नेपालको हवाई सुरक्षामा अझै कमजोरी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

काठमाडौँ । युरोपेली संघ (ईयू) की एसिया र प्रशान्त क्षेत्रकी उपकार्यकारी निर्देशक पाओला पाम्पालोनीले नेपालले हवाई सुरक्षाको प्राविधिक क्षेत्रमा अझै सुधार गर्न आवश्यक रहेको बताएकी छन् । यसका लागि ईयूले अझै सहयोग गर्ने उनको भनाइ छ । ‘ईयूका हुन् वा नेपाली जनता, हाम्रो प्राथमिकता जनतामा सुरक्षा हो,’ हरेक दुई वर्षमा हुने नेपाल–ईयूको १५ औं संयुक्त आयोगको बैंठकमा सहभागी हुन ईयू टोलीको नेतृत्व गर्दै आएकी पाम्पालोनीले काठमाडौँमा सञ्चारकर्मीहरूसँगको संवादमा भनिन् ।नेपालको नागरिक उड्डयन प्राधिकरणले नै हवाई उडान सञ्चालन र निगमन गरिरहेको छ ।

व्यापार पनि आफैं गर्ने र निगमन पनि आफैंले गर्ने स्वार्थ भएपछि ईयूले लामो समयदेखि नेपालको हवाई उड्डयन क्षेत्रमा प्रश्न उठाउँदै आएको हो । त्यसैले ईयूले दुई निकायलाई छुट्याउन नेपाल सरकारलाई आग्रह गरेको छ । सरकारले सोहीअनुसार प्राधिकरणलाई छुट्याउनुअघि संसद्मा विधेयक लगेको थियो । राष्ट्रिय सभाबाट विधेयक पारित भए पनि प्रतिनिधिसभाबाट अघि बढ्न सकेको छैन । नेपालमा हवाई दुर्घटना बढिरहेको उल्लेख गर्दै ईयूले सन् २०१३ को डिसेम्बरदेखि युरोपको आकाशमा नेपाली जहाजलाई उड्न अनुमति नदिएको हो ।

नेपाल–ईयूको १५ औं संयुक्त आयोगको बैठक मंगलबार काठमाडौंमा भएको थियो । नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेपाली टोलीको नेतृत्व गरेकी थिइन् । उपकार्यकारी निर्देशक पाम्पालोनीले आयोगको बैठकमा हवाई सुरक्षाका सम्बन्ध एउटा महत्त्वपूर्ण एजेन्डा रहेको र त्यस विषयमा कुराकानी भएको पनि बताइन् ।‘हवाई सुरक्षा आधारभूत विषय हो । यात्रुहरूको सुरक्षा हुनुपर्छ । नेपाल यस्तो देश हो, जहाँ बढी हवाई दुर्घटना भइरहेका छन्,’ उनले भनिन्, ‘त्यसैले हवाई सुरक्षालाई हाम्रो प्राविधिक टोलीले गम्भीर रूपमा लिएको हो । हाम्रो प्राविधिक टोलीले नेपालको आवश्यकताअनुसार सहयोग गर्छ । यो समस्याको समाधान छिटै हुने आशा गर्छु ।’

ईयू र नेपालबीचको सम्बन्धको ५० औं वर्ष चलिरहेको उल्लेख गर्दै उपकार्यकारी निर्देशक पाम्पालोनीले हालसम्म दुई पक्षबीच बलियो सम्बन्ध रहेको र आगामी दिनमा अझ बलियो सम्बन्ध बनाउने जनाइन् । ईयू नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको र आफूहरूबाट हुने काम वातावरणमैत्री हुने पनि पाम्पालोनीले बताइन् । ‘हामी पेरिस सम्झौताको अनुसरण गर्दै वातावरणमैत्री विकासमा ध्यान दिन्छौं,’ उनले भनिन् । ईयूले नेपालको आर्थिक विकास, पूर्वाधार विकास, प्रविधि र कनेक्टिभिटीका क्षेत्रमा सहयोग गर्ने विषयमा संयुक्त आयोगको बैठकमा चर्चा भएको पाम्पालोनीले बताइन् । ‘ग्लोबल गेटवेमार्फत हामीले कनेक्टिभिटीमा सहयोग गर्छौं,’ उनले भनिन् ।

(Visited 28 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services