अष्ट्रेलिया–नेपाल सिधा हवाई उडानको तयारी
प्रकाशित मितिः4 years ago

सिड्नी । नेपाल फर्किने तयारीमा हुनुहुन्छ ? हवाईभाडाले तनाबमा त हुनुहुन्न नि ?, यदि त्यस्तै हो भने, तपाँईका लागि खुशीको खबर छ । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडान सम्झौता भएको दुईबर्षपछि यसको आवश्यक तयारी अघि बढाईएको छ । सबै ठिकठाक रुपमा अघि बढ्यो भने, अबको केहि समयमा यो कामले मुर्तरुप पाउनसक्छ ।

अष्ट्रेलिया–नेपाल सिधा हवाइ उडान नहुँदा विभिन्न स्थानमा गर्नुपर्ने ट्रान्जिटका कारण नेपाली विद्यार्थी र अभिभावका साथै पर्यटकहरुले शास्ती खेप्दै आएका छन् । नागरिक उड्डयन प्राधिकरणले नेपाल–अष्ट्रेलिया उडानका लागि प्रारम्भिक प्रक्रिया सुरु गरेको जनाएको छ । प्राधिकरणले दुई मुलुकबीच सिधा उडान सुरु गर्नका लागि महानिर्देशकसहितको टोलीले हालै काठमाडौस्थित अष्ट्रेलियन राजदूतावासका डेपुटी हेड पल म्याकअर्नसँग औपचारिक छलफल गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। ’हामीले सिधा उडान गर्नका लागि प्रारम्भिक प्रक्रिया अगाडि बढाएका हौं। उताबाट सकारात्मक प्रतिक्रिया आएको छ। सकेसम्म दुई गन्तव्य बीच छिटै सिधा उडान गर्नका लागि दूतावासले आफू सहमत रहेको जनाएको छ,’ प्रवक्ता निरौलाले भनेका छन् ।

सिधा उडान सुरु भए नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सेवा दिनुका साथै बजार प्रतिस्पर्धा भएर भाडादर घट्न सक्ने उनले बताए। ’अहिले विदेशी वायुसेवाले मात्र यो गन्तव्यमा उडान गर्दै आएका छन्।सिधा उडान सुरु भएसँगै नेपाली वायुसेवा कम्पनी सेवामा आउँदा विदेशी मुद्रा आर्जनमा पनि टेवा पुग्नेछ,’ उनले भने। सन् २०१९ सेप्टेम्बर ३० तारिखमा नेपाल–अष्ट्रेलिया सिधा उडानका लागि द्विपक्षीय हवाई उडान सम्झौता भएको थियो । दुई मुलुकबीच भएको सम्झौता अनुसार नेपाली वायुसेवाले अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसवेन, पर्थ गरी कुल चार गन्तव्यमा नियमित उडान गर्न सक्नेछन् ।

(Visited 75 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services