करिब १ करोड अस्ट्रेलियालीको तथ्यांक चोरी
✍ नारायण खड्का
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाका करिब एक करोड जनताको व्यक्तिगत तथ्यांक चोरी भएको छ । यहाँस्थित ठूलोमध्येको दूरसञ्चार सेवा प्रदायक कम्पनी अप्टसले करिब एक साताअघि आफ्ना अनुमानित ९८ लाख ग्राहकबाट तथ्यांक चोरी भएको जनाएको थियो । अप्टस सिंगापुरको टेलिकम्युनिकेसन लिमिटेडको सहायक कम्पनी हो । यसले अस्ट्रेलियामा रहेका दसौं लाख जनतालाई आफ्नो सेवा दिँदै आएको छ भने यो अस्ट्रेलियाको दोस्रो ठूलो दूरसञ्चार प्रदायक कम्पनीको रूपमा मानिन्छ ।

कम्पनीले गत साता एक सूचना जारी गर्दै आफ्ना ग्राहकका विभिन्न व्यक्तिगत तथ्यांक चोरी भएको जनाएको थियो ।कम्पनीले आफ्ना वर्तमान तथा पूर्वग्राहकबाट उनीहरूको नाम, जन्म मिति, ठेगाना, फोन, इमेल, पासर्पोट तथा लाइसेन्स नम्बर चोरी भएको बताएको थियो । उक्त घटना सार्वजनिक भएपछि अस्ट्रेलियामा साइबर सुरक्षामा चुनौती देखिएको विश्लेषण गरिएको छ ।यो घटना अस्ट्रेलियाको साइबर इतिहासमा सम्भवत: हालसम्मकै सबैभन्दा ठूलो आक्रमण हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । घटना सार्वजनिक भएपछि कम्पनीले आफ्नो साइबर सुरक्षालाई अझ दरिलो बनाएको जनाएको छ भने कम्पनीकी मुख्य कार्यकारी अधिकृत केली बेयर रोजमरिनले माफी माग्दै कम्पनीसँग कडा साइबर सुरक्षा प्रणाली रहेको बताएकी छन् । उनले साइबर आक्रमण रोक्न नसकेकाप्रति आफू निराश भएको समेत उल्लेख गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

साइबर आक्रमणबाट ग्राहकको तथ्यांक चोरी भएपछि गत शनिबार एक व्यक्तिले करिब १५ लाख डलर फिरौतीबापत मागेको बीबीसीले जनाएको छ ।सिड्नीमा रहेका प्रविधि पत्रकार जेरेमी किर्कले उक्त ह्याकरसँग सम्पर्क गरेको र चोरी गरिएका तथ्यांक सहजै निकाल्न सकिने बताएका बीबीसीले उल्लेख गरेको छ । यसका साथै गत मंगलबार ह्याकरले पुन: १० हजार ग्राहकको तथ्यांक सार्वजनिक गरेको भएपनि तत्कालै उक्त डाटा माफी माग्दै हटाइएको थियो ।

अस्ट्रेलियालाई साइबर सुरक्षाको मामिलामा दरिलो राष्ट्रका रूपमा लिइए पनि घटनापछि साइबर सुरक्षामन्त्री क्लेयर ओनिलले साइबर सुरक्षामा अस्ट्रेलिया निकै पछि रहेकोजस्तो देखिएको प्रतिक्रिया दिएकी छन् । उनले यस किसिमका घटना ठूला र विश्वास गरिएका कम्पनीमा नै हुनु आश्चर्यजनक भएको बताएकी छन् ।अस्ट्रेलियाली गृहमन्त्रीसमेत रहेकी ओनिलले यस घटनाबाट आफू चिन्तित बनाएको र करिब २८ लाख ग्राहकबाट ठूलो मात्रामा व्यक्तिगत डाटा चोरी हुनु चिन्ताजनक भएको बताइन् । साभार: इकान्तिपुर

(Visited 108 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services