
राकेश शर्मा,
एउटा सान्त, सफा र चिटिक्कको कोठा, कोठा भरी थरिथरीका पुस्तकहरु, बच्चा देखि बृद्धा सम्मले पढ्न मिल्ने, पुस्तकका छेउमा इन्टरनेटसहितको डिजिटल प्रविधिको (ई–लाईब्रेरी) पढ्नका लागि आवश्यक पर्ने सम्पूर्ण किसिमको वातावरण त्यहाँ पुग्दा लाग्छ सधै त्यही बसी रहौँ, यो स्थान हो जिल्लाको सदरमुकाम बेनी बजारको सामुदायिक चोकमा रहेको म्याग्दी पुस्ताकालय । विभिन्न विधाका २० हजार बढीको हाराहारीमा पुस्तकहरु छन् ।
पाठकलाई शुद्ध खानेपानीसहित शान्त वातावरणमा अध्ययन गर्ने टेबुल, कुर्चीको व्यवस्था छ । ज्ञानको भण्डार एउटा पुस्तकालयभित्र आवश्यक पर्ने सम्पूर्ण सुविधा भए पनि पुस्तकालयमा पाठकको भने कमी छ । पछिल्लो समय सबैको हातहातमा इन्टरनेट र मोबाईल पुगेपछि पुस्तक पढ्को संख्यामा पनि विस्तारै कमि हुदै गएको छ । म्याग्दी पुस्ताकलायमा दैनिक मुस्किलले १० जना सम्म पुस्तक पढ्ने गरेको पुस्तकालयको अभिलेखमा उल्लेख छ । बालबालिका सहित कहिलेकाँही २० जना सम्म पुग्छन् ।पुस्तकालयमा प्रवेश गर्दावित्तिकै पुस्तक राखेको ¥याकमा समेत नपुगी अधिकांशले वाइफाईको पासवर्ड मागेर घण्टौँसम्म सामाजिक सञ्जालमै व्यस्त हुने गरेको पुस्तकालयका कर्मचारी बताउछन् ।
‘पुस्तकालयमा आउने अधिकांश सरकारी कार्यालयका कर्मचारीहरु छन्, पढ्न भन्दा पनि आजभोली यहाँ पुस्तक लैजाने र छोड्न आउने हुन्छन् ।’ पुस्ताकालयकी कर्मचारी भुजु के.सी कटुवालले भन्नुभयो । निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थीले हाजिरीजवाफसहित अन्य विभिन्न प्रतियोगितालाई आवश्यक पुस्तक मात्र खोज्न आउने गर्दछन् । दिनमा ३ बजे पछि बालबालिकाहरु खेल्नका लागि आउने गर्छन् । पुस्तकालयमा बाल सामग्रीदेखि धार्मिक, साहित्यिक, अङ्ग्रेजी, हिन्दीसहित विभिन्न विधाका पुस्तक राखिएको कक्षबाहेक श्रव्य, दृश्य, सङ्गीत, खेलकूदका सामग्री पनि उपलब्ध रहेको कटुवालले जानकारी दिनुभयो ।
नयाँ पुस्ताका पाठक इन्टरनेटमै झुण्डिने गरेकाले पुस्तकालयको प्रयोग घट्दै गएको म्याग्दी पुस्तकालयका अध्यक्ष सन्तोष रावलको भनाइ छ । करीब एक दशक अगाडिसम्म दैनिक पुस्तकालयमा २५ जनाभन्दा धेरै पाठक प्रवेश गर्ने गरेको बताउँदै नयाँ पुस्तामा पढ्ने रुची ह्वात्तै घटेको उहाँको भनाई छ । अध्यक्ष रावलले दोस्रो तलाको दुई वटा कोठा एनआईसी एशिया बैंकको विस्तारित काउन्टर र भुइँतला भाडामा दिइएको छ ।
रभाडाबाटै प्राप्त आम्दानीले पुस्तकालय सञ्चालन, दुईजना कर्मचारीको तलब, बिजुली, इन्टरनेट शुल्क, नयाँ पुस्तक तथा मर्मत खर्च गरिने अध्यक्ष रावलले बताउनुभयो । विसं २०२७ मा स्थापना भएको म्याग्दी पुस्तकालय २०६० साल चैत्र ७ गते तत्कालीन माओवादीले बेनी आक्रमण गर्दा भवनसहित पुस्तक जलेर नष्ट भएको थियो ।
तत्कालीन समयमा १७ लाख बराबरका क्षति भएपछि पुस्तकालयलाई रुम टु रिड नेपालसहित विभिन्न निकायको सहयोगमा सञ्चालनमा ल्याइएको थियो । पुस्तकालयको प्रयोग गर्ने विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत व्यापक सुधार आएको बताउँदै पुस्तकालयको नियमित प्रयोग गर्ने गरी निर्धारण गरिएको घण्टी तालिका अनुसार प्रयोगमा जोड दिनुपर्ने शिक्षकहरुको भनाई छ ।
जिल्लाको धवलागिरी गाउँपालिका – ७ ताकममा रहेको जिल्लाकै पुरानो अन्नपूर्ण पुस्तकालयसमेत प्रयोगविहीन अवस्थामा छन् । पछिल्लो समय विद्यालयमा रहेका पुस्ताकालयमा समेत पाठकको कमि हुदै गएको छ । प्रविधिको नयाँ टेक्नोलोजी आउन थालेपछि अधिकांश पुस्ताकालय प्रयोग विहिन हुन थालेका छन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services