अमेरिकामा कामविहीन बन्दै नेपाली विद्यार्थी
✍ सुदीप शिवाकोटी
प्रकाशित मितिः2 weeks ago

अमेरिका । गत साता कलेज समय सकिएपछि हतारिँदै काममा पुगेकी रीतिका मैनाली (नाम परिवर्तन) निराश हुँदै आफ्नो अपार्टमेन्टमा फर्किइन् । म्यानेजरले कामबाट हटाएको सुनाएपछि उनी निराश मात्र भइनन् तनावमा पनि छिन् ।कलेज फि तिर्ने बेला आइसक्यो, यहिबेला म कामविहीन भएँ । नेपालबाट मलाई पैसा पठाउन सक्नुहुन्न, अब म के गरुँ रु’ गहभरि आँसु बनाउँदै उनले भनिन् । टेक्सासको कम्युनिटी कलेजमा नर्सिङ अध्ययन गर्दै आइरहेकी रीतिका टेक्सासकै इर्भिङस्थित सेभेन इलाभेन ग्यास स्टेसनमा काम गर्थिन् ।

साताको ४५ घण्टा काम गर्ने उनले बसोबास, खाना र खाजा खर्चसँगै कलेज शुल्क जेनतेन पुर्‍याइरहेकी थिइन् । उनी अमेरिका आउँदा लिएको ऋणसमेत तिर्ने योजनामा थिइन् । ‘कामबाट कमाइ ठिकै थियो, बुबाआमामाथि थोपरिएको ऋण बिस्तारै तिर्दै जाने सोच थियो, अब खानसमेत धौ–धौ हुने भयो,’ उनले दुखेसो गर्दै भनिन्, ‘म मात्र होइन मेरा सबै साथीहरूको अवस्था यस्तै छ ।’

रीतिका त एक उदाहरण मात्र हुन्, उनी जस्तै हजारौं नेपाली विद्यार्थी अमेरिकामा अहिले कामविहीन बनेका छन् । न्युयोर्क युनिभर्सिटीमा स्नात्तकोत्तर तहमा अध्ययरत विमला पाण्डे ९नाम परिवर्तन० को पनि उस्तै गुनासो छ । रेस्टुराँमा काम गर्दै आएकी उनलाई पनि यसै साता कामबाट निकालियो । न्युयोर्क छाडेर अन्त जाँदा काम पाइन्छ कि भनेर साथीहरूसँग सल्लाह गरिरहेको उनले बताइन् । ‘न्युयोर्क महँगो सहर हो, यहाँ कामबिना कसरी बाँच्न सकिएला र  ?’ उनी भन्छिन्, ‘रेस्टु‍राँबाट निकालिएपछि अरू स्टोरमा पनि जोखिम लिएर काम दिन सक्दिन भन्छन्, म यो सहर नै छाडेर जाने सोचमा छु । तर अहिलेको अवस्था हेर्दा लाग्छ, हामी विद्यार्थीले कहीँ पनि काम पाउँदैनौं ।’

सूचना प्रविधि अध्ययनरत उनी एक अपार्टमेन्टमा पाँच जना साथीहरूसँग बस्दै आएकी छन् । आफू मात्र होइन, सँगै बस्ने साथीहरू पनि कामको खोजीमा भौतारिरहेको उनले बताइन् । सबै अरू राज्यमा भएका साथीहरूलाई दिनहुँ सोधिने गरेको र उनीहरूमध्ये कोहीलाई कामबाट निकालिएको र कोही पक्राउ पर्ने डरले आफैं छाडेको विमला बताउँछिन् ।

क्यालिफोर्नियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको अवस्था पनि उस्तै छ । एक्जोन ग्यास स्टेसनमा पूर्णकालीन काम गर्दै आइरहेका विकास परियार (नाम परिवर्तन) ले आफन्तको खोजीमा लागिरहेको बताए । ‘अहिलेसम्म मलाई कामबाट निकालिएको छैन, तर जुनसुकै बेला मैले काम छोड्नुपर्ने भनिएको छ,’ उनी भन्छन्, ‘त्यसकारण म आफन्त जहाँ छन्, त्यहीँ जाने सोचमा छु ।’ आफूसँगै एउटै अपार्टमेन्टमा बस्ने सबै साथीहरूले काम छाडिसकेको र महँगी बढी भएकाले अन्यत्र सर्ने सोच बनाइसकेकाले तत्काल अर्को विकल्प खोज्नुपर्ने रीतिकाले बताइन् ।

रूपेश सापकोटा (नाम परिवर्तन)ले अध्ययनका लागि टेक्सासकै युलेस सहरको एक कलेजमा आएदेखि नै काम पाएका छैनन् । हेटौंडाका रूपेश कामको खोजीमा कलेज ट्रान्सफर गर्दै साइबर सेक्युरिटी अध्ययन गर्न युलेस आइपुगेका हुन् । नेपालबाट आएको चार महिना भइसके पनि काम नपाएपछि उनी दिक्दार देखिन्छन् । ‘अमेरिकामा राम्रै भविष्य देखेर आएँ, पढाइ पूरा गर्नसके राम्रै हुन्थ्यो होला । पढ्न पैसा चाहिन्छ, पैसाका लागि काम गर्नुपर्छ, काम पाएको छैन, अब कसरी पढुँ,’ उनी भन्छन् । काम पाउन निकै समस्या हुने र काम गरिरहेका साथीहरूलाई निकालिरहेको थाहा पाइरहँदा आफूले काम पाउने आशा नरहेको उनको दुखेसो छ ।

राष्ट्रपति ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्कासन गर्ने योजना कार्यान्वयनमा ल्याएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली विद्यार्थीमा पनि परेको छ । गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यावसायिक फर्महरूमा छापा मारिरहेको छ ।यसै क्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमतिपत्र (वर्क पर्मिट) भएकाबाहेकले व्यावसायिक फर्महरूमा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्कासन गर्ने गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् । उनीहरूलाई काम गरिरहेको भेटेमा प्रहरीले पक्राउ गर्न सक्छ ।

गैरआवासीय नेपाली संघ (एआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष अर्जुन बञ्जाडेले इन्डोर कलेजबाहेक अमेरिकामा विदेशी विद्यार्थीले काम गर्न पाउने कुनै प्रावधान नरहेको बताउँछन् । उनले हाल गैरकानुनी आप्रवासीलाई मात्र होइन, गैरकानुनी काम गरिरहेका जोकोहीलाई पनि प्रहरीले पक्राउ र निष्कासन गरिरहेको र यसको जोखिममा नेपाली विद्यार्थी पनि परेको जनाए । (साभार इकान्तिपुर)

(Visited 7 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services