विदेश पठाउने भन्दै ठगी गर्ने चार जना पक्राउ
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई कठमाडौँ टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आलेमगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीका अनुसार पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाइ प्रतिष्ठित मार्केटमा मासिक रु दुई लाख तलबमा काम लगाइदिने भन्दै पीडितहरुबाट रु पाँच लाख ४५ हजार ठगी गरेका छन् ।यस्तै, सुनुवारले एक जनालाई क्रोएसिया पठाइ फुड प्याकिङमा मासिक रु एक लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु दुई लाख ठगी गरेको आरोप छ ।

त्यसैगरी खड्काले एक जनालाई कुवेत पठाइ बाइक राइडरमा मासिक रु ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटकपटक गरी रु एक लाख ९४ हजार ठगी गरेका आरोपमा पक्राउ गरिएको हो ।

यसैगरी गुरुङले एक जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक रु एक लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु तीन लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services