भुर्तेलको असाधारण प्रर्दशनमा नेपाल विजयी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । ओपनर कुशल भुर्तेल बलिङतर्फ ६ विकेट र व्याटिङतर्फ ७१ रन बनाउँदै असाधारण प्रर्दश गरेपछि, नेपालले एसिसी इमर्जिङ टिम्स, एसिया कपमा युएई ए माथि ३ विकेटको जित हात पारेको छ । नेपाल समूह बी मा ३ खेलमा २ मा हार र १ मा जितसहित तेस्रो हुँदै प्रतियोगिताबाट भने बाहिरिएको छ ।
जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले ४३ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । यसअघि भुर्तेलले बलिङमा ६ विकेट लिएका थिए । नेपालले ओपनर अर्जुन साउदलाई इनिङकै पहिलो बलमा गुमाएको थियो । तर, दोस्रो विकेटका लागि कुशल र देव खनालले १२.५ ओभरमा ९८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

देव खनाल ३८ बलमा ४ चौकासहित २४ रनमा एलबीडब्लू आउट भए । सन्दीप जोरा १५ बलमा १ चौका र २ छक्कासहित २४ रन बनाउँदै क्याच आउट हुन पुगेका थिए ।त्यस्तै, कप्तान रोहित ९ रनमा र गुलशन झा ले ११ रनको योगदान दिए । युएईका लागि स्पिनर मोहम्मद फराजुदिनलेसर्वाधिक ५ विकेट लिएपनि टोलीलाई जिताउन सकेनन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएई ए ४४ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । युएईलाई सस्तैमा अल आउट गर्न लेग स्पिन गर्दै कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिए । कुशल नै खेलको प्लेयर अफद म्याच चुनिए ।नेपालको स्पिन आक्रामण सामु निरिह बनेको युएईको लागि सर्वाधिक रन ओपनर लवप्रीत सिंहले बनाए । उनले ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अर्का स्पिनर मौसम ढकालले ९ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । पवन सरार्फ र कुशल मल्लले समान एक विकेट लिए ।नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ६ विकेट र दोस्रो खेलमा भारतसँग ९ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

 

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services