सिड्नीमा एनपिएल सुरु, मैत्रीपूर्ण खेलमा एनसीएए विजयी
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः9 months ago
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा दोश्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल) सुरु भएको छ । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजनामा सुरु भएको एनपिएलको आइतबार नरेल्न भेइलको नगिट पार्कमा ट्रफी रिभिल र एनसीएए र एनपिएल–११ बीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै एनपिएल सुरु गरिएको हो ।  आयोजक एनसीएएका अध्यक्ष करण श्रेष्ठ, मुख्य प्रायोजक फिस्टेल होम्सका सौरभ मल्ल, एनपिएलका पब्लिक रिलेशन अफिसर अजय क्षत्री, सेज होम लोनका समिर श्रेष्ठ, फेन्चाइज टोलीका प्रतिनिधी र खेलाडीहरुको उपस्थितिमा प्रतियोगिताको ट्रफी रिभिल गरिएको थियो ।
उक्त अवसरमा, अध्यक्ष श्रेष्ठले एनपिएललाई दोश्रो संस्करणसम्म आइपुग्दा व्यवस्थापकीय सुधार देखि खेलाडीको पारिश्रमिक र पुरस्कारको राशीसम्म बृद्धि गरिएको जानकारी दिए । ‘आगामी दिनमा यसलाई थप उत्कृष्ट बनाउँदै, नेपाली खेलाडीहरुलाई कसरी अस्ट्रेलियाको विभिन्न लेभल क्रिकेटसम्म पुर्‍याउन सकिन्छ भन्नेबारे गृहकार्य गरिरहेका छौँ’, उनले भने । फिस्टेल होम्सका सौरभ मल्लले प्रतियोगिताले प्रचार–प्रसारसँगै खेलाडीको प्रतिभा प्रस्फुटनमा मदत पुग्ने भएकोले सामाजिक उत्तरदायित्व बहन गर्ने हिसाबले प्रतियोगितामा जोडिएको बताए ।
एनपिएलको प्रतियोगितात्मक खेलहरु भने अगस्ट ६ देखि सुरु हुनेछ । एनपिएलमा गत सिजनका चार फ्रेन्चाइज टोलीहरु, भाइव्रेन्ट वेगनास स्टार, पिरना से–फोक्सुण्डो स्टाइर्कस्, मेरिट छोरोल्फा च्यालेञ्जर्स् र रे प्रपर्टीज् गोक्यो हिरोजले प्रतिस्पर्धा गर्दैछन् । चारै फ्रेन्चाइज टोलीले पहिलो संस्करणमा आफ्नो टोलीबाट खेलेका ३ खेलाडीलाई गोल्ड  र ३ खेलाडी सिल्भर क्याटोगरिमा रिटेन गर्नुका साथै अन्य आवश्यक खेलाडीहरु अक्सजन मार्फत अनुबन्धन गरिसकेका छन् ।
                 मैत्रीपूर्ण खेलमा एनसीएए विजयी
एनपिएलको उद्घाटन सत्रमा आयोजित मैत्रीपूर्ण खेलमा एनसीएएले एनपिएल–११ माथि १४ रनको रोमाञ्चक जित हात पारेको छ । टस जितेर व्याटिङमा आएको एनसीएएले राजु न्यौपाने र शिशिर थापाको अर्धशतकको मदतले २ सय २ रनको चुनौतीपूर्ण लक्ष्य पेश गरेको थियो । ओपनर राहुल श्रेष्ठ र राजन डाँगीले ३.२ ओभरभित्र ३१ रनको ठोस सुरुवात गरेपछि एनसीएएले २० ओभरमा ५ विकेट गुमाएर २ सय १ रन जोडेको थियो ।
एनसीएएका लागि, राहुलले ११, राजन २३, राजु न्यौपाने ५१ र शिशिर थापाले सर्वाधिक ५३ रनको योगदान दिँदा मध्यक्रममा किर्तन ताम्राकारले १८ बलमा ३ छक्का र ३ चौकाको मदतले ३६ रनको आक्रमक पारी खेले । एनपिएल ११ का लागि लोचन धिताल ३ र क्षितित बस्नेतले २ विकेट लिए । २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको एनपिल ११ ले ४ विकेटको क्षतिमा १ सय ८७ रन मात्र बनाउन सक्यो । उसको सुरुवात राम्रो हुन सकेन् ।
टोलीको खाता नै नखोली ओपनर सुरज बारियइट डकआउट भए । तर, अनिल पाठक र रुपेश श्रेष्ठले दोश्रो विकेटका लागि ६ ओभरमा ५४ रनको साझेदार गर्दै टोलीलाई कमव्याक गराए । अनिलले ३८ र रुपेशले १५ रन बनाउँदा  विशाल सुनारले २७ बलमा ४ छक्का र ८ चौकाको मदतले नटआउट ६२ रनको बेजोड इनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । बलिङतर्फ, एनसीएएका लागि विवेक केसी, विशाल मण्डल, शिशिर थापा र नितेश थापाले समान १/१ विकेट लिए ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services