कामको खोजीमा दैनिक २ हजार नेपाली विदेशमा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 months ago

काठमाडौं । कामको खोजीमा दिनहुँ करिब २ हजार नेपालीले मुलुक छाड्ने गरेका छन् । वैदेशिक रोजगारी विभागका अनुसार काम खोज्दै दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुक छाडिरहेका छन् । चालु आर्थिक वर्ष ९आव० २०८०/८१ को सात महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार साउन–माघसम्म प्रतिमहिना ५७ हजार ९ सय ३६ नेपालीले रोजगारीका लागि मुलुक छाडेका छन् । यसलाई दैनिक हिसाब गर्दा १ हजार ९ सय ३१ नेपालीले देश छाडिरहेको देखिएको हो ।

सात महिनामा देश छाड्ने नेपालीको संख्या गत आव २०७९/८० को यसै अवधिको तुलनामा भने केही कम छ । गत वर्ष माघ मसान्तसम्म ४ लाख ७८ हजार ८ सय ३० जना कामको खोजीमा विदेशिएका थिए । यस वर्ष ७३ हजार २ सय ७८ ले श्रम स्वीकृति लिएका छन् । गत वर्ष यसै अवधिमा दैनिक २ हजार २ सय ८० नेपालीले देश छाडिरहेको तथ्यांकले देखाएको छ ।

यस वर्ष सुरुवाती महिनामा विदेश जाने नेपालीको संख्या केही कम भए पनि चाडबाडपछि भने विदेशिनेको संख्या बढ्न थालेको थियो । यो आँकडा मंसिरपछि भने केही कम हुन थालेको छ ।मंसिरमा ७१ हजार २ सय ७६ ले श्रम स्वीकृति लिएकोमा माघमा ६२ हजार १ सय ४७ मा झरेको छ । गत वर्ष भने कीर्तिमानी संख्यामा नेपाली विदेशिएका थिए । यसरी विदेशिनेको संख्यामा यो वर्ष भने केही ‘ब्रेक’ लागेको देखिएको छ । माघमा विदेशिनेमध्ये ६ हजार १ सय ७४ महिला र ५५ हजार ९ सय ७३ पुरुष छन् । गत महिना ३९ हजार ४२ ले नयाँ श्रम स्वीकृति पाएका छन् । ‘जीटूजी’ सम्झौता भएका देश जाने नेपाली माघना १ हजार ४ सय ९४ थिए ।

यूएई जानेको लर्को

गत वर्ष मलेसियामा नेपालीको लर्को लागेको थियो । यसापालि भने युनाइटेड अरब इमिरेट्स ९यूएई० प्रमुख गन्तव्य बनेको छ । साउनदेखि माघसम्म १ लाख १ हजार ७ सय ७८ नेपाली कामको खोजीमा यूएई पुगेका छन् । यूएईलाई गन्तव्य बनाएर युरोप र अमेरिकी देश जाने क्रम बढेका कारण पछिल्लो समय यूएईमा नेपालीको बढी आकर्षण देखिएको व्यवसायी बताउँछन् ।

अर्कातर्फ, कोभिड महामारी कम भएपछि मागसमेत क्रमशः बढ्न थालेसँगै खाडी देशमा नेपालीको संख्या बढिरहेको जनाइएको छ । माघमा मात्र यूएईमा १७ हजार ६ज सय २ नेपाली पुगेका छन् । साउनमा ११ हजार ८ सय ७८, भदौ ११ हजार ७ सय ९, असोज १३ हजार ९ सय ५, मंसिर १२ हजार ४ सय ८५ र पुसमा १७ हजार ८ सय १४ जना नेपाली यूएई पुगेका थिए ।

माघमा यूएईपछि साउदी अरब जाने नेपालीको संख्या धेरै छ । साउदीमा १२ हजार २ सय ७६ श्रम स्वीकृति जारी भएको छ । उक्त महिना कतारका लागि १२ हजार १ सय ६४ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

मलेसियाको रोजगारी भने ह्वात्तै घटेको छ । गत महिना मलेसियामा मात्र ६ हजार ७ सय ९५ जनाको श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।त्यस्तै कुवेतमा ३ हजार २ सय ५३, कोरिया १ हजार ६ सय ६०, रोमानिया १ हजार ३ सय ९७, जापान १ हजार २ सय ८०, इजरायल ७२, बेलायत २ सय ६, अमेरिका ३८ र पोल्यान्डमा १ सय ९७ नेपाली श्रम स्वीकृति लिएर गएको देखिएको छ । (सभार अनलाइन खबर)

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services