मुख्य प्रशिक्षक मोन्टीको आग्रह–‘आईपीएल क्लबका मालिकहरुलाई नेपालको भ्रमण गर्नुस्’
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः5 months ago

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक हो, इन्डियन प्रिमियर लिग (आईपीएल)। आईपीएलको पहिलो संस्करण सन् २००८ मा आयोजना भएको थियो । १५ वर्षको अवधिमा आईपीएलले भारतीय क्रिकेटमा नयाँ प्रतिभाहरु उत्पादन गर्न निकै ठूलो भूमिका निर्वाह गर्दै आएको छ ।

अर्कोतिर, नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खर बामे सर्दै गरेको राष्ट्र हो । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसियाली क्रिकेट काउन्सिल ९एसीसी० ले आयोजना गर्ने विभिन्न प्रतियोगितामा नेपाली टोलीले गहिरो छाप पनि छाडिसकेको छ ।छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उत्कृष्ट नतिजा दिन सफल नेपाली टोलीले विभिन्न प्रतियोगितामा टेस्ट राष्ट्रहरुविरुद्ध पनि गतिलो प्रदर्शन गरिसकेको छ । नेपाली टोलीले आईसीसी टी–२० विश्वकप पनि खेलिसकेको छ ।

सन् २०२४ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा पनि नेपाली टोली छनोट भएको छ । अहिले नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेबारी पनि भारतकै मोन्टी देसाईले निर्वाह गर्दै आएका छन् । मोन्टीको पहलमा केही प्रतिभाशाली नेपाली खेलाडीले आईपीएलको आगामी संस्करण खेल्न पाउने अनुमान धेरैले गरेका थिए ।केही प्रभावशाली नेपाली खेलाडीले सन् २०२४ मा आयोजना हुने आईपीएलका लागि नाम पनि दर्ता गराएका थिए । यसपटक नेपाली क्रिकेटका लागि आईपीएल निकै महत्वपूर्ण पनि थियो । टी–२० विश्वकपभन्दा अगाडि आयोजना हुने भएकाले यसपटक आईपीएललाई विश्वकपको तयारी गर्ने गतिलो अवसरका रुपमा लिइएको थियो ।

प्रमुख प्रशिक्षकको नाताले मोन्टी देसाई पनि यही चाहन्थे । तर, दूर्भाग्य यसपटक नेपालका कुनै पनि खेलाडी आईपीएल क्लबहरुको रोजाइमा परेनन् । नेपाली खेलाडीलाई आगामी आईपीएलको मंगलबार हुने अक्सनका लागि घोषित अन्तिम सूचिमा समेत पारिएन् ।त्यसपछि निराश देखिएका प्रमुख प्रशिक्षक मोन्टी देसाईले आईपीएलमा आबद्ध क्लबका मालिकहरुलाई कम्तिमा एकपटक नेपालको भ्रमण गर्न अनुरोध गरेका छन् । नेपाली क्रिकेटले सिमित साधन र स्रोतका बावजुद अन्तर्राष्ट्रिय क्रिकेटमा कसरी एकपछि अर्को सफलता हात पारिरहकेो छ भन्ने कुरा बुझ्न मोन्टीले आईपीएल क्लबका मालिकहरुलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

‘नेपालमा क्रिकेट निकै लोकप्रिय खेलको रुपमा विकास भइरहेको छ । नेपालले निकै छोटो समयमा अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण सफलताहरु हात पारेको छ । यस्तो स्थितिमा नेपाली क्रिकेटको स्तरलाई अझ माथि उठाउनु हाम्रो पनि दायित्व हो । म आईपीएल क्लबका मालिकहरुलाई नेपाली क्रिकेटलाई नजिकबाट बुझ्न कम्तिमा एकपटक नेपाल भ्रमणका लागि अनुरोध गर्छु,’ हाल भारतमा रहेका मोन्टीले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।

मोन्टी भारतको आन्ध्र प्रदेश क्रिकेट टोलीका पूर्व प्रशिक्षक पनि हुन् । ‘नेपाली क्रिकेटको नजिकबाट नियालेपछि आईपीएल क्लबका मालिकहरु पक्के पनि प्रभावित हुनेछन् । एउटा असल छिमेकी नाताले नेपाली क्रिकेटलाई सहयोग गर्नु हाम्रो पनि दायित्व हो,’ उनले भनेका छन्, ‘तीन करोडभन्दा बढी जनसँख्या रहेको नेपालमा क्रिकेट भनेपछि हुरुक्कै हुने समर्थकको सँख्या निकै ठूलो छ । नेपाली क्रिकेट गरिएको लगानीले सबै पक्षलाई फाइदा हुन सक्छ ।’

आईपीएलमा आबद्ध फ्रेन्चाइज क्लबहरुका लागि अमेरिकाभन्दा नेपाल फाइदाजनक गन्तब्य हुनसक्ने धारणा पनि प्रशिक्षक मोन्टीले ब्यक्त गरेका छन् । हालसम्म नेपालका एक खेलाडी लेग–स्पिनर सन्दीप लामिछानेले मात्र आईपीएल खेलेका छन् । उनले दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्दै १३ विकेट पनि लिएका थिए । उनले पछिल्लो पटक सन् २०१९ मा आईपीएल खेलेका थिए ।

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services