अस्ट्रेलियाले घटायो अन्तराष्ट्रिय विद्यार्थीको बार्षिक कोटा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 weeks ago

सिड्नी । अस्ट्रेलियाले सन् २०२५ मा २ लाख ७० हजार अन्तराष्ट्रिय विद्यार्थीलाई भिषा जारी गर्ने भएको छ । यो सँख्या सन् २०२४ भन्दा ५३ हजार कम भएको शिक्षामन्त्री जेइसन क्लियरले जानकारी दिएका छन् । शिक्षा मन्त्रालयले केहिदिन देखि शैक्षिक सरोकारवाला निकायहरुसँग निरन्तर छलफल र संवादपछि मंगलबार आगामी बर्षलाई कोटा निर्धारण गर्दै उक्त सँख्यामा मात्र अन्तराष्ट्रिय विद्यार्थी भित्र्याउने जनाएको छ ।

विश्वविद्यालयहरुले विद्यार्थी अभाबमा ठुलो आर्थिक घाटा सहनुपरेको र शैक्षिक क्यालेण्डर समेत अस्तव्यस्त भएको बताउँदै बार्षिक कोटा ३ लाख ५० हजार पु¥याउनुपर्ने माग गरेपनि, सरकारले त्यसलाई अस्वीकार गर्दै २ लाख ७० हजारमा सीमित गरेको छ । जस अनुसार, विश्वविद्यालयहरुले १ लाख ४५ हजार र भोकेशनल शैक्षिक संस्थाहरुले ९५ हजार अन्तराष्ट्रिय विद्यार्थी भर्ना गर्न पाउनेछन् ।

शिक्षामन्त्री जेइसनले सरकारले ल्याएको दश बर्षे आप्रवासी नीति अनुसार, अन्तराष्ट्रिय विद्यार्थीहरुको बार्षिक कोटा घटाउनुपरेको बताएका छन् । अस्वभाविक ढँगले बढेको आप्रवासीका कारण घर र कोठाको चरम अभाब हुनुका साथै रोजगारीको सीमितता र विभिन्न किसिमका समस्याहरु उत्पन्न भएको भन्दै सरकारले गतबर्ष डिसेम्बर पहिलो साता नयाँ आप्रवासीलाई कडाई गर्ने नीति ल्याएको थियो । सरकारले बार्षिक कोटा घटाएसँगै विश्वविद्यालयहरु थप दबाबमा परेका छन् ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services