एक्सपर्ट ग्रुपले रारामा लक्जरी रिसोर्ट खोल्ने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

काठमाडौं। एक्सपर्ट ग्रुपले अस्ट्रेलियन लगानीमा रारामा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ। स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा पहिलो पटक अस्ट्रेलियन कम्पनी भित्रिएको हो।पहिलो चरणमा ७० करोड र दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी गर्ने गरी तेस्रो लगानी सम्मेलनको अवसरमा सम्झौता हुँदैछ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो।

काठमाडौंमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् रिसोर्ट प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन्।

मुगुको छायानाथ रारा नगरपालिका ९, मुर्माटपमा ७४ रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड रुपैयाँ लगानी हुनेछ। रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली डिजाइनमा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम प्रयोग हुने रारा होल्डिङस्‌ले जानकारी दिएको छ।

‘यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हो। परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रकृया लगभग अन्तिम चरणमा पुगेका छन्। यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रकृयालाई तीब्रता दिनेछौं र आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं’ होल्डङ्स्‌का शाहले भने।

समुद्र सतहदेखि ३ हजार ७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिनेछ। एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ। यस सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ।

(Visited 51 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services