विश्वका डलर अर्बपतिको सूची सार्वजनिक
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः6 months ago

काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूचि सार्वजनिक गरेको छ । नयाँ सूचि अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो ।विश्वका डलर अर्बपतिहरुको कूल सम्पत्ति १४।२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १।१ ट्रिलियन धेरै हो ।नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ ।

शीर्ष २० जना अर्बपतिहरुको सम्पत्ति सबैभन्दा धेरै बढेको छ । गत वर्ष भन्दा उनीहरुको कूल सम्पत्तिमा ७ खर्ब डलर वृद्धि भएको छ ।नयाँ सूचि अनुसार सर्वाधिक अर्बपति भएको देशका रुपमा अमेरिका पहिलो स्थानमा कायमै छ । अमेरिकामा अर्बपतिहरुको संख्या ८ सय १३ जना रहेको छ । दोस्रो स्थानमा रहेको चीनमा ४ सय ७३ जना अर्बपति छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या कीर्तिमानी २ सय जना पुगेको छ फोर्ब्सले गत मार्च ८ को शेयर मूल्य तथा विनिमयदरको आधारमा अर्बपतिहरुको सम्पत्ति गणना गरेको हो ।

फोर्ब्सको सूचि अनुसार विश्वका शीर्ष २० अर्बपति यी हुन् :

१. बर्नार्ड आर्नल्ट: लुइस भिटन तथा सेफोरा लगायतका फेसन तथा कस्मेटिक ब्राण्डका मालिक बर्नार्ड आर्नल्ट यो वर्षपनि विश्वको सर्वाधिक धनी व्यक्तिको रुपमा कायमै रहेका छन् । यी फ्रेन्च अर्बपतिको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ ।

२. एलन मस्क: एक्स, स्पेस एक्स तथा टेस्लाका मालिक एलन मस्कको कूल सम्पत्ति १ खर्ब ९५ अर्ब छ ।

३. जेफ बेजोस: अमेजनका संस्थापक बेजोसको सम्पत्ति १ खर्ब ९४ अर्ब डलर छ ।

४. मार्क जुकरबर्ग : फेसबुकका संस्थापक जुकरबर्गको सम्पत्ति १ खर्ब ७७ अर्ब छ ।

५। ल्यारी इलिसन : ओरेकलका संस्थापक इलिसनको कूल सम्पत्ति १ खर्ब ४१ अर्ब छ ।

६। वारेन बफेटस् वित्त तथा लगानी क्षेत्रका टाइकुन वारेन बफेटको सम्पत्ति १ खर्ब ३३ अर्ब डलर छ ।

७। बिल गेट्स : माइक्रोसफ्टका संस्थापक बिल गेट्सको कूल सम्पत्ति १ खर्ब २८ अर्ब डलर छ ।

८। स्टिभ बाल्मर : माइक्रोसफ्टका पूर्व सिइओ बाल्मरको कूल सम्पत्ति १ खर्ब २१ अर्ब डलर छ ।

९। मुकेश अम्बानी : टपटेन अर्बपति भित्र पर्न सफल भारतीय उद्यमी अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति पनि हुन् । रिलायन्स कम्पनीका मालिक समेत रहेका उनको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ ।

१०। ल्यारी पेज : गुगलका संस्थापक ल्यारी पेजको कूल सम्पत्ति १ खर्ब १४ अर्ब डलर रहेको छ ।

११। सर्गेइ ब्रिन : गुगलका सह संस्थापक रहेका ब्रिनको कूल सम्पत्ति १ खर्ब १० अर्ब डलर छ ।

१२। माइकल ब्लुम्बर्ग : वित्त तथा लगानी क्षेत्रका अर्बपति ब्लुम्बर्गको कूल सम्पत्ति १ खर्ब ६अर्ब डलर रहेको छ ।

१३। अमान्सियो ओर्टेगा स् स्पेनका फेसन तथा रिटेल क्षेत्रका अबृपति ओर्टेगाको कूल सम्पत्ति १ खर्ब ३ अर्ब डलर छ ।

१४। कार्लोस स्लिम हेलु : ल्याटिन अमेरिका क्षेत्रको सबैभन्दा ठूलो टेलिकम कम्पनी अमेरिका मोविलका मालिक रहेका मेक्सिकन अर्बपति कार्लोस स्लिम हेलुको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ ।

१५। फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स : एल ओरियल ब्राण्डका मालिक रहेका फ्रेन्च अर्बपति मेयेर्सको सम्पत्ति ९९ अर्ब ५० करोड डलर छ ।

१६। माइकल डेल : डेल टेक्नोलोजी कम्पनीका अध्यक्ष तथा सीईओ रहेका माइकल डेलको सम्पत्ति
९१ अर्ब डलर छ।

१७। गौतम अडानी : भारतीय अर्बपति गौतम अडानी चर्चित अडानी ग्रुपका अध्यक्ष हुन् । उनको कूल सम्पत्ति ८४ अर्ब डलर छ ।

१८। जिम वाल्टन : फेसन तथा रिटेल क्षेत्रका अर्बपति वाल्टनको कूल सम्पत्ति ७८ अर्ब ४० करोड डलर छ ।

१९। रब वाल्टन : वालमार्टका संस्थापक साम वाल्टनका जेठा छोरा रब वाल्टनको कूल सम्पत्ति ७७ अर्ब ४० करोड डलर छ ।

२०। जेन्सेन हुआंग : ग्राफिक्स चिप मेकर कम्पनी एनभिडियाका संस्थापक तथा सीईओ रहेका जेन्सेनको कूल सम्पत्ति ७७ अर्ब डलर छ ।

विनोद चौधरी १७ सय ६४ औं स्थानमा

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी कूल १ अर्ब ८ करोड अमेरिकी डलर सम्पत्ति सहित विश्वका अर्बपतिहरुको सूचिमा १ हजार ७ सय ६४ औं स्थानमा छन् ।गत वर्ष चौधरी १ हजार ६ सय ४७ औं स्थानमा थिए । यद्यपि उनको कूल सम्पत्ति भने गत वर्षको भन्दा घटबढ भएको छैन ।

(Visited 33 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services