साउदीबाट फर्काइएका ४५ कामदार अलपत्र
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

काठमाडौँ । साउदी गएको पाँच महिनामै नेपाल फर्काइएका ४५ कामदार काठमाडौंमा अलपत्र परेका छन् । उनीहरू सुनसरी, रौतहट, बारा, धनुषा, रूपन्देही, कपिलवस्तुलगायत जिल्लाका हुन् । दुई दिनअघि नेपाल आइपुगेका उनीहरूलाई अनामनगरको नूर अपर्च्युनिटी ओभरसिजले साउदी पठाएको थियो ।नेपाल फर्केका कामदार साउदीस्थित कम्पनी सपोर्ट एन्ड सप्लाई वर्क्ससप फर अटो मेन्टिनेन्सअन्तर्गत दम्माम, उम्लुज र हेयलमा काम गर्ने गरी एकैदिन काठमाडौंबाट उडेका थिए ।

त्यहाँ मासिक तलब साउदी रियाल एक हजार र खानाका लागि मासिक थप तीन सय साउदी रियाल पाउने भनी स्पोन्सर टर्की अल्माराहीसँग सम्झौता भएको थियो । कम्पनीले नै खाने, बस्ने, काममा जान–आउन यातायातको सुविधा दिने, साउदीको कानुनअनुसार अतिरिक्त समय र बिदा दिने सम्झौतापत्रमा उल्लेख छ ।दैनिक आठ घण्टाका दरले साताको ६ दिन काम गर्ने गरी २ वर्षको करार अवधिमा गएका उनीहरूले साउदी पुगेपछि सम्झौताअनुसार काम पाएनन् । दिनको १० घण्टा काम गरेर साउदी रियाल मासिक चार सयमात्रै दिने भनियो । खानेबस्ने सुविधासमेत थिएन ।

साउदी गइसकेको भएर उनीहरू त्यति नै तलबमा काम गर्न थाले तर तलब पनि नियमित पाएनन् । कम्पनीले कहिले ५० रियाल, १०० रियाल, २०० रियाल दिन्थ्यो । प्लास्टिकमा खाना खान्थे । भुइँमै सुत्थे । सबै प्रक्रिया पुर्‍याएर गए पनि सम्झौताअनुसार काम र सेवासुविधा नपाएपछि उनीहरूले साउदीको अदालतमा मुद्दा हाले । अदालतले टिकट काटेर फिर्ता पