‘लाहुर’ गइरहेको मेरो देश
✍ रमेश कुमार
प्रकाशित मितिः11 months ago

काँधमा खादा वा माला लगाएका युवा र बिदाइमा तिनलाई अँगालो हालिरहेका प्रियजन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पटाङ्गिनी विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच भरिएको हुन्छ। दिनहुँ सरदर दुई हजार ४०० भन्दा बढी युवा मुलुक छोडेर काम र पढाइका लागि विदेश उड्न थालेपछि विमानस्थलमा सधैं घुइँचो लाग्छ। यसरी देश छोडिरहेकामध्ये कैयौं युवाले सधैंका लागि विदेशमा बसोबास गर्ने योजना बनाएका हुन्छन्।

बितेको वर्ष मात्रै काम र अध्ययनका लागि करीब नौ लाख युवाले देश छोडे। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९र८० मा कामका लागि सात लाख ७५ हजार युवा विदेश पुगेका छन्। त्यस्तै, गत वर्ष एक लाख १० हजार नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क छ। यो चानचुने संख्या होइन, देशको युवा उमेरसमूह १६-४० को करीब सात प्रतिशत हो।

यसअघि एकै वर्ष यति धेरै संख्यामा युवाले देश छोडेको अभिलेख छैन। योभन्दा पनि महत्त्वपूर्ण त युवा पलायनको तीव्रता मत्थर हुने छाँटकाँट छैन। मुलुकमा आफ्नो भविष्यसँग आश्वस्त नभएर सिङ्गो तन्नेरी पुस्ता नै विदेश हिंड्न तम्तयार देखिन्छ। जसकारण गाउँघरमा युवा छिटपुट मात्रै फेला पर्न थालेका छन् भने कलेज(विश्वविद्यालयमा विद्यार्थी संख्या घट्दो छ। समाजशास्त्री डा। गणेश गुरुङ भन्छन्, “न युवा जमात देशमा भविष्य देख्छ न त बाबुआमा नै उनीहरूलाई मुलुकमा राख्न चाहन्छन्। यस्तो लाग्छ– सिङ्गो देश नै विदेश गइरहेको छ।”

देश छोड्ने हतारो

रसुवाको कालिका–३ का ६ युवा एकैसाथ भदौको पहिलो साता कामका लागि यूरोपेली देश क्रोएशिया प्रस्थान गरे। देशमा बसेर उन्नति गर्न नसकिने निचोड सहित अध्ययन, व्यवसाय र जागीर छोडेर उनीहरूले सात समुद्रपारि पसिना बगाउने निधो गरेका थिए। तिनैमध्येका एक भुवन न्यौपानेको चाहना यूरोपमा दीर्घकालसम्म स्थायी रूपमा बस्न पाइने अनुमति पाइन्छ कि भन्नेमा छ। देश छोड्नुअघि उनले सुनाए, “भाग्यले साथ दिए क्रोएशियाबाट यूरोपको अर्को मुलुकमा सरेर स्थायी आवास अनुमति (पीआर) पाइएला नि”

नुवाकोटको विदुरका विनोद पौडेलको दैनिकी खल्तीमा हात हालेर यताउता बरालिएर बित्छ। बेरोजगार पौडेल अहिले राहदानी वैदेशिक रोजगार व्यवसायीलाई बुझाएर विदेशिने दिन कुरिरहेका छन्। “यता के गरेर बस्नेरु भएका साथीभाइ जति सबै विदेश गइसके,” उनी भन्छन्।

विद्यालय शिक्षा (कक्षा १२) सक्ने बित्तिकै तरुणको ध्यान थप उच्च शिक्षा हासिल गर्ने होइन, विदेश गएर कमाउनेतिर गइरहेको छ। भर्खरै कक्षा १२ सकेकी काठमाडौंको बालाजुकी आकृति तिमल्सिना क्यानडा वा अस्ट्रेलियामध्ये एक देश पढ्न जान तयारी गरिरहेकी छन्। स्टडीपोर्टलको एक अध्ययनमा सन् २०२२ मा संसारभरिको वैदेशिक अध्ययनमा जानेमध्ये आधा विद्यार्थी नेपाल सहितका १४ देशबाट रहेको उल्लेख छ। नेपालले कुल अन्तर्राष्ट्रिय विद्यार्थीको १.७ प्रतिशत हिस्सा ओगटेको छ।

