विवश सर शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण गरी हाम्रो विद्यालयमा आएका नव आगन्तुक शिक्षक हुनुहुन्थ्यो। स्नातकोत्तर सम्मको अध्ययन पूरा गरी पहिलो प्रयासमै प्राथमिक तहको स्थायी शिक्षक हुन सफल उहाँ जोस जाँगरले भरिएको एक सशक्त युवा हुनुहुन्थ्यो। उहाँको गतिशीलता साँच्चिकै अनुकरणीय थियो।
आफ्नो शिक्षणमा नवीनता ल्याउन सधैँ तत्पर विवश सर बेलाबेला भन्नुहुन्थ्यो, ‘हाम्रो विद्यालय यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनाउनुपर्छ।’ उहाँको पेसाप्रतिको लगाव र शिक्षण कौशलको कारणले होला विद्यार्थीहरू माझ छोटै समयमा प्रिय शिक्षकको पहिचान स्थापित गर्न सफल हुनुभएको थियो।
संयोगले विवश सर मेरो रुम पार्टनर हुनुभयो। हामी दुवैको घर विद्यालयदेखि एक दिनको बस यात्राको दूरीमा थियो। उहाँ भन्नुहुन्थ्यो, ‘अब अर्को पटक त मावि तहमा नाम निकाल्ने हो सर।’ म पनि उहाँलाई ढाडस दिँदै भन्थेँ, ‘हो सर, हामीले आफ्नै देशमा आफ्नो बलबुताले भ्याएसम्म केही न केही गर्नुपर्छ। मेहनत गर्दै जानुहोस् अर्को पटक मावि शिक्षक पदमा नाम निकाल्नुहोस्, कुनै विद्यालयको नेतृत्व गर्नुहोस् र उक्त विद्यालयलाई नेपालकै सर्वोत्कृष्ट बनाउनुहोस्। गरे असम्भव के छ ?’
मावि तहको शिक्षक बन्ने ध्याउन्नमा एकलव्य झैँ लाग्नुभएको थियो विवश सर।जागिरे जीवन सुरु गरेको तीनरचार महिनामै उहाँमा अचानक बदलाव आयो। अब मावि शिक्षक हैन, अस्ट्रेलिया जाने मैले उहाँलाई सम्झाउन कोसिस त गरेँ तर जोरजुलम गर्ने नैतिक तागत ममा थिएन।
नेपालको शैक्षिक क्षेत्रको दुर्दशा राज्यको बेवास्ता र चरम राजनीतिक खिचातानीले निम्त्याएको तितो यथार्थप्रति एक बिस वर्ष शिक्षणमै बिताइसकेको म बबुरो अनभिज्ञ हुने प्रश्नै रहेन। उहाँ पढ्न थाल्नुहुन्थ्यो तर केही समयमै पढ्दा पढ्दैको किताब कुनातिर हुत्ताउँदै भन्नुहुन्थ्यो, ‘म किन पढ्ने ? म त अब अस्ट्रेलिया जाने हो।’
मेरो पाको उमेरकै कारणले होला, विवश सरले खाना पकाउने काममा सकेसम्म मलाई रोक्नु हुन्थ्यो। एक दिन उहाँ खाना पकाइरहनु भएको थियो, म मोबाइलमा अनलाइन पत्रिका पढिरहेको थिएँ। अनायास मैले उहाँलाई प्रश्न गरेँ, ‘विवश सर, तपाईंमा अस्ट्रेलिया जाने सपना अचानक कसरी सवार भयो ?’
