अस्ट्रेलिया–नेपाल सिधा उडानको अन्तिम तयारी
✍ नारायण खड्का
प्रकाशित मितिः1 year ago

अस्ट्रेलिया । नेपाल र अस्ट्रेलियाबीच व्यावसायिक उडानको तयारी अन्तिम चरणमा पुगेको छ । यहाँस्थित नियमन निकायबाट ल्यान्डिङलगायतका आवश्यक अनुमति पाएको खण्डमा जुन महिनाको पहिलो साता नेपाली ध्वजावाहक वायु सेवा निगमको जहाज अस्ट्रेलियाको सिड्नीस्थित किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

नेपाल र अस्ट्रेलियाले दोहोरो हवाई उडान सम्झौता गरेको झन्डै ४ वर्षपछि नेपाली झन्डावाहक जहाजले औपचारिक रूपमा अस्ट्रेलियाबाट व्यावसायिक उडान गर्न लागेको हो । सन् २०१९ मा क्यानाडामा नेपाल तथा अस्ट्रेलियाबीच हवाई उडान सम्झौता गरिएको थियो । सम्झौताअनुसार यहाँका मुख्य सहर सिड्नी, मेलबर्न, ब्रिसबन र पर्थबाट साताको ७ वटा उडान नेपालको त्रिभूवन अन्तर्रास्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । साथै अस्ट्रेलियाली विमान सेवाले नेपालको त्रिभुवन विमानस्थलमा साताको ७ वटा र अन्य विमानस्थलमा साताको २८ वटा उडान गर्न सक्नेछन् ।

नेपाल एयरलाइन्सले केही महिनाअघिदेखि अस्ट्रेलिया उडानका लागि पहल सुरु गरेको थियो । ‘यदि अस्ट्रेलियाको नियमन निकाय कासा (सिभिल एभिएसन सेफ्टी अथोरिटी)बाट ल्यान्डिङको अनुमति आएको खण्डमा हामी जुनको पहिलो साता (जेठ तेस्रो हप्ता) देखि अस्ट्रेलियाको सिड्नीदेखि उडान गर्ने तयारीमा छौं,’ नेपाल एयरलाइन्सका वाणिज्य निकायका निर्देशक टंकनिधि दाहालले भने । उनका अनुसार एयरलाइन्सले अस्ट्रेलियाबाट हुने उडानका लागि आवश्यक पर्ने ग्राउन्ड ह्यान्डलिङ, लजिस्टिक, क्याटरिङजस्ता सेवाका लागि टेन्डर खोलिसकिएको र त्यसलाई अन्तिम रुप दिने प्रक्रिया भइरहेको छ । उनले नियमन निकाय कासाले मागेअनुसार कागजपत्र बुझाइरहेको र चाँडै सबै प्रक्रिया पूरा हुने विश्वास व्यक्त गरे । ‘हामीले उडानका लागि नियमन निकाय कासाको नियमअनुसार आवश्यक सबै कागजपत्र बुझाइरहेका छौं र उक्त निकायबाट थप सुझाव र अन्तिम अनुमतिको पर्खाइमा छौं,’ दाहालले सुनाए । उनले सुरुआती चरणमा वाईडबडी एयरबस ३३० बाट साताको तीनवटा उडान सुरु गर्ने र भविष्यमा हवाई सम्झौतामा उल्लेख भएअनुसार साताको ७ वटै उडान गर्ने योजना रहेको जनाए ।

नेपाल एयरलाइन्सको विभिन्न विभागले अस्ट्रेलियासँगको उडानका लागि आवश्यक विभिन्न कामका लागि आन्तरिकरुपमा काम गरिरहेको जनाएको छ । विशेषगरी विगत दुई सातादेखि यो क्रमलाई तीव्रता दिइएको दाहालको भनाइ छ । उनले अन्य विभिन्न देशमा भइरहेको उडान अनुभवलाई पूर्णरुपमा उपयोग गर्दै अस्ट्रेलियासँगको उडानलाई समेत सफल बनाइने बताए । उनले जुन १ तारिखमा उडान गर्नका लागि यहाँको सरकारी निकायमा प्रपोज गरिएको जानकारी दिँदै योजनाअनुसार नै उडान सुरु हुने विश्वास व्यक्त गरे ।

नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भएपछि यहाँस्थित दूतावासले नेपाल उडान गर्ने केही एयरलाइन्सलाई उडानका लागि आग्रह गरेको भए पनि उनीहरुले त्यति चासो देखाएका थिएनन् । दूतावासले विभिन्न कारणले द्विदेशीय उडानलाई व्यवहारमा ल्याउन नसकिएको बताए पनि नेपालस्थित नेपाल एयरलाइन्सले नै चासो देखाएपछि दूतावासले आफ्नो तर्फबाट आवश्यक प्रक्रियामा सहयोग गरिएको जनाएको छ । अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेलले नेपाल सरकारको तर्फबाट दूतावासले समन्वय र सहयोग गरिरहेको जनाउँदै चाँडै नेपाल र अस्ट्रेलियाबीच उडान सुरु हुने विश्वास व्यक्त गरे । ‘हामी पनि सकेसम्म यो प्रक्रिया अन्तिम चरणमा पुगोस् र नेपाली विमानबाट सेवा सुरु होस भनेर आफ्नो तर्फबाट लागिरहेका छौं,’ राजदुत पोखरेलले भने ।

अन्य राज्यबाट कनेक्टिङ फ्लाइट हुने

अस्ट्रेलियाको सिड्नीका साथै अन्य विभिन्न ३ वटा ठूला विमानस्थलबाट उडान गर्न पाउने अधिकार भए पनि तत्कालका लागि सिड्नीबाट मात्र उडान गर्ने योजना एयरलाइन्सको छ । तर पनि अस्ट्रेलियाका अन्य विभिन्न सहरमा रहेका नेपालीलाई समेत सेवा दिने उद्देश्यले यहाँ रहेका स्थानीय विमानसेवा कम्पनीसँग सहकार्य गरेर कनेक्टिङ फ्लाइटमार्फत सेवा दिइने निर्देशक दाहालले उल्लेख गरे । ‘हामीले जापानबाट हुने उडानमा जसरी कोरियालगायतका नेपालीलाई सेवा दिइरहेका छौं, त्यसरी नै अस्ट्रेलियाका सबै नेपालीलाई सेवा दिने सोच बनाएका छौं,’ उनले भने । भविष्यमा साताको ७ वटै उडान गर्ने योजना रहेकाले अनुमति पाएका अन्य सहरबाट समेत सेवा विस्तार हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ ।

नेपाली उत्साहित

नेपाल–अस्ट्रेलिया सिधा हवाई उडानका लागि तयारी अन्तिम चरणमा पुगेको र आफ्नै विमानमा चढेर नेपाल जान पाइने आसमा यहाँका नेपाली उत्साही छन् । प्रवासी नेपालीको संगठन एनआरएनए अस्ट्रेलियाका पूर्वउपाध्यक्ष तथा व्यवसायी दिनेश पोखरेल उडान सुरु भए यसले नेपाल जाने नेपाली तथा अन्य पर्यटकलाई सहज हुनेमात्र नभई नेपालीको पहिचानमा समेत अलग महत्व राख्ने बताउँछन् । उनले दुई लाखको हाराहारीमा नेपाली रहेका कारण यहाँबाट सञ्चालन हुने उडानलाई यात्रुको समस्या नहुने तर्क गर्छन् । पोखरेलमात्र नभएर अस्ट्रेलियामा रहेका विद्यार्थी तथा अभिभावकसमेत सिधा उडानको खबरले उत्साहित छन् । आफ्नै देशको झन्डै भएको विमानमा स्वदेश फर्किनु अझ सहज र सरल हुने सिड्नीका अभिभावक मनकुमार प्रसाईंको भनाइ छ । विमानका कर्मचारीसमेत नेपालीमै बोल्ने भएकाले अंग्रेजी भाषा नजान्ने आफूजस्ता अभिभावकलाई धेरै राहत हुने उनको विश्वास छ । साभार: इकान्तिपुर

(Visited 36 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services