अष्ट्रेलियामा भिसा आवेदनको अत्यासलाग्दो चाङ
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः4 years ago

सिड्नी । तपाँई आफ्नो भिषाको प्रतिक्षामा हुनुहुन्छ भने, तपाँईको भिषाको टुगो छिट्टै लाग्ने भएको छ । अत्यासलाग्दो भिसाको पखाई अन्त्य गर्न अष्ट्रेलियाको संघीय सरकारले उच्च प्राथामिकताका साथ काम गर्ने जनाएको छ । कोभिड महामारीका समयदेखि चुलिएको भिषा आवेदनको चाङ व्यवस्थापनका लागि हालै मात्र निर्वाचित सरकारले कर्मचारी थप, अतिरिक्त समय काम गर्ने कर्मचारीलाई विशेष प्याकेजका साथै कोभिडसँग सम्बन्धित कतिपय कागजातहरुको अनिवार्यतालाई हटाउन थालेपछि भिषा आवेदनकर्ताहरुको पखाई छोटिने अनुमान गरिएको छ । बर्षदिनसम्म पनि भिषाको टुगो नलागेपछि आवेदनकर्ताहरुमा अन्र्योलता उत्पन्न भएको चौतर्फी दबाब बढेपछि संघीय सरकारका अध्यागमन, नागरिक तथा बहुसाँस्कृतिक मन्त्रालयले गत मे महिनामै १४० जना नयाँ अध्यागमन अफिसरहरु भर्ना गरेको जनाएको छ ।

मन्त्रालयका तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यागमनमन्त्री एन्ड्रयू गिल्सले नयाँ सरकार गठन भएपछि पूर्ववर्ती सरकारले ध्यान नदिएको अध्यागमन क्षेत्रलाई उच्च प्राथामिकता दिईएको बताए । उनका अनुसार, जुन महिनाको सुरुवातदेखि अहिलेसम्म ७ लाख ४५ हजार आवेदनहरुको टुगो लगाईएको छ । जसमध्ये ३ लाख ८८ हजार भिजिटिङ, ६२ हजार विद्यार्थी र ९ हजार ५ सय अस्थायी सीपमुलक गरि ६ लाख ४५ हजार भन्दा बढी अन्य मुलुकका आवेदनकर्ता रहेको अध्यागमन विभागले जनाएको छ । मन्त्री गिल्स्ले दश लाख भन्दा बढी टुगो लाग्न बाकी आवेदनहरुलाई जतिसके छिटो निस्कर्षमा पुर्‍याउने भन्दै बर्षौदेखि थुप्रिएको समस्याको समाधान एकैरातमा नहुने समेत बताएका छन् । अष्ट्रेलियाको अर्थव्यवस्थालाई थप मजबुत बनाउन र पछिल्लो समय भोगीरहेको कामदारको अभाव कम गर्न अष्ट्रेलिया आवागमनलाई सहज बनाउन सरकार प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा जनाईएको छ ।

(Visited 179 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services