पासपोर्ट घुम्ती शिविरमा अतिरिक्त रकम उठाउँदै एनआरएनए अस्ट्रेलिया
प्रकाशित मितिः1 week ago

अस्ट्रेलिया। अस्ट्रेलियामा सञ्चालन हुने पासपोर्ट घुम्ती शिविरमा एनआरएनए अस्ट्रेलियाले शुल्कबाहेक प्रशासनिक खर्चका नाममा अतिरिक्त रकम संकलन गर्ने गरेको छ । अस्ट्रेलियास्थित एनआरएनएले दूतावाससँग सहकार्य गर्दै विगत केही समयदेखि बिभिन्न राज्यमा पासपोर्टका लागि घुम्ती शिविर सञ्चालन गर्दै आएको हो ।

अस्ट्रेलियास्थित नेपाली दूतावासले एनआरएनएसँग मिलेर अस्ट्रेलियाका सिड्नी, मेलबर्न र क्यानबेराबाहेकका सहरमा विगत केही समयदेखि घुम्ती शिविरमार्फत पासर्पोटको निवेदन लिने गरेको छ । तर ती शिविरमा प्रशासनिक खर्चका नाममा एनआरएनएले कम्तीमा २५ देखि १०० अस्ट्रेलियन डलरसम्म थप शुल्क लिने गरेको छ । थप शुल्क लिइए पनि त्यसको मुख्य उद्देश्य, खर्चको विवरण र बचेको रकम परिचालनका बारेमा सर्वसाधारणलाई जानकारी नदिइएपछि उनीहरूले असन्तुष्टि जनाएका छन् । यतिमात्र हैन, एक राज्यमा उठाइएको रकम सामाजिक रूपमा कहाँ र कसरी खर्च गर्ने विषयमा विवादसमेत उत्पन्न भएको थियो ।

अस्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको दूतावासले वयस्क पासपोर्टका लागि २ सय ३० अस्ट्रेलियन डलर र दस वर्षमुनिका बालबालिकाका लागि १ सय १५ अस्ट्रेलियन डलर शुल्क तोकेको छ । तर यहाँस्थित डार्बिन, एडिलेड ब्रिसबन, होबार्ट र पर्थमा सञ्चालन गरिएका यस्ता घुम्ती शिविरमा प्रतिनिवेदन २५ देखि १ सय डलरसम्म थप शुल्क लिने गरिएको छ । थप शुल्क लिने वा नलिने विषयमा एनआरएनएका केही व्यक्तिबीचमै असहमति रहे पनि शिविरको प्रभावकारी सञ्चालनका लागि अतिरिक्त रकम जरुरी भएको भन्दै एनआरएनएले ‘एडमिनिस्ट्रेसन फी’ का नाममा थप रकम लिन थालेको हो । एनआरएनएले थप रकम लिए पनि त्यसका बारेमा पूर्णत पारदर्शिता भने देखाएको छैन । पासर्पोट शिविर सम्पन्न भएपछि सर्वसाधारणबाट उठाइएको अतिरिक्त रकम कति, के शीर्षकमा र कसरी खर्च भयो भन्नेबारेको सम्पूर्ण आर्थिक विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

घुम्ती शिविर आयोजना गर्दा थप रकम लिने विषयमा एनआरएनए अस्ट्रेलियासँग कुनै सहमति नभएको दूतावासको भनाइ छ । क्यानबेरास्थित अस्ट्रेलियाका लागि कार्यवाहक राजदूत कुलबहादुर मगर दूतावासले पासर्पोट शुल्कबाहेक अन्य रकम नलिएको दाबी गरे । उनले घुम्ती टोलीमार्फत सर्वसाधारणसँग अतिरिक्त रकम मागेको आधिकारिक रूपमा थाहा पाइएमा घुम्ती टोली नखटाइने जिकिरसमेत गरे । ‘हामी दूतावासले पुर्‍याउन सक्ने सबै सेवा दिन लागिपरेका छौं र सर्वसाधारणलाई थप आर्थिक भार नपरोस भनेर सचेत छौं ।’ मगरले कान्तिपुरसँग भने । यद्यपि उनले एनआरएनएसँग मिलेर गरिएको घुम्ती शिविरले हजारौं नेपालीलाइ प्रत्यक्ष फाइदा पुर्‍याएको जनाए । ‘यस किसिमको शिविरले सर्वसाधारणलाई पासपोर्ट बनाउनका लागि क्यानबेरासम्म धाउनुपर्ने बाध्यता हटाइदिएको छ ।’ उनले शिविर सञ्चालनका क्रममा केही कमजोरी देखिएको भए त्यसलाई सम्बोधन गरिने बताए ।

