फेसबुको शेयरमा उछाल, एकैदिन दुई अर्ब डलरले बृद्धि
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

एजेन्सी । फेसबुकको प्यारेन्ट कम्पनी मेटाको शेयर मूल्यमा शुक्रबार एकै दिन १९६ अर्ब डलर अर्थात् २०‍.३ प्रतिशतले वृद्धि भएको छ । यो वालस्ट्रिट अर्थात अमेरिकी शेयर बजारमा कुनै पनि कम्पनीले एक दिनमा पाएको सबैभन्दा ठूलो शेयर मूल्य उछाल हो । यो शेयर उछालसँगै मेटा कम्पनीको बजारमूल्य बढेर १२ खर्ब २० अर्ब अमेरिकी डलर पुगेको छ । मेटा विश्वकै सातौँ मूल्यवान कम्पनी बन्न पुगेको छ । मेटाका संस्थापक मार्क जुकरबर्ग अर्नल्ट, मस्क र बेजोसपछि विश्वकै धनाढ्यहरूको चौथो स्थानमा उक्लिएका छन् ।

शुक्रबार कारोबारका क्रममा प्रतिशेयर ४८५ डलरसम्म पुगेको मेटाको शेयर बजार बन्द हुँदा ४७४ अमेरिकी डलर रहेको थियो । ३१ अगस्ट २०२१ मा १० खर्ब रहेको मेटाको बजार मूल्य कोभिड)१९ र आर्थिक मन्दीका कारण सुस्ताएको अनलाइन बजारका कारण ओरालो लागेको थियो । वर्ष २०२२ को अन्त्यसम्ममा झन्डै एक चौथाइमा झरेको थियो । त्यतिबेला मेटाको शेयर मूल्य प्रतिकित्ता ९० डलरमा पनि कारोबार भएको थियो ।

प्रविधि बजार विश्लेषकहरूले मेटाको लाभांश बाँड्ने कदमलाई परिपक्वताको संज्ञा दिएका छन् । आइतबार मात्रै फेसबुक स्थापनाको झन्डै २० वर्ष पुगेको छ । कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स उत्पादनहरूमा बढ्दो सफल प्रयोग, एक्स लगायत प्रतिस्पर्धी कम्पनीहरूको विज्ञापन बजारमा थपिँदो समस्यालगायतका कारण मेटाको सफलता बढेको अनुमान गरिएको छ ।

वर्ष २०२२ मा आफ्नो बजार मूल्य झन्डै ६५ प्रतिशतले गुमाएर संघर्षरत रहेको मेटाले वर्ष २०२३ भरिमा आफ्नो मूल्य झन्डै १८५ प्रतिशतले बढाउन सफल भएको छ । लगभग २२ हजार कर्मचारीहरूलाई अवकास दिने र बजार मूल्य सुहाउँदा उत्पादनहरूमा पनि लगानी बढाउनेजस्ता कदमले कम्पनीलाई फाइदा पुगेको देखिन्छ ।

हालै मात्र मेटाले आर्थिक वर्ष २०२२ को चौथो त्रैमासिकको तुलनामा आव २०२३ को सोही अवधिमा कम्पनीको आम्दानी झन्डै २५ प्रतिशतले बढेको घोषणा गरेको थियो । योसँगै आफ्ना लगानीकर्ताहरूलाई कम्पनीको इतिहासमै पहिलोपटक प्रतिशेयर ५० सेन्ट लाभांश दिने पनि बताएको थियो ।

सुधारिएर लयमा फर्किँदो अनलाइन विज्ञापनको बजार र प्रविधि लगानीमा बढ्दो उत्साहले चौथो त्रैमासिकमा झन्डै ४० अर्ब डलरभन्दा बढी आम्दानी गरेको मेटाको खुद आम्दानी झन्डै ३ गुणाले बढेको पनि कम्पनीले जनाएको छ ।पछिल्लो लाभांश घोषणाकै स्थिति कायम रहे फेसबुक संस्थापक मार्क जुकरबर्गले वार्षिक झन्डै ७० करोड अमेरिकी डलर लाभांशबापत मात्रै आम्दानी गर्नेछन् । कम्पनीले पहिलो लाभांशको रूपमा सवा एक अर्ब डलर वितरण गर्नेछ ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services