सिड्नी । अन्तराष्ट्रिय विद्यार्थीको भिषा अस्वीकृत दर दश बर्ष यताकै उच्च बनेपछि अस्ट्रेलियाका १६ विश्वविद्यालयले संयुक्त रुपमा गृहमामिला मन्त्री र शिक्षामन्त्रीलाई पत्र लेख्दै ध्यानाकर्षण गराएका छन् ।
आप्रवासीको सँख्या अत्यधिक भएको भन्दै संघीय सरकारले गत डिसेम्बरमा कडा आप्रवासी नीति लागू गरेको थियो भने सेप्टेम्बर महिनामा इमिग्रेशन प्रणालीलाई मजबुत बनाउने भन्दै थुप्रै नयाँ व्यवस्थाहरु लागू गरेको थियो । यी दुई नीतिका कारण पछिल्लो छ महिनामा उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया अप्लाई गरेका अन्तराष्ट्रिय विद्यार्थीको भिषा अस्वीकृत हुने दर २० प्रतिशतले बढेको छ, जुन सँख्या दशबर्ष यताकै उच्च भएको यहाँका सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
विश्वविद्यालयहरुले गृहमामिला मन्त्री क्लियर ओनिल र जेसन क्लियरलाई संयुक्त रुपमा पत्र लेख्दै आप्रवासी नीतिका कारण जेहेन्दार र सक्कली विद्यार्थीहरुको समेत धमाधम भिषा रिजेक्ट भइरहेको भन्दै यसले शैक्षिक क्षेत्रमा अकल्पनीय समस्या आउन सक्ने तर्फ सजग गराएका छन् । अफर लेटर पाएर भिषा अप्लाइ गरेका विद्यार्थीहरुको भिषा अस्वीकृत हुँदा विश्वविद्यालयहरुले ठुलो आर्थिक घाटा बहन गर्न बाध्य भएका छन् ।
चाल्र्स स्टुआर्ट युनिर्भसिटीकी सह–चान्सलर एवम् प्राध्यापक रेनी लिअनले अबस्था यस्तै रहे युर्निभसिटीहरुले बार्षिक तीन सय १० मिलियन डलर गुमाउने जानकारी दिएकी छन् । ‘यो अर्थव्यवस्थाकै लागि खतराको संकेत हो, विद्यार्थीको अभाबमा थुप्रै युर्निभसिर्टीहरुले सेमेस्टर घटाउन थालेका छन्,’ उनले भनेकी छन् । हालै इमिग्रेशन विभागले जारी गरेको तथ्यांक अनुसार, पछिल्लो ६ महिनामा १ लाख ३९ हजार १ सय ३२ मात्र विद्यार्थी भिषा जारी भएको छ । भिषा अस्वीकृत हुने मुलुकमा नेपाल, भारत र पाकिस्तान अग्रस्थानमा छन् भने अमेरिका र क्यानडाबाट पढ्न आउन चाहाने विद्यार्थीको समेत भिषा अस्वीकृत भइरहेको विश्वविद्यालयहरुले जनाएका छन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services