अस्ट्रेलियामा जन्मेर नेपाल चिनिरहेका बालबालिका
✍ नारायण खड्का
प्रकाशित मितिः2 weeks ago

अस्ट्रेलिया । दक्षिण अस्ट्रेलियाकी स्नेहा अर्याल ५ वर्षकी थिइन्, जतिबेला उनी नेपाली भाषा विद्यालय जाने गर्थिन् । यतै जन्मिएकी उनलाई नेपाली भाषा पाठशालाले नेपाली लेख्न र बोल्न मात्र सिकाएन, नेपाली कलासंस्कृति र परम्पराका बारेमा समेत जान्ने र सिक्ने अवसर दियो । अहिले यहाँको विश्वविद्यालयमा उच्चशिक्षा लिइरहेकी उनी नेपाली दोस्रो पुस्ताको प्रतिनिधित्व गर्छिन् । नेपाली बोल्न र लेख्नसमेत उत्तिकै पोख्त छिन् । अहिले अस्ट्रेलियामा हुर्किरहेका स्नेहाजस्ता करिब २ हजार दोस्रो पुस्ताका नेपालीले हरेक राज्य तथा सहरमा सञ्चालित नेपाली भाषा पाठशालाबाट आफ्नो पुर्ख्यौली थलो, यसको इतिहास र संस्कारलाई नजिकबाट चिन्ने कोसिस गरिरहेका छन् ।

अस्ट्रेलियामा सन् २००० को सुरुवादेखि नै नेपाली भाषा पाठशालाको जग बसेको थियो । सिड्नीमा गुठी अस्ट्रेलिया र गोर्खा नेप्लिज कम्युनिटीले नेपाली भाषालाई दोस्रो पुस्तासम्म पुर्‍याउने उद्देश्यस्वरूप यस कार्यको सुरुवात गरेको थियो । तर, सन् २००० को अन्त्यतिर आधिकारिक रुपमा दर्ता गरेर सुरु भएको शब्दमाला र सन् २००८ मा दक्षिण अस्ट्रेलियाको एडिलेडमा रहेको भाषा पाठशालाले औपचारिकता पाएसँगै यो क्रम अहिले फैलिँदो छ । शब्दमालाले त सिड्नीमा मात्रै ८ वटा शाखा स्थापना गरिसकेको छ ।अहिले दर्जनौंको संख्यामा अस्ट्रेलियाका हरेक राज्य तथा सहरमा यस्ता भाषा विद्यालय सञ्चालित छन् । यी पाठशालाले यहाँ हुर्कंदै गरेका नेपाली बालबालिकालाई नेपाली भाषा मात्र सिकाउँदैनन्, चाडपर्व, परम्परा, कलाशैली, संस्कृति, संगीत, नृत्य लगायतका आफ्ना पहिचानलाई हस्तान्तरण समेत गर्दै आएका छन् ।

नेपालप्रतिको माया, प्रेम र रुचि यी पाठशालामा अध्ययन गर्न आउने बालबालिकाको आँखामा प्रस्ट देख्न सकिन्छ । उनीहरु यति उत्साहित देखिन्छन् कि कक्षा सुरु हुनुभन्दा आधा घण्टाअघि नै पाठशाला पुगिसकेका हुन्छन् ।पाठशालामा आउने हरेक बालबालिकामा नेपालप्रतिको माया र भाषासंस्कृति सिकाइको मोह उत्तिकै देखिन्छ । नेपालको राष्ट्रियगानबाट सुरु हुने सिकाइको क्रम कहिले गीतसंगीत त कहिले नृत्यमा टुंगिन्छ । उनीहरु नेपालको राष्ट्रिय झन्डादेखि सगरमाथा र बुद्धसम्मको चित्र बनाइरहेका हुन्छन् । पूर्वको झापादेखि पश्चिमको महाकालीसम्मका कलासंस्कृतिलाई चिन्ने प्रयत्नमा हुन्छन् उनीहरु ।

५ वर्षदेखि १४ वर्षसम्मका बालबालिका यस्ता पाठशालामा अध्ययन गर्छन् । सानो उमेरदेखि नै नेपाली अक्षर चिनाउने र नेपालको बारेमा जानकारी गराउने विद्यालयको उद्देश्य हो । ‘हाम्रो कोसिस नै बालबालिकालाई नेपालसँग गाँसेर राख्ने हो,’ नेपाली पाठशाला स्थापनादेखि अहिलेसम्म यसै काममा लागिपरेका अभिभावक तथा शिक्षक अंकुर उपाध्याय भन्छन्, ‘पाठशालामार्फत नेपाली दोस्रो पुस्ताले भाषा र संस्कृति सिक्नुका साथै अस्ट्रेलियामा रहेका दर्जनौं बहुसांस्कृतिक समुदायलाई नेपाली समुदायसँग जोड्ने पुलको काम गरिरहेको छ ।’

