‘यसरी भएँ म शरणार्थी’
✍ हेमन्त काफ्ले
प्रकाशित मितिः4 months ago

सिड्नी । एकाबिहानै फोनको घण्टी बज्यो। एउटा विद्यार्थीको रहेछ। सायद कसैले उनलाई सञ्चारकर्मी भनेर नम्बर दिएको रहेछ। बिहान काममा हिँड्ने चटारोबीच सिड्नीको ट्रेनबाट फोन उठाएँ।

‘दाजु यसो बेलुका भेट्नु छ कहाँ आऊँ भनेर,’ उताबाट आवाज आयो।

काम सकेपछि आफू बस्ने ठाउँ नजिकै ग्रानभिलको एक रेस्टुरेन्टमा भेट्न बोलाएँ।

उनी म पुग्नुभन्दा अघि नै आइसकेका रहेछन्। मोरङ घर भएका अभि ९नाम परिवर्तन० सँग परिचय भयो। हेर्दा खाइलाग्दा देखिए पनि उनको अनुहारमा भने नैराश्यता झल्किन्थ्यो।

केही औपचारिकता निभाएपछि मैले कफी मगाएँ तर उनले साँझ परेको बेला कफी नखाऊँ भने। त्यसपछि हाम्रो बातचित सुरू भयो।

‘भाइ कुरा के थियो, भनेर प्रश्न के तेर्साएको थिएँ, उनले यसरी जवाफ दिए म अवाक मात्रै भइनँ, मनमा गहिरो चोट पर्‍यो।

उनले भने ;दाजु विद्यार्थी भएर अस्ट्रेलिया आएको थिएँ, पाँच वर्षमा शरणार्थी भएँ।;

उनले आफ्नो पीडा पखाल्दै जुन शब्द बोले, म निस्शब्द भएर सुनिरहेँ।

मोरङबाट पाँच वर्षअघि सपनाको संसार नियाल्दै अस्ट्रेलियाको सिड्नी आइपुगेका अभीले सुन्दर भविष्यको कल्पना गर्दै सिड्नीलाई आफ्नो रोजाइ चुनेका थिए। भेट शिक्षा अर्थात् डिप्लोमा इन आइटी पढ्न आएका अभिले डेढ वर्ष राम्ररी पढे। तर पढाइ कम हाजिर ज्यादा हुने पढाइले उनको ध्यान कामतिर मोडियो।

उनले यसरी पढाइ कम र काममा बढी समय दिन थालेपछि उनको पुरानो शिक्षाले पनि नयाँ काम गर्न सकेन। फलस्वरूप उनलाई कुनै एजेन्टले पिआर हुन्छ भनेकै आधारमा अभीले पनि कुकरीमा पढाइ अगाडि बढाए। कुकरीमा पढाइ थाले, तर यसले पनि कुनै निचोड निकाल्न सकेन।

‘कुकरी पढाइ थियो तर मैले नोकरी ज्यादा गर्न थालेँ। काममा बढी पैसा आउने र सस्तो पढाइले व्यस्त नबनाउने कारण म पैसामा आकर्षित भएँ,’ उनले भने।

जसोतसो डिप्लोमा र एड्भान्स डिप्लोमा बीचको कोरोना कालले उनको समय बहकिसकेको थियो। कलेजको हाजिरी र पढाइको परिधिले डाँडो काट्दै गर्दा अभिले केही पैसा त कमाए तर त्यो पनि खासै बचाउन सकेनन्।

उनी भन्छन्, ‘घरमा अलि अलि पठाएँ, बुवाआमा निकै खुसी हुनुहन्थ्यो, पढाइ कस्तो छ, के गर्दैछस्रु भनेर सोध्नुहुन्थ्यो। तर म सबथोक राम्रो मात्र भनिरहन्थेँ।’

पछिल्लो पटक अस्ट्रेलियाको पढाइमा सरकारको कडाइ लागु हुने भएपछि अभि केही आत्तिए। उनी एक माइग्रेसन एजेन्टकहाँ पुगे। उनले अब आफ्नो पढाइलाई माथिल्लो वरीयतामा लानुपर्ने थियो। उनले चिनेको शैक्षिक परामर्शदातालाई गुहारे। तर पछिल्लो समय कलेजको हाजिरी र पढाइले उनी कालोसूचीमा परेको पत्तै पाएनन्। पढाइलाई अगाडि बढाउन निकै कठिन हुने निर्णय आयो।

‘सुरूमा एजेन्ट दाइले जत्ति काम गरे पनि हुन्छ, यसो हप्तामा एक पटक कलेज चाहिँ पुग्नु भन्नुभाथ्यो तर कहिलेकाहीँ कामले जान भ्याइएन, थकाइले गइएन पनि। अब त गाह्रो भयो केही उपाय लाग्ला जस्तो छैन भाइ,’ भनेपछि अभिको तर्सिए।

