नेपालले अर्को विश्वकप खेल्न कतिबर्ष कुर्नुपर्छ ?
प्रकाशित मितिः2 years ago

सिड्नी । टि ट्वान्टी विश्वकपको आठौँ संस्करण आइतबारदेखि अस्ट्रेलियामा सुरु भएको छ । यस विश्वकपमा नेपालको सहभागिता नभएपनि नेपाली समर्थकहरुको नजर विश्वकपबाट भने हट्ने छैन । अस्ट्रेलियाका सात शहरमा विश्वकप चलिरहँदा नेपाली समर्थकहरुले नेपालले पहिलो पटक सहभागिता जनाएको सन् २०१४को वंगलादेशमा सम्पन्न विश्वकप सम्झीरहेका छन् । विश्वकपका लागि ग्लोबल छनौटमा १६ देश सम्मिलित प्रतियोगितामा नेपाल तेस्रो हुदै वंगलादेशको यात्रा पक्का गरेको थियो । नेपालले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदा, कप्तानमा पारस खड्का र उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका थिए ।

प्रशिक्षकका रुपमा पुवुदु दासानायके रहेका थिए, उनै दासानायकेले नेपाललाई डिभिजन फोर देखि विश्वकपसम्मको बाटो देखाएका हुन् । अन्य खेलाडीहरुमा सुवास खकुरेल, सागर पुन, बसन्त रेग्मी, शक्ति गौचन, शरद भेषाकर, विनोद भण्डारी, सोमपाल कामी, जितेन्द्र मुखिया, अविनाश कर्ण, नरेश बुढाएर लगायत रहेका थिए । विश्वकपमा नेपालले पहिलो चरणका तीन मध्ये दुई खेलमा जित निकाल्ने क्रममा हङकङमाथि ८० रन र अफगानिस्तानलाई ९ रनको शिकार बनाएको थियो भने आयोजक बंगलादेशसँग भने ८ विकेटले पराजित भएको थियो । पहिला खेलमा हङकङ विरुद्ध पहिला व्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाएर एकसय ४९ रन बनाएको थियो ।

१सय ५० रनको विजय लक्ष्यका साथ व्याटिङमा ओर्लिएको हङकङ जम्मा ६९ रनमा अलआउट भएको थियो ।दोश्रो खेलमा, त्यतिबेलाका चिरपरिचित प्रतिद्धन्द्धी अफगानिस्तान विरुद्ध नेपालले पहिलो व्याटिङ गर्दै ५ विकेटको क्षतिमा १ सय ४१ रन बनाउँदा, नेपालका ओपनर सुवास खकुरेलले शानदार अर्धशतक प्रहार गरेका थिए । एकसय ४२ रनको विजय लक्ष्य पछ्याएको अफगानिस्तानले ८ विकेटको क्षतिमा १ सय ३२ मात्र बनाउन सक्यो । उक्त खेलमा जितेन्द मुखिया म्यान अफ दि म्याच भएका थिए ।

सन् २०१४ को विश्वकपछि नेपालमा क्रिकेटको क्रेज ह्वात्तै बढेको छ । शहरदेखि गाउँसम्म क्रिकेट खेल्ने र प्रतियोगिताहरु सञ्चालन हुने क्रम तीब्र रुपमा विकास भइरहेको छ । टोलटोलमा बालबालिकाहरु क्रिकेट खेल्न थालेका छन् । व्यवसायिक घरानाहरुले पनि क्रिकेटमा लगानी गर्न थालेका छन् । विभिन्न फ्रेचाइज लिगका कारण क्रिकेटमा विस्तारै व्यवसायिकता पनि भित्रिदै जाँदा खेलाडीहरुलाई आर्थिक उपार्जनका लागि केहि राहत मिलेको छ । सन् २०१४ पछि नै नेपालमा एक हदसम्म क्रिकेटमा व्यवसायिकता आएको मान्न सकिन्छ । अहिले राष्ट्रिय टिमका खेलाडीहरुले थोरै भएपनि क्यानबाट मासिक रुपमा तलब पाउन थालेका छन्, यो रकम थोरै भएपनि सकरात्मक सुरुवात मान्न सकिन्छ ।

सन् २०१४ को वंगलादेश विश्वकपले नेपालमा क्रिकेटप्रति आकर्षण त बढ्यो तर, क्रिकेटको घरेलु संरचनाको विकास हुन भने सकेन् । घरेलु संरचना कमजोर हुँदा प्रतिभावान खेलाडीहरुले राष्ट्रियस्तरमा मौका पाउन सकेनन्, त्यसमाथि नेपाल क्रिकेट संघ क्यानमा बर्षौ देखि किचलो, गैरव्यवसायिकता र भ्रष्टाचार काण्डले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) निलम्बन गर्न बाध्य भएको थियो । आइसीसीले राष्ट्रिय टिमलाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताको सुनिश्चितता गरेपनि घरेलु प्रतियोगिताहरु ठप्प बनेको थियो, जसको प्रत्यक्ष असर राष्ट्रिय टिममा देखा परेको थियो । त्यसमाथि, राष्ट्रिय टोलीका खेलाडीहरुलाई पर्याप्त मात्रामा खेलको अभाव हुँदा, व्यक्तिगत र सिँगो टिमको प्रर्दशनमा सुधार हुन सकेन् ।

यहि कारण सन् २०१४ पछि नेपालले विश्वकपसम्म पुग्नका लागि छनौट चरण नै पार गर्न सकिरहेको छैन । अस्ट्रेलियामा जारी विश्वकपका लागि तीन महिनाअघि ओमान भएको ग्लोबल छनौटमा सेमीफाइनलमा युएईसँग पराजित भएपछि नेपाल एक कदम नजिक भएर पनि अघि बढ्न सकेन् । यसभन्दा अघिल्ला बर्षहरुमा हुने छनौट चरणमा झन् नेपालले निकै नै खराब नतिजा निकालेको थियो, यतिसम्मकी एसिया क्षेत्रको क्वालीफायरमा सिँगापुरसँग पराजित हुदै ग्लोबल छनौटमा स्थान समेत बनाउन सकेको थिएन ।

सरोकारवाला निकायको लामो समयको छलफलपछि अहिले क्यान आइसीसीबाट पूर्ण रुपमा निलम्बन हटेको छ । व्यवस्थापकीय क्षेत्रमा विगतको भन्दा सुधार भएको छ भने राष्ट्रिय खेलाडीहरुलाई सेन्टल कन्ट्रयाकमा राख्न थालिएको छ । सन् २ै२२ विश्वकपको छनौटका लागि ओमान भएको ग्लोबल छनौटमा नेपालले समूह चरणमा उत्कृष्ट प्रर्दशन गर्दै सेमीफाइनलमा पुगे पनि, युएईसँगै लज्जास्पद पराजय भोगेको थियो । त्यतिबेला नेपालको पहिलो रोजाईका खेलाडीहरु करण केसी, सोमपाल कामी, रोहित कुमार पौडैलहरु उपलब्ध नहुँदा टिमको सन्तुलन भने बिग्रिएको थियो ।
सन् २०१४ को वंगलादेश विश्वकपछि नेपाली क्रिकेटमा आएको मुख्य–मुख्य परिर्वतनहरु के–के हुन् ? आगामी विश्वकपमा स्थान बनाउन नेपालले कुन–कुन पक्षमा सुधार गनुपर्छ ? सरोकारवाला निकायले बेलामै समिक्षा गर्नुपर्ने बेला भएको छ ।

(Visited 39 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services