साझाका ३७ बिजुली बस नेपाल ल्याइदै
प्रकाशित मितिः4 years ago

काठमाडौं । साझा यातायातले ल्याउने थप बिजुली बस चीनबाट नेपालतर्फ ल्याउन सुरु गरिएको छ । साझा यातायातले ट्टिटरमार्फत कोदारी (तातोपानी नाका) हुँदै ३७ वटा बस ल्याउन सुरु गरिएको जानकारी दिएको छ । ३ वटा बिजुली बस ल्याएर चलाइसकेको साझाले थप ३७ वटा बस ल्याउन लागेको हो । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बसले २३ असारदेखि काठमाडौंंमा सेवा थालेका थिए । पहिलो चरणमा ल्याइएका बिजुली बस साझाले नियमित सेवा दिंदै आएका रुटहरुबाट सेवा दिइरहेको छ ।

दशैंसम्म बाँकी ३७ वटा पनि ल्याइसक्ने तयारी रहेको साझाले बताएको थियो । चीनको सीएचटीसीएचओ बसको आपूर्तिकर्ता कम्पनी ‘दि गो’सँग साझाले करिब ६१ करोड रुपैयाँमा ४० वटा बस किनेको हो । अहिले ९ मिटर लामो बस किनिएको छ । यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ । अहिले चलेका बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायत विशेषता पनि छन् । अपांगहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्दै जाने साझाले जनाएको छ ।

सरकारले ९ पुस ०७५ मा ३ सय वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले साझालाई बसहरु किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । साउन २०७६ मा यातायात मन्त्रालयले हतार–हतार साझालाई खेस्रा मापदण्ड दिएको थियो ।स्पेसिफिकेसन बन्दै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ असोज २०७६ मा ‘बस किन्ने प्रक्रिया जहाँ पुगेको त्यहीं रोक्नू’ भन्दै पत्र काटेको थियो भने त्यसको चार महिनापछि माघ २०७६ मा साझाको खातामा पुगिसकेको ३ अर्ब रकम ब्याजसहित नै फिर्ता लिने निर्णय गरेको थियो ।

तर, माघ २०७७ मा सरकारले ३ अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएको थियो । सरकारले रकम फिर्ता लगेपछि बागमती प्रदेश सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड रकम पनि फिर्ता लिएका थिए ।सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिएको थियो । पछि सरकारले साझालाई नै पैसा फिर्ता गरिदिएको थियो ।

(Visited 221 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services