
काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एक भारतीय नागरिकसहित हुन्डी कारोबारमा संलग्न चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । अवैध विदेशी मुद्रा अपचलन गरेको, कसुरबाट प्राप्त सम्पत्ति बैंकिङ प्रणालीमा ल्याएर वैध बनाएको, कर छली गरेको लगायत आरोपमा विभागले नरेश अग्रवाल, दीपक शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।
प्रतिवादीहरूमध्ये अग्रवाल भारतीय नागरिक हुन् । उनले नेपालमा कपडा व्यवसाय गर्दै आएका थिए । पश्चिम बंगाल दार्जिलिङ स्थायी ठेगाना भएका अग्रवाल हाल काठमाडौं महानगरपालिका–१७ मा बस्दै आएका थिए । प्रतिवादीहरूमध्ये दीपक काठमाडौं महानगरपालिका–२४ का स्थायी बासिन्दा हुन् । मनमोहन बारा पचरौता नगरपालिका ७ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१३ मा बसोबास गर्दै आएका थिए ।
अर्का प्रतिवादी दिवस बागलुङ नगरपालिका–८ का स्थायी बासिन्दा हुन् । यी चारै जना अनुसन्धानका लागि थुनामा छन् ।प्रतिवादीहरूबाट बरामद भएको अमेरिकी डलर र नेपाली रुपैयाँको वैध कानुनी स्रोत पुष्टि नभएकाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, ०६४ अन्तर्गत सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
‘प्रारम्भिक जाँचबुझ तथा अनुसन्धान हुँदा निज प्रतिवादीहरू नरेश अग्रवालसमेतले अन्य प्रतिवादी दिवस कार्कीसमेतका नाममा बैंक खाता खोली भूमिगत रूपमा मुद्राको कारोवार गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, ०६४ को अनुसूची १ को खण्ड (भ) को सम्बद्ध कसुर गरी गैरकानुनी स्रोत रूपान्तरण वा हस्तान्तरण गर्ने, निषेधित कसुरबाट प्राप्त रकम हो भन्ने जानीजानी त्यस्तो रकमको कारोबार, अधिकार तथा स्वामित्व परिवर्तनका लागि स्थानान्तरण र हस्तान्तरण एवं स्वरूप परिवर्तन, निःसर्ग गर्ने गरेको भेटियो,’ विभागको विज्ञप्तिमा भनिएको छ । त्यस्तो कसुरबाट आर्जित रकम विभिन्न मानिसको बैंक खातामा जम्मा गर्न लगाएर प्रतिवादीहरूले आफ्ना नामको बैंक खातामा सार्ने गरेको, खाताबाट रकम झिकेर धारण र निःसर्ग गरेको, केही रकम हालसम्म पनि खातामा मौज्दात देखिएको र सोबाट लाभसमेत लिइरहेको तथ्य फेला परेको विभागले जनाएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services