
काठमाडौं । अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा १० स्टुडेन्ट भिसा १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो । त्यसअनुसार यस वर्ष क्यानडा सरकारले ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थी कटौती गरेको थियो ।
मंगलबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सन् २०२५ मा थप १० प्रतिशतले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा कटौती गरिने जानकारी दिएका हुन् । उनले सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘हामीले यस वर्ष ३५ प्रतिशत कम अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा जारी गर्दछौं र अर्को वर्ष त्यो संख्या थप १० प्रतिशतले घट्दैछ ।’
उनले आप्रवासी क्यानडाको अर्थतन्त्रका लागि फाइदाजनक भए पनि खराब व्यक्तिहरुले प्रणालीको दुरुपयोग गर्दै विद्यार्थीको रुपमा फाइदा लिने गरेकाले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसामा थप कटौती गर्न लागिएको स्पष्ट पारेका छन् ।क्यानडाले सन् २०२४ का लागि करिब ३ लाख ६४ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मात्र स्टुडेन्ट भिसा जारी गर्ने निर्णय गरेको थियो । क्यानडामा सन् २०२२ मा ८ लाख अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका थिए । यो संख्या २०२३ को अन्त्यसम्ममा ९ लाख पुगेको थियो ।
विदेशी विद्यार्थीको संख्या उल्लेख्य बढ्दा क्यानडामा आवास, यातायात, रोजगारी लगायतका सेवाहरूमा समस्या देखिएका छन् । त्यसैले क्यानडा सरकारले नीतिगत परिवर्तन गर्दै आएको छ ।अन्तर्राष्ट्रिय विद्यार्थी भिसा कटौती गर्ने क्यानडा सरकारको निर्णयले नेपाली विद्यार्थी समेत प्रभावित हुनेछन् । तर क्यानडा सरकारको यो निर्णयबाट केवल स्नातक तहमा अध्ययन गर्न क्यानडा जान चाहने विद्यार्थीहरु प्रभावित हुने बताइन्छ । तर स्नातकोत्तर र विद्यावारिधी गर्न चाहने विद्यार्थीका लागि भने सीमा लागु नहुने जानकारहरु बताउँछन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services