दूतावासका अनुसार यसपहिले ब्रिसबनमा आयोजना गर्न लागिएको पासपोर्ट शिविरमा १ सय डलरभन्दा बढी थप शुल्क मागेको थाहा पाएपछि उक्त घुम्ती शिविरलाई तत्कालका लागि स्थगित गरेको थियो । उक्त शिविर प्रतिव्यक्ति ४० डलर मात्र लिने बताइएपछि सम्पन्न भएको थियो ।एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल यस्ता पासर्पोट शिविरलाई ब्यवस्थित रुपमा सञ्चालनका लागि थप रकम लिइएको स्वीकार्छन् र यसका बारेमा दूतावाससमेत अवगत रहेको बताउँछन् । उनी पासपोर्ट शिविर सञ्चालनका लागि विभिन्न प्राविधिक र प्रशासनिक खर्च लाग्ने भएकाले सीमित रूपमा अतिरिक्त शुल्क लिएको बताउँछन् । ‘हामीले एनआरएनए सदस्यको सदस्यता शुल्कलाई यस कार्यमा खर्च गर्न जायज नहुने र शिविर सञ्चालनमा खर्च हुने भएकाले थप रकम लिएको हो,’ पोखरेलले भने । उनी घुम्ती शिविरले उक्त स्थानका सर्वसाधारणलाई पासपोर्ट बनाउनकै लागि क्यानबेरासम्म जानुपर्ने झण्झट र त्यसका लागि लाग्ने हजारौंको आर्थिक भारबाट मुक्त गरेको दाबी गर्छन् ।

‘हामीले जे गरेका छौँ त्यो समुदायको हित र उनीहरुलाई पर्ने आर्थिक भार कम गर्नका लागि नै गरेका छौं, यसलाई हामीले सामाजिक दायित्व र कर्मका रूपमा गरिरहेका हौं,’ उनले भने । पोखरेलले यसबारेमा सबै पदाधिकारीसँग छलफल गरेर घुम्ती शिविरमार्फत उठेका रकमको सम्पूर्ण हिसाबकिताब पारदर्शि बनाउने जिकिर गरे । उनले शिविर सञ्चालनका क्रममा रकम धेरै संकलन भएको केही स्थानबाट सर्वसाधारणलाई रकम फिर्ता गरिएको समेत सुनाए ।

घुम्ती शिविर सञ्चालनका क्रममा एनआरएनएले लिएको थप रकमका बारेमा अधिकांश निवेदकले खासै चासो नदेखाएपनि शिविर सकिएपछि खर्च विवरण पारदर्शी नगरेकोमा भने गुनासो गरे । दक्षिण अस्ट्रेलियामा सञ्चालित शिविरबाट पासपोर्ट लिएका गुञ्जन उपाध्याय एनआरएनएले गरेको कार्य राम्रो भए पनि आर्थिक पारदर्शीता हुनुपर्नेमा जोड दिए । ‘हो यस्ता शिविरले हामीलाई पासर्पोट बनाउनकै लागि क्यानबेरासम्म जानुपर्ने बाध्यताबाट मुक्त गरेको छ तर सर्वसाधारणको रकम लिइसकेपछि यसलाई कसरी र कहाँ खर्च गरियो त्यो जानकारी गराउनुपर्छ,’ उनले भने ।

अर्कोतिर मेलबर्नका कानुन व्यवसायी तथा एनआरएनए अस्ट्रेलियाका पूर्वअध्यक्ष टोनु घोताने एनआरएनएले पासपोर्ट शिविरमार्फत थप रकम लिने विषयमा सहमत छैनन् । उनले केही महिनाअघि एडिलेडमा भएको अधिवेशनमा यसको विरोध समेत गरेको जनाए । उनले थप रकम उठाउने हो भने दुतावासँग आपसी सहमति र सम्झौता हुनुपर्नेमा जोड दिए । एनआरएनएले दूतावाससँग मिलेर अहिलेसम्म यी ५ राज्यमा सञ्चालन गरेको घुम्ती शिविरबाट हजारौं नेपालीले पासपोर्टसम्बन्धी सेवा लिइसकेका छन् । हरेक पटक ४ दिनदेखि एक सातासम्म चल्ने शिविरबाट एक पटकमा ५ सयभन्दा बढीले सेवा लिने गरेका छन् । (साभारः इकान्तिपुर)

(Visited 32 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services