उहाँले बेलिबिस्तार लगाउन थाल्नु भयो, ‘अब शिक्षक जागिर नखाने सर। यो पेसा त राज्यको सबैभन्दा उपेक्षित पेसा रहेछ। चुनलाल सरको जागिरे जीवनको अठार वर्षसम्म पनि बढुवा भएको छैन। निर्मल सर शिक्षक सेवा आयोगले लिएको परीक्षामा सर्वोत्कृष्ट हुँदा पनि रोजेको ठाउँमा पदस्थापन हुन सक्नुभएन। उहाँ दस वर्षदेखि आफ्नो घर पायक पर्ने विद्यालयमा सरुवा भएर जान सक्नु भएको छैन जबकि उहाँभन्दा पछि सेवा प्रवेश गरेका कैयौँ शिक्षकहरू पहुँचको भरमा घर पायक सरुवा भएका कैयौँ दृष्टान्त छन्।
पुरन सरको छोराले एमबिबिएसको प्रवेश परीक्षा उत्तीर्ण गर्दा पनि आर्थिक अभावको कारण सरले आफ्नो छोराको डाक्टर बन्ने सपनाको मलामी बन्नुपर्यो। सर त्यस कारण म अस्ट्रेलिया जान्छु। वर्षौँसम्म वृत्ति विकास नहुने जागिर गरेर निराशाको गह्रौँ भारी बोक्नु छैन मलाई। पहुँचको अभावमा दशकौँ सीमान्तकृत बनाइने पेसा रोज्नु छैन मलाई। सबैभन्दा महत्त्वपूर्ण कुरो, आर्थिक अभावले आफ्ना सन्तानका जायज सपनाको मलामी बन्नु छैन मलाई। पढेर गल्ती गरिएछ सर, प्लस टु पास गरेर अस्ट्रेलिया गएको भए आजसम्म त जिन्दगी सेटल भइसक्ने रहेछ।’
उहाँको जवाफले म स्तब्ध भएँ।मैले उहाँलाई एउटा ब्राजिलियन कथाको प्रसङ्ग सुनाएर सम्झाउन कोसिस गरेँ।‘कुनै एक समयमा ब्राजिलको जङ्गलमा डढेलो लागेछ। त्यहाँ भएका सारा जीव जनावर अन्यत्र बसाइँ सरेछन् तर एउटा परेवा बसाइँ सर्नुको सट्टा आफ्नो चुच्चोमा पानी ल्याएर डढेलो निभाउने ध्याउन्नमा लागेछ। उसको कर्म देख्ने अरू जीवहरूले उसलाई जिस्काउन थालेछन्( तिमीले तिम्रो चुच्चोमा ल्याएको पानीले डढेलो निभाउने कुरा असम्भव छ। ती जीवहरूलाई त्यो परेवाको जवाफ थियो, ‘म डढेलो निभाउन सक्छु सक्दिनँ अलग कुरा हो तर म मैले गर्नुपर्ने कर्तव्य गरिरहेको छु। त्यो प्रमुख कुरा हो।’
हो, हाम्रो देशमा कैयौँ कमी कमजोरी छन्। हाम्रो सानो प्रयासले ठुलो प्रभाव नपार्ला तर हामी नागरिकको हैसियतले आफ्नो कर्तव्यबाट पछि हट्यौँ भने देशको अवस्था परिवर्तन कसरी हुनसक्छ ?अर्को कुरा, हजुरले पढेर गल्ती गर्नुभएको कदापि छैन। त्यहीँ पढाइको कारण आज तपाईं स्थायी जागिर खाना सक्षम हुनुभयो। शिर ठाडो पारेर आफ्ना कुरा दुनियाँको सामु राख्न सक्ने हुनुभयो। आज त्यहीँ पढाइकै कारण अस्ट्रेलिया गएर एउटा सबल जिन्दगी निर्माण गर्ने सपना देखिरहनु भएको छ। ठिक छ आजको भूमण्डलीकरणको युगमा तपाईं संसारको जुनसुकै कुनामा गएर जीवनयापन गर्न सक्नुहुन्छ तर आफ्नो जन्मभूमि स्वर्ग भन्दा कम हुँदैन विवश सर।’
विवश सर माद्यामिक शिक्षकको तयारी छोडेर अस्ट्रेलिया जान आवश्यक पर्ने आधारभूत कुराको तयारीमा लाग्नुभयो। स्थायी जागिरको प्रथम वार्षिक उत्सव मनाउन नपाउँदै उहाँको अस्ट्रेलिया उडान सफल भयो।उहाँको योग्यता, दक्षता, सीप उस्तै छ। तर हिजो यहाँ मासिक तिसरबत्तिस हजार कमाउने विवश सर आज मासिक दुईरतीन लाख कमाउने हुनुभएको छ। आफ्नो देश छोड्नुको रत्तीभर पीडा छैन उहाँलाई।
विवश सर जस्तै बिदेसिने लाखौँ युवायुवतीहरूलाई आफ्नै देशमा आधारभूत आवश्यकता पूरा हुने खालको रोजगारी कहिले सुनिश्चित होलारु विवश सर एक दिन मातृभूमि सम्झेर फर्कनुहोस् है, दुखजिलो यहीँ देशमा गरौँला।साभारः सेतोपाटी
© 2023. All rights reserved. Designed By: HK Web Services