
काठमाडौ । ‘बृहत खोज र खोप’ अभियानमार्फत करिब ४० हजार बालबालिकाले खोप लगाएका छन् । यही वैशाख १५ र वैशाख ३१ गते (दुई दिन) राष्ट्रव्यापी रूपमा सञ्चालित नियमित खोप टुटेका ५९ महिनासम्मका बालबालिकाहरुको पहिचान गरी खोप लगाइएको थियो ।परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले जनाएअनुसार सञ्चालित अभियानमा ४० हजार ४५० बालबालिकालाई खोजेर खोप लगाइएको हो ।
सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकाहरूलाई खोप दिइएको थियो ।खोप शाखाका अनुसार २ हजार ९० जना नियमित खोप नपाएका (शून्य मात्रा) बालबालिकालाई खोप लगाइएको छ ।त्यसैगरी ९ देखि २३ महिना उमेर समूहका २५ हजार ३९८ बालबालिकाले खोप पाएका छन् भने २४ देखि ५९ महिना उमेर समूहका १२ हजार ९६२ बालबालिकाले खोप लगाएका छन् । देशभर कुल ४ हजार ६०७ खोप सेसन सञ्चालन गरिएको थियो ।
खोप शाखा प्रमुख डा। अभियान गौतमले अभियान सञ्चालन गर्दा शिक्षित तथा जानकार व्यक्तिहरूले पनि बालबालिकालाई खोप लगाउन छुटाएको बताउँछन् । उनी भन्छन्, ‘शिक्षित व्यक्तिले पनि बालबालिकामा खोप छुटाएको पाइयो । फोनको खोप मेसेजवाला रिङटोनले पनि धेरैले खोपको बारेमा जानकारी पाएको भने । स्वास्थ्यकर्मीसमेत आफ्ना बच्चाहरूलाई खोप लगाउन छुटाएका रहेछन्। खोपको पहुँचमा नपुगेका मानिसहरुको कस्तो अवस्था होला ?’
उनले खोपको कभरेज कम भएका जिल्लाहरूमा यसको महत्त्वबारे अभिमुखीकरण तालिम सञ्चालन भइरहेको जनाए । ‘खोप अभियान कसरी सञ्चालन गर्ने भन्ने विषयमा मेयरहरूसित छलफल भएको छ । ग्रामीणभन्दा पनि सहरी क्षेत्रमा अझै खोपको दायरामा आउन सकेका छैनन्। कामकाजी जनसंख्याले खोप लगाउने कुरा छुटाएका छन्। सहरी जनसंख्यामा खोपको अभियान सुदृढ बनाएर लानुपर्ने छ’ गौतमले भने ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services