अर्थशास्त्री डा. समीर खतिवडा मानिसको आधारभूत चरित्र नै अवसर खोज्दै हिंड्ने भएकाले राम्रो भविष्यका लागि युवाले नेपाल छोड्न खोज्नु स्वाभाविक भएको मान्छन्। खतिवडा भन्छन्, “जसलाई पनि भोलिको दिन राम्रो होओस्, छोराछोरीको जिन्दगी राम्रो बनोस् भन्ने लाग्छ। नेपालमा त्यस्तो आशा नदेखेपछि हिंड्न खोज्नु अस्वाभाविक होइन।”

हुन पनि नेपाली युवाका लागि विदेशको गन्तव्य बाध्यता र रहर दुवै बनिरहेको छ। समाजशास्त्री दिनेश प्रसाईं नेपाल समाज लाहुरे संस्कृतिसँग अभ्यस्त भएकाले परिवारका सदस्य विदेश जानु गर्वको कुरा भएको अनुभूतिबाट गुज्रिंदै आएको बताउँछन्। त्यसमाथि पछिल्लो समय त सिङ्गो नेपाली समाजले देशबाट आशा नै गुमाइसकेकाले विदेश विकल्प बनेको देख्छन्। प्रसाईं भन्छन्, “राजनीतिप्रति आशा नै भएन। मुलुक सप्रिन्छ भन्ने आशा नै नभएपछि सबैलाई विदेश जाऔं भन्ने लागेको छ।”

त्यसो त नेपाली समाजमा लाहुर जाने र कमाएर ल्याउने परम्परा नौलो होइन्। १९औं शताब्दीको शुरूतिर नै ‘पन्जाब केशरी’ रणजीत सिंहको लाहोर छाउनीमा नेपाली युवा भर्ती भएर धन कमाउन थालिसकेका थिए। सन् १८१६ को सुगौली सन्धिपछि त नेपाली युवाका लागि विदेशी सेनामा गोर्खा भर्तीको औपचारिक ढोका नै खुल्यो। विश्वव्यापीकरण र आर्थिक उदारीकरणको युग शुरू भएपछि बितेका तीन दशकमा भने आम्दानी बढी हुने सम्पन्न र विकासोन्मुख मुलुकतिर नेपाली कामदार ओइरिन थाले।

पछिल्लो दशकमा भने अध्ययनका लागि विदेशिने विद्यार्थी पनि उत्तिकै बढेका छन्। वैदेशिक अध्ययनका लागि देश छोडे पनि प्रकारान्तरले विदेश पुगेकाको उद्देश्य स्वदेश फर्किने होइन, उतै स्थायी बसोबास गर्ने हुन्छ।

आर्थिक सर्वेक्षण २०७९र८० का अनुसार, २०७९ फागुनसम्म ५५ लाख २६ हजार ७०० जनाले वैदेशिक रोजगारीमा जान औपचारिक श्रम स्वीकृति लिएका छन्। वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीको संख्या पनि सानो छैन। यस हिसाबले भारत बाहेकका तेस्रो मुलकमा रोजगारी, अध्ययनका लागि औपचारिक तथा अनौपचारिक रूपमा पुगेका नेपालीको संख्या ५० लाख हाराहारी रहेको अनुमान गरिन्छ। परिवारबाट अलग भई अक्सर विदेशमा बसोबास गर्ने नेपालीको संख्या करीब २२ लाख रहेको राष्ट्रिय जनगणना, २०७८ ले देखाएको छ। यद्यपि अध्ययन र कामकाजका लागि विदेशमा रहने नेपालीको संख्या योभन्दा क‌ैयौं गुणा धेरै छ।

मुलुकबाट बाहिरिने ताँतीमा श्रम बेच्न मध्यपूर्व वा मलेशिया हिंडेका मात्र होइन, उच्च सीप र शिक्षायुक्त दक्ष जनशक्ति समेत आश्चर्यलाग्दो गरी बढिरहेको छ। देशमा भविष्य नदेखेपछि उच्च शिक्षा अध्ययन गरेका र प्राविधिक ज्ञान पाएको जनशक्ति सुरक्षित भविष्य र आकर्षक आम्दानीका लागि पलायन भइरहेको छ।

देश छोड्नेमा चिकित्सक, इन्जिनीयर, चार्टर्ड एकाउन्टेन्ट ९सीए०, नर्स, भेटेरिनरी डाक्टर, कृषिविज्ञ, प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान लगायतका विषय पढेका जनशक्तिको लर्को छ। नेपालबाट बर्सेनि कति संख्यामा पेशागत दक्ष र बौद्धिक समुदाय पलायन हुन्छ भन्ने तथ्याङ्क सरकारसँग छैन। समाजशास्त्री गणेश गुरुङ पेशागत विशेषज्ञ र दक्ष जनशक्ति पलायन हुनुले देशको अधोगतिलाई सङ्केत गरेको देख्छन्।

किन देश छोड्दै छन् युवा ?