‘यता बुवाआमाले छोरो अस्ट्रेलियामा पढ्दैछ भनेका छन्, यसो हो, हो भन्दै अलि अलि पैसा पनि पठाएको छु, के भन्ने ? अभिले आफैलाई प्रश्न गरे।

सबैतिरबाट निराश भएपछि फेरि एक जना साथीको लहैलहैमा उनी अर्का शैक्षिक परामर्शदाताकहाँ पुगे। यिनले अभिलाई हौस्याए।

‘भाइ अब फिस, सिस पनि तिर्नु पर्दैन, काम गर्न पूरै फ्री, मेडिकेयर पनि आउँछ, आठ दश वर्ष बस्न समस्यै छैन। भाग्य बलियो भए, पिआर पनि पाइन्छ,’ उनले अभिलाई भने।

तीन महिनामा चार हजार डलर तिर्दै पढिरहेका अभिलाई के चाहियो र?

उनले पैसै नलाग्ने यो प्रोटेक्सन भिसाका लागि दुई हजार डलर तिर्ने सर्तमा  ‘हुन्छु’ भनिदिए।

‘मलाई थाहै थिएन, यो प्रोटेक्सन भिसा भनेको शरणार्थी भिसाझैं रहेछ। उनले मलाई यसरी व्याख्या गरे, लाग्छ म पढाइ सकेर आवासीय भिसाको आवेदन दिइरहेझैं, मैले केही सोच्नै सकिनँ। पीडा र समस्यामा परेको बेला राहत र आहतका शब्दहरूले रेटेको पत्तो पाइँदैन रैछ दाजु,’ उनले आफ्नो पीडा सुनाए।

‘मैले हुन्छ भनेँ। दुई तीन दिनमा कागजको फाइल बोकेर उनले मलाई अध्यागमन कार्यालय लगे, उनले जे जे भने मैले गरेँ। तर आफू विद्यार्थीबाट शरणार्थी भएको पत्तै भएन,’ उनले भने।

‘मनको बह पोख्न साथीहरूलाई पीडा सुनाएको थिएँ, एउटाले तपाईंलाई चिनेको रैछ नम्बर दियो र मैले कहानी सुनाउने निर्णय गरेको हो। यो मेरो जीवनको वास्तविकता हो,सिड्नीमा म जस्ता सयौं विद्यार्थीहरू यसरी विद्यार्थीबाट शरणार्थी बन्दै गरेको मैले देखेको छु, यसमा केही लेखिदिनुहोला,’ उनले अगाडि भने।

तर पछि उनी त्यही शैक्षिक परामर्श केन्द्र पुगेका थिए अहिले त ती दाजु कार्यालय बन्द गरेर नेपाल गइसकेछन्।

अभिको यो पीडाले निस्शब्द मात्र होइन चिन्ताको ठूलो भारी बोकाएको जस्तो भान भयो। अस्ट्रेलियन सरकारले ल्याएको पछिल्लो शिक्षा नीतिका मारमा परेका कयैन् विद्यार्थीहरू यसरी गलत परामर्शमा फस्दै गएका छन्।

अभिले फेरि सुनाए।

‘मलाई मेरो चिन्ता भन्दा हजारौं नेपाली विद्यार्थीको चिन्ता छ, म त फसेँ, फसेँ अब अरू नफसून्, बरू घर फर्किऊन् र आफ्नो व्यवसाय गरी खाऊन् भन्ने मेरो सोच हो। मैले घरमा झुटो बोलिसकेको छु,पढ्दै छु भनेर। यो भिसा हालेपछि कामको अधिकार पाउन कुर्नु पर्ने रहेछ, त्यसैको प्रतीक्षामा छु, अहिले नगद र उधारोको जिन्दगीमा चलिरहेको छु। केही वर्ष बस्न पाए भने केही पैसा कमाएर र अस्ट्रेलियाको काम लिएर घर फर्कने सोचमा छु,’ अभिले मनभरिका पीडा ओकल्दै भने।

एनआरएन र नेपाली समुदायका संघसंस्थाले पनि यसबारेमा जनचेतना जगाउनु पर्ने बेला आएको उनले बताए।

‘नेपाल र नेपाली भन्ने विद्यार्थी ठगिएको र पीडित भएको विषयमा चु नबोल्ने हो भने यस्ता संस्था हाम्रा लागि के काम,’ अभि भन्छन्।

(नाम नलेख्ने सर्तमा एक नेपाली विद्यार्थीसँग कुराकानीमा आधारित  लेख हामीले सेतोपाटी डटकमबाट साभार गरेका हौं )

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services