ऐतिहासिक बन्यो सिड्नीको नेपाल फेस्टिभल
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः4 weeks ago

सिड्नी। अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा नेपाल फेष्टिभल २०२४ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र न्यू साउथ बेल्स राज्य समितिको संयुक्त आयोजनामा भएको फेस्टिभलमा करिब १० हजार दर्शकले अवलोकन गरेको आयोजकको दाबी छ ।

सिड्नीको मुटु मानिने डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा भएको फेस्टिभलमा सामाजिक र जातीय संघसंस्थाले आ–आफ्नो कला, संस्कृति र परम्परा झल्किने परम्पराले विदेशी पाहुना र सहभागिहरुको ध्यान तान्न सफल भएको थियो । फेस्टिभलमा औपचारिक कार्यक्रमका अतिरिक्त नेपाल चिनाउने नेपाल हाउस, नेपाल परेड र हस्तकलाको प्रर्दशनी मुख्य आकर्षणका रुपमा रह्यो । नेपाल परेड, अझ विशेष रहन पुग्यो ।

सिड्नीको सबैभन्दा व्यस्त सिटी टाउनहलको ट्रेन स्टेशनबाट बाजागाजा, जातिय भेषभेषा सहित सुरु भएको परेड आधा घण्टा लगाएर कार्यक्रमस्थल पुगेको थियो । नेपाल परेडलाई प्रहरीले विशेष सुरक्षा प्रबन्ध सहित सडक नै बन्द गरेर उच्च महत्व दिएको थियो । आयोजकले निकै मेहनेत गरेर चुस्त व्यवस्थापन गरेका कारण नेपाल परेड इतिहासकै उत्कृष्ट बनेको सहभागिहरुले बताएका छन् ।

फेष्टिभलमा ३५ वटाभन्दा बढी स्टलहरु राखिएको थियो भने नेपाली खाना, नेपालीहरुले सञ्चालक गरेका व्यवसाय मात्र होइन अष्ट्रेलियाका व्यवसायिक संघसंस्थाले पनि सक्रिय सहभागिता जनाएका थिए । फेस्टिभलमा न्यू साउथ बेल्स राज्यका प्रिमियर (मुख्यमन्त्री) क्रिस मिन्सले पहिलो पटक सहभागिता जनाएका थिए । उनले नेपाली हस्तकला प्रर्दशनीको अवलोकन गर्दै नेपाली व्यवसायीहरुले उत्साह भर्ने काम गरेका थिए ।

त्यस्तै, न्यू साउथ बेल्स राज्यकै विपक्षी पार्टी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान, बहुसांस्कृतिक मन्त्री स्टीभ काम्पर लगायत संघीय सन्त्रीपरिषद्मा सहभागि मन्त्रीहरुको समेत सहभागिता थियो ।एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले न्यू साउथ बेल्सको आर्थिक उन्नति र विकासमा नेपालीहरुको उल्लेखनीय योगदान पु¥याएको भन्दै राज्य पनि नेपाली समुदायलाई विशेष तवरले हेर्न आग्रह गरेका थिए । उनले महोत्सबकै कारण आन्तरिक पर्यटन प्रर्बदनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा प्रमुख प्रायोजक ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड भिसाका तर्फबाट निदेशक रामचन्द्र पौडेलले फेस्टिभलमा जोडिन पाउँदा खुशी लागेको बताए । कार्यक्रममा एनआरएन न्यूसाउथवेल्स राज्य समितिका संयोजक विनोद कुँवरले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव सन्तोष कुँवर र न्यूसाउथवेल्स सचिव कल्याण खड्काले गरेका थिए । कार्यक्रममा एनआरएनएका विभिन्न तहमा रहेका नेताहरुको सहभागिता थियो । फेस्टिभलमा विभिन्न संघसंस्थाले साँस्कृतिक नृत्य देखाएका थिए भने एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माले साँगेतिक प्रस्तुती दिएका थिए ।

 

 

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services