समाजशास्त्री दिनेश प्रसाईं युवा जनशक्तिको विदेश आकर्षणमा आम्दानीको अवसरलाई कारण मान्छन्। एक त देशमा पर्याप्त रोजगारीको अवसर छैन, काम मिलिहाले पनि तलब-ज्याला विदेशका तुलनामा थोरै छ। यही आम्दानीको असमानताका कारण मजदूरी गर्ने मात्र होइन, सीप र व्यावसायिक दक्षता भएका युवा पनि मुलुक छोड्न खोजिरहेका छन्।

त्योभन्दा पनि महत्त्वपूर्ण चाहिं राजनीतिप्रति नेपाली समाजको नै आशा झन् हराएको प्रसाईंको तर्क छ। “राजनीति, प्रशासन सबै भ्रष्ट छन् भन्ने सबैलाई थाहा छ। मुलुक भविष्यसम्मै बन्दैन, सुधार हुँदैन भन्नेमा आमनागरिक विश्वस्त भएकाले अभिभावक नै छोराछोरीलाई गच्छे अनुसारका देश पठाउन चाहिरहेका छन्,” समाजशास्त्री प्रसाईंले भन्छन्।

अर्थशास्त्री खतिवडा पनि आर्थिकलाई नै युवा विदेशिने प्रमुख कारण मान्छन्। नेपालमा अर्थतन्त्रको स्वरूप नै आम्दानी र खर्चका बीचमा मेलमिलाप नहुने स्थितिमा पुगेको छ। निश्चित आम्दानी भएका घरपरिवारलाई आधारभूत चिजबिज किनेर घर चलाउनै कठिन पर्ने स्थिति छ। “जागीर गरेर घर, गाडी जोडौं, छोराछोरी राम्रोसँग पढाऔं वा रोग लाग्दा उपचार गरौं भन्न सकिने स्थिति छैन। यसैले धेरैलाई विदेशतिर धकेलिरहेको हो,” खतिवडा भन्छन्।

समाजशास्त्री गुरुङ दशक लामो द्वन्द्व र राजनीतिक संक्रमणपछि मुलुकले उन्नति र समृद्धिको बाटो समात्ने नागरिक आशा पूरा नभएपछि आमनिराशा बढेको बताउँछन्। उनका अनुसार कोभिड-१९ महामारीमोचनपश्चात् देशमा आर्थिक गतिविधिको सुस्तताका कारण व्यवसाय र रोजगारीको अवसर खुम्चिएकाले युवाको विदेश जाने क्रम बढेको छ। त्यसैमाथि सरकारको कमजोर कार्यसम्पादन, राजनीतिक अस्थिरता, लथालिङ्ग प्रशासन, यत्रतत्र भ्रष्टाचारले युवालाई देश छोड्न बाध्य पारिरहेको उनको तर्क छ। गुरुङ भन्छन्, “पछिल्लो समयमा त यो मुलुकमा बालबच्चाको भविष्य छैन भनेर उच्च मध्यमवर्गीय परिवार समेतले विदेशमा घरघडेरी किनेर दुई देशमा खुट्टा राख्न खोजेको देखियो।”

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा। पुष्कर बज्राचार्य मुलुकबाट युवा बाहिरिने अहिलेको प्रवृत्ति भयावह स्तरमा पुगिसकेको बताउँछन्। बज्राचार्य नेपाली समाज छिटो प्रतिफल चाहने, छिटो धनी हुने लालसाले ग्रस्त बनिसकेकाले देशको अवसरभन्दा विदेशै ताकिरहेको देख्छन्। “एकाध दशकअघिका तुलनामा मान्छेको अपेक्षा अनपेक्षित तरीकाले बढेको छ। उपभोग गर्ने प्रवृत्ति उसैगरी फेरिएको छ। त्यसले सबैलाई विदेशतिर आकर्षित गरिरहेको छ, नेपाली समाजका लागि यो चानचुने सङ्कट होइन,” बज्राचार्य भन्छन्।  (साभार हिमाल खबर)

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services