ट्विटरको लोगो ‘चरो’बाट ‘एक्स’ मा परिणत
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

एजेन्सी । आइतबार साँझ ट्विटरका मालिक इलन मस्कले आफ्ना कर्मचारीहरूलाई एक इमेल पठाए र अबउपरान्त कम्पनी ‘एक्स’मा परिणत हुने घोषणा गरे । ट्विटरको स्वामित्व ग्रहण गर्ने बित्तिकै सो कम्पनीलाई ‘एक्स कर्पोरेसन’मा परिणत गरिसकेका मस्कले सो इमेल आफूले ट्विटरको ठेगानाबाट पठाउने अन्तिम इमेल भएको र सोमबारदेखि ट्विटरको परिचित लोगो परिवर्तन हुने बताएका हुन् ।

अमेरिकी समयअनुसार आइतबार मध्यरातदेखि मस्कले एक्सबारे ट्विट गर्न सुरू गरेका थिए । पहिले एक्स अक्षर मात्रै ट्विट गरेका उनले त्यसपछि आफूहरूले बिस्तारै ट्विटरको अहिलेको ब्रान्ड र चरो दुवैलाई बिदा गर्ने घोषणा गरेका हुन् । यस्तो कार्य निकै अघि नै भइसकेको हुनुपर्ने दाबी गर्ने मस्कले आफ्नो प्लाटफर्मलाई चिनियाँ विच्याटजस्तै सुपर एप अर्थात धेरैथोक गर्न मिल्ने गरी विकास गर्न खोजेको विश्लेषकहरूको अनुमान छ । ट्विटरकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लिन्डा याक्करिनोले पनि कम्पनीको यो पुनस्ब्रान्डिङ प्रक्रिया एक उत्साहपूर्ण अवसर भएको प्रतिक्रिया दिएकी छिन् ।

ट्विटरको आम्दानी आधाभन्दा कम भएको भन्ने मस्कको स्वीकारोक्ति र प्रतिस्पर्धी मेटाको थ्रेड्सले द्रुत गतिमा प्रयोगकर्ता तानिरहेको सन्दर्भमा अहिलेको अपर्झट प्रयत्नले प्लाटफर्मका मौलिक प्रयोगकर्तालाई अझै अलग गराउने फरेस्टर रिसर्चका निर्देशक माइक प्रोल्क्सले रोयटर्ससँगको कुराकानीमा भनेका छन् । ‘एकातर्फ हामी उनले आफ्नो चिरपरिचित ब्रान्डलाई त्याग्न लागेको तर्क दिन सक्छौं, माइक भन्छन्, ‘अर्कोतर्फ ट्विटर आफ्नो पुराना दिनलाई बिस्तारै फेर्दै फरक दिशा र फरक प्रयोगकर्ताहरू तर्फको नयाँ बाटोमा अघि बढेको पनि भान हुन्छ ।’

सन् २००६ को मार्चमा ज्याक डोर्सी, नोआ ग्लास, बिज स्टोन र एभान विलियम्सले अहिलेको चर्चित चरोसहित स्थापना गरेको ट्विटर त्यही वर्षको जुलाइबाट सार्वजनिक प्रयोगका लागि उपलब्ध भएको थियो । त्यसयता प्लाटफर्मको लोगोको रङ र शैलीसँगै प्रमुखहरू फेरिए पनि मूल लोगो र ट्विटको शैली उस्तै रहँदै आएकोमा सन् २०२२ मा मस्कले खरिद गरेपछि विभिन्न सफल र असफल प्रयोग हुँदै आएको छ । त्यसयता मस्कले कम्पनीका आधाभन्दा बढी कर्मचारीलाई अवकाश दिइसकेका छन् । अवकाश प्रक्रियालाई लिएर अनेक कानुनी र प्राविधिक झमेलामा उनी पर्दै आएका छन् ।

अहिले प्रस्तावित एक्स डटकम सन् १९९९ मा मस्कले ह्यारिश फ्रिकर, क्रिस्टोफर पायने र एड होसँगको साझेदारीमा क्यालिफोर्नियाको पाओ आल्टोमा स्थापना गरेको अनलाइन बैंक हो । सन् २००० मा एक सफ्टवेयर कम्पनीसँग मिलेर एक्स डटकमलाई पेपलमा परिणत गरेका मस्क र उनका साझेदारले सन् २००२ मा इबेलाई उक्त कम्पनी डेढ अर्ब डलरमा बिक्री गरे । २०१५ यता पेपल स्वतन्त्र कम्पनी बनेपछि २०१७ मा मस्कले एक्स डटकमको डोमेन पेपलसँग पुनस् खरिद गरेका थिए, अहिले एक्सडटकमलाई ट्वीटरमा रिडिरेक्ट गर्ने गरी राखिँदै आएको थियो ।

केही हप्ताअघि पैसा नतिर्ने प्रयोगकर्ताले दैनिक हेर्न मिल्ने पोस्टको कोटा तोक्न लगाएका मस्कले पछिल्ला दिनमा भेरिफिकेसन नकिन्नेले पठाउन मिल्ने डिरेक्ट म्यासेज (डीएम)को संख्या सीमित गर्ने र बिस्तारै लामा लामा लेखहरू पोस्ट गर्न दिने मात्रै नभइ भेरिफाइ गरेका कम्पनीलाई लिंक्डइन शैलीको रोजगारीका अवसर पनि प्रकाशित गर्न दिने घोषणा गरिएको छ । ४४ अर्ब डलरमा खरिद बिक्री भएयता घट्दो विश्वसनीयता र समस्याको चाङसँग जुध्दै आएको सो कम्पनीलाई मस्कका पछिल्ला प्रयासले कुन दिशा दिने हो, हेर्न रोचक हुने प्रविधि विज्ञहरूको धारणा छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services