नेपाली कलाकारको भिसामा कडाइ गर्दै अस्ट्रेलिया
प्रकाशित मितिः10 months ago

नारायण खड्का/अस्ट्रेलिया । तीज कार्यक्रमका लागि अस्ट्रेलिया आउन लागेकी गायिका सिन्धु मल्लको भिसा यस पटक अस्वीकृत भयो । मल्ल तीजमा अस्ट्रेलियामा आयोजना गरिने कार्यक्रममा धेरै पटक सहभागी भइसकेकी कलाकार हुन् । उनले सामाजिक सञ्जालबाट भिसा नपाएको जानकारी दिएकी छन् । भिसा रद्द भएसँगै आयोजकले उनीबिनै कार्यक्रम आयोजना गर्नुपर्‍यो ।

अर्की गायिका समीक्षा अधिकारीलाई समेत यस पटक अस्ट्रेलियाले भिसा दिएन । भिसा रद्द भएको समाचार आएपछि उनले पनि सामाजिक सञ्जालमार्फत आफू भिसा प्रक्रियामा रहेको जानकारी गराउँदै स्पष्टीकरण दिनुपरेको थियो । तर, अन्तिम समयसम्म पनि अस्ट्रेलिया आउन सम्भव नभएपछि आयोजकले उनको अनुपस्थितिमै कार्यक्रम आयोजना गरेको छ । अर्का गायन स्वप्निल शर्माले त कलाकारका नाममा ‘मानव तस्करी’ गर्ने संस्थालाई सबै कलाकारले बहिष्कार गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत अनुरोध नै गरे ।

अस्ट्रेलियामा तीज, दसैंतिहार, माघी, फागु पूर्णिमा, नयाँ वर्ष, नेपाल महोत्सवलगायत पर्वमा आयोजना गरिने कार्यक्रममा नेपाली कलाकार भित्र्याउने चलन सामान्य बनिसकेको छ । अहिले पनि यहाँ एक दर्जनभन्दा बढी कलाकार तीज कार्यक्रममा सहभागी छन् । यस्ता कार्यक्रममा गायकगायिका मात्र नभई चलचित्रकर्मी, हास्य कलाकार पनि सहभागी हुने गरेका छन् । तर पछिल्लो समय भने चर्चित कलाकार जो अस्ट्रेलियामा धेरै कार्यक्रम गरेर फर्किएका छन्, उनीहरूको पनि भिसा रद्द गर्न सुरु गरेको छ । मल्ल, अधिकारीजस्तै यस पटक धेरै कलाकारको भिसा रद्द भएको अस्ट्रेलियामा कार्यक्रम आयोजना गर्दै आएकाहरूले बताएका छन् ।

सिड्नीस्थित कानुन व्यवसायी सञ्जीव पाण्डे कलाकारका नाममा गैरकलाकारलाई समेत भित्र्याउने क्रम बढेकाले भिसा रद्द हुन थालेको बताउँछन् । कलाकार अस्ट्रेलिया भित्र्याउँदा उनीहरूसँगै उक्त क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई समेत भिसा लगाइदिने र यहाँ ल्याएपछि विद्यार्थी भिसा वा शरणार्थीलगायत भिसामा परिवर्तन गर्ने विकृति बढेको उनको भनाइ छ । ‘नेपालबाट अस्ट्रेलियामा कार्यक्रम गर्न आउने कतिपय कलाकारलाई थाहै नदिई उनीहरूसँगै अन्य मान्छेलाई भित्र्याउनाले समस्या निम्त्याएको हो,’ पाण्डेले भने । कतिपय कलाकारलाई आफ्नो भिसासँगै अन्य कति व्यक्तिको आवेदन दिएको र आफूसँग कार्यक्रम गर्न को–को जाँदै छ भन्नेसमेत जानकारी नै नभएको हुन सक्ने उनको भनाइ छ । कलाकारका नाममा अन्य व्यक्ति ल्याउनु अस्ट्रेलियाली कानुनअनुसार गैरकानुनी कार्य हो । ‘यस्तो कार्यले नेपालको प्रतिष्ठामा आँच त आएको छ नै, यहाँ पीआर र नागरिकता लिइसकेकाले परिवारका सदस्यको भिसा आवेदन दिँदा अस्वीकृत हुने दर पछिल्लो समयमा बढ्दै गएको छ,’ पाण्डेले भने ।

एक दशकदेखि सांस्कृतिक कार्यक्रम आयोजनाको क्षेत्रमा काम गरिरहेका अर्जुन थपलियाका अनुसार मुख्य रूपमा अस्ट्रेलियामा आउने कलाकारको भिसा क्याटागोरी ४०८ (इन्टरटेन्मेन्ट भिसा) हो । यो भिसामा आउने व्यक्तिको खासै धेरै सोधखोज हुने गरेको छैन । चलेका ब्यान्ड वा कलाकार हुने हो भने उनीहरूसँगै आउने वाद्यवादक वा सहयोगी गायकगायिका भनेर भिसा आवेदन दिन सहज हुन्छ । गैरकलाकारलाई समेत यसै प्रक्रियाअन्तर्गत ल्याइएको हुन सक्ने थपलियाको तर्क छ । ‘आउनेले समेत केही नभन्ने र आइसकेपछि पनि हल्लाखल्ला नहुने भएकाले यो कुरा खासै बाहिर आउँदैन,’ उनले भने । तर पछिल्लो समय कलाकार आफैं यस मामिलामा अघि सरेर बोल्न थालेपछि भिसासम्बन्धी विषयले चर्चा पाएको हो ।

सन् २०२२ को जनवरीदेखि जुलाईसम्ममा ६ महिनामा मात्र इन्टरटेन्मेन्ट भिसामा १ सय ४१ जना नेपाली अस्ट्रेलिया भित्रिएका थिए । त्यतिबेला कोभिडका कारण अस्ट्रेलियाको सीमा पूर्ण रूपमा नखुलिसकेकाले नेपाली कार्यक्रम कम भएको थियो । तर, कलाकारको संख्या भने बढेको थियो । उक्त अवधिमा सामाजिक र सांस्कृतिक भिसामा पनि ८७ जना भित्रिएको सरकारको तथ्यांक रहेको सिड्नीका समाजसेवी इथान शाक्यले बताए । उनका अनुसार अस्ट्रेलिया आउन चाहने गैरकलाकारले यहाँस्थित कार्यक्रम आयोजकलाई २५ देखि ३५ लाख रुपैयाँसम्म बुझाएका छन् । ‘गैरकलाकारलाई कार्यक्रमको म्यानेजर, संयोजकलगायत विभिन्न बहानामा पैसा लिएर भित्र्याउने गरिएको छ,’ उनले भने ।

कार्यक्रमका लागि अस्ट्रेलिया आउने भएपछि आफूसँग को–को जाँदै छ भनेर कलाकारले जानकारी राख्नुपर्ने कानुन व्यवसायी पाण्डे बताउँछन् । सम्बन्धित कलाकार तथा ब्यान्डले अस्ट्रेलियास्थित हाइकमिसनमा आफ्नो भिसा तथा आउने कलाकारका बारेमा जानकारी गराउने प्रवृत्तिको विकास हुनुपर्ने शाक्यको सुझाव छ । अस्ट्रेलियाले विद्यार्थी तथा अन्य भिसालाई कडाइ गरिरहेको सन्दर्भमा गैरकानुनी आगमन रोक्न नेपाली कलाकार नै अग्रसर हुनुपर्ने यहाँका नेपालीको भनाइ छ । (साभार इकान्तिपुर डटकम)

(Visited 33 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services