अध्ययनरत बालबालिकाले यहाँका बहुसांस्कृतिक कार्यक्रममा गएर नेपाली परम्परागत नृत्य देखाउने गर्छन् । नेपाली रास्ट्रिय पोशाकमा सजिएर नेपाललाई समेत चिनाउन उनीहरु माध्यम बनेका छन् । हाम्रा बालबालिकाले नेपाल, नेपाली कलासंस्कृति र परम्पराप्रति देखाएको मोहले हामीलाई नै यस कार्यमा निरन्तर लाग्न प्रेरित गर्छ,’ पाठशालाका प्रधानाध्यापक चन्द्रमणि पाण्डेले भने । अंग्रेजीभाषी समुदायमा जन्मेर र हुर्केर पनि नेपाल प्रेमलाई जीवित राखेकामा उनी दंग छन् ।

केही दिनअघि मात्र दक्षिण अस्ट्रेलियाकै एडिलेडमा सञ्चालित अर्को भाषा पाठशाला नेपाली विद्यालयले आफ्नौ दसौं वार्षिकोत्सव मनाइरहँदा उपस्थित सयौं अभिभावक भावुक बने । आफ्ना बालबालिकाले नेपाली भाषा सिकेकामा मात्र होइन अस्ट्रेलियामा समेत नेपाली कलासंस्कृति देख्न पाउँदा उनीहरु खुसी देखिएका थिए । यस विद्यालयमा त हरेक साता करिब १ सय ५० विद्यार्थीले नेपाली भाषा सिक्ने र नेपाललाई नजिकबाट चिन्ने कोसिस गरिरहेका छन् । यहाँको सरकारले समेत यस्ता पाठशालालाई भरपुर सहयोग गर्ने गरेको छ । बहुसांस्कृतिक देश भएका कारण पनि अस्ट्रेलियास्थित राज्य सरकारले विभिन्न देश र संस्कृतिबाट आएका बालबालिकालाई आफ्नो देश र त्यहाँको भाषा संस्कृति चिन्न प्रोत्साहित गर्ने गरेको छ ।

विद्यालय सञ्चालनका लागि आर्थिक सहयोग ९ग्रान्ट० दिने, शिक्षकलाई तालिम उपलब्ध गराउने र विद्यालयको अनुगमन पनि हुने गरेको छ । यहाँको शिक्षा मन्त्रालय तथा बहुसांस्कृतिक मन्त्रालयले यस्ता विद्यालयलाई आर्थिक र अन्य कार्यक्रममार्फत प्रोत्साहन गर्ने गरेको पाठशाला सञ्चालकहरूको भनाइ छ । अभिभावकले यस्ता पाठशालामा भर्ना गर्न कुनै शुल्क तिर्नु नपर्ने भएकाले समेत यसप्रतिको आकर्षण बढ्दो छ । स्थानीय सरकारले केही आर्थिक सहयोग दिए पनि अधिकांश पाठशाला पूर्णरुपमा स्वयंसेवकमार्फत नै सञ्चालित छन् । केही पाठशालाले भने स्वयंसेवकका रुपमा बालबालिकालाई पढाउने शिक्षकलाई भत्तास्वरुप सीमित रकम सहयोग गर्छन् ।

बालबालिकाले आफ्नो भाषासंस्कृति सिक्ने, अर्कातिर नेपाली समुदायकै अन्य बालबालिकासँग समेत भेटघाट हुने भएकाले सकेसम्म सबै अभिभावक यस्ता कक्षाप्रति आकर्षित छन् । बेलाबेला बालबालिकालाई मनपर्ने खानेकुरा, खेलकुद, पिकनिक, बार्बिक्यु लगायतका कार्यक्रमले पनि कक्षामा नियमित आउन बालबालिकालाई हौसला दिने गरेको छ ।

सिड्नीमा रहेको शब्दमालाका सञ्चालक समिति अध्यक्ष विष्णु घिमिरे डेढ दशकको अवधिमा नेपाली भाषा पाठशालाले उल्लेख्य सफलता पाएको अनुभव सुनाउँछन् । आफ्ना ८ शाखामार्फत करिब ४ सय नेपाली दोस्रो पुस्ताका बालबालिकालाई उनी नेपाल र नेपाली भाषा चिनाइरहेका छन् । ुयसले बालबालिका मात्र नभएर अभिभावकलाई समेत एकआपसमा भाइचारा र सम्बन्ध विस्तार गर्ने अवसर दिएको छ,  उनले भने ।

नेपाली भाषा पाठशाला अहिले सिड्नी, मेलबर्न एडिलेडजस्ता सहरमा मात्र होइन पर्थ, ब्रिसबन लगायतका राज्य तथा सहरमा फैलिसकेका छन् । यसले अस्ट्रेलियामा हुर्कंदै गरेका दोस्रो पुस्ताका बालबालिकालाई नेपाली भाषा, कलासंस्कृति र परम्परासँग नजिक बनाइरहेको छ । अन्य समुदायका बालबालिकासँग पनि उनीहरु नेपालका बारेमा खुलेर बोल्न सक्ने भएका छन् । (साभार इकान्तिपुर)

(Visited 42 times, 1 visits today)

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services