डीभी प्रणाली खारेज गर्न अमेरिकी कंग्रेसमा बिल दर्ता
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

अमेरिका । बैधानिकरुपमा स्थायीरुपमा अमेरिका आप्रवासनको महत्वपूर्ण आधार विविधता आप्रवासी भिसा कार्यक्रम (डीभी लोटरी) अन्त्यका लागि अमेरिकी कंग्रेसमा बिल दर्ता भएको छ । अमेरिकाको तल्लो सदनको रुपमा रहेको युनाईटेड स्टेट कंग्रेसमा जर्जिया राज्यको दसौं कंग्रेसनल जिल्लाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका नेता माइक कोलिन्सले बिल दर्ता गरेका हुन् । जारी १ सय १९ औं युएस कंग्रेसमा हाउस अफ रिप्रिजेन्टेटिभ्स कोलिन्सले सुरक्षा र निष्पक्षता सम्वर्द्धन अमेरिका ऐन  द सेक्युरिटी एण्ड फेयर नेस इन्ह्यान्समेन्ट फर अमेरिका २०२५ ० दर्ता गराएका हुन् ।

फेब्रुअरी १२ मा दर्ता गरिएको ऐनमा डाइभरसिटी भिसा खारेज गर्ने उल्लेख छ । अध्यागमन ऐन जारी गर्दै सन् १९९० बाट सुरु भएको डीभी कार्यक्रममार्फत् करिब ५५ हजार प्रत्येक वर्ष अमेरिका आउने गरेका छन् ।सन् १९९५ देखि नेपाल समेत डीभी कार्यक्रममा समावेश हुँदै आएको छ। नेपालबाट करिब ५७ हजार बढीले डीभी कार्यक्रमअन्तर्गत अमेरिकाको स्थायी बसोबासका लागि भिसा प्राप्त गरिसकेका सँगसँगै डीभीमा छनौट हुनेले परिवार समेत ल्याउन सक्ने प्रावधान रहेको छ । पछिल्लो तथ्याकं हेर्ने हो भने डीभी प्राप्त गर्ने नेपालीको संख्या अन्य देशहरूभन्दा माथि रहेको छ ।

हाउस अफ रिप्रिजेन्टेटिभ्स कोलिन्स विल दर्ता गरे लगत्तै उनको कार्यालयले एक विज्ञप्ति जारी गर्दै विविधता भिसा कार्यक्रम अन्त्य गर्नका लागि दर्ता गरिएको बिलले चेन माइग्रेसन समेत अन्त्य गर्न सघाउ पुग्ने जनाएको छ । साथै ऐन कार्यन्वयनमा आए देशको सुरक्षाका लागि समेत सो ऐन प्रभावकारी हुने दावी गरिएको छ ।कोलिन्सले ल्याएको बिललाई हाउसमा टेनिसी राज्यको पाचौं कंग्रेसनल जिल्लाबाट प्रतिनिधित्व गर्ने एन्डी अगलेस, टेक्सस राज्यको २६ औं कंग्रेसनल जिल्लावाट प्रतिनिधित्व गर्ने ब्रान्डन गिल र फ्लोरिडा राज्यको आठौं कंग्रेसनल डिष्ट्रिक्टबाट प्रतिनिधित्व गर्ने माइक हरिडोपोलोसले समर्थन गरिसकेका छन् ।

उनीहरू सबै रिपब्लिकन पार्टीका नेता हुन् । हाउस अफ रिप्रिजेन्टेटिभ्स कोलिन्सले नैं यसअघि चर्चित लेकेन रिले ऐन कंग्रेसमा दर्ता गराएका थिए । त्यो ऐन पारित भएसँगै अमेरिकाको होमल्याण्ड सेक्युरिटीले अवैध आप्रवासीहरूलाई थुनामा राखेर सोधपुछ गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।कंग्रेसले २२ जनवरी २०२५ मा त्यसलाई पारित गरेको थियो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले २९ जनवरी २०२५ मा विधेयकमा हस्ताक्षर गरेका थिए । अगस्टा विश्वविद्यालय जर्जियामा नर्सिङ विषय अध्ययन गरिरहेकी २२ वर्षीया रिलेको हत्या भएको थियो । उनको हत्यामा संलग्न एक भेनेज्युलियन रहेको र उनी अवैधरुपमा अमेरिका प्रवेश गरेको खुलेको थियो।अहिले ४ सय ३५ सदस्यीय अमेरिकी कंग्रेसमा २ सय १८ जना रिपब्लिकन पार्टीबाट निर्वाचित हाउस अफ रिप्रिजेन्टेटिभ्स छन् भने २ सय १५ जना डेमोक्रेटिक पार्टीवाट निर्वाचित हाउस अफ रिप्रिजेन्टेटिभ्स छन्, बाँकी दुई पद भने रिक्त छ।

फ्लोरिडा राज्यका दुई कंग्रेसनल जिल्लाबाट निर्वाचित हाउस अफ रिप्रिजेन्टेटिभ्सले राजीनामा दिएपछि दुई पद रिक्त भएको हो । दुबै रिपब्लिकन पार्टीका नेताहरू हुन् । बिल सदस्य संख्याको बहुमतले पारित गर्नुपर्ने हुन्छ । अमेरिकाका सांसदहरूलाई पार्टी ह्वीप नलाग्ने भएकाले यसै हुन्छ भन्ने नसकिए पनि डीभी लोटरी कार्यक्रम अन्त्य गर्ने सवालमा रिपब्लिकन पार्टीका नेताबीच मतऐक्यता हुने देखिदै आएको छ । राष्ट्रपति ट्रम्प समेत डीभी लोटरी कार्यक्रमविरुद्ध खरो आलोचकको रुपमा उत्रिएका छन् ।यसअघि पनि राष्ट्रपति ट्रम्पले यस मुद्दालाई प्राथमिकता दिँदै आएका छन् । राष्ट्रपतिको रुपमा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले भिसा लोटरी कार्यक्रम समाप्त पार्नुपर्ने र यसका लागि आफू लाग्ने बताएका थिए । तर उनको पहिलो कार्यकालमा अहिले जस्तो गरी रिपब्लिकनको बहुमत थिएन । अमेरिकाको माथिल्लो सदन १ सय सदस्यीय सिनेटमा समेत रिपब्लिकन पार्टीबाट निर्वाचित ५३ सिनेटर छन् भने डेमोक्रेटिक पार्टीबाट निर्वाचित ४५ जना रहेका छन् । २ जना स्वतन्त्रबाट उठेर निर्वाचित सिनेटर छन् । साभार– अन्नपूर्णपोष्ट

(Visited 76 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services