत कारण भएपनि हाउजिङ क्राइसिस महत्वपूर्ण देखिएको छ’ प्रतिवेदनले भनेको छ । घर र कोठाको भाडा कम गर्न स्थानीय काउन्सिल देखि न्यू साउथ बेल्स सरकारले राहत प्याकेज देखि घर निर्माणलाई तीब्रता दिनुपर्ने विज्ञहरुको भनाई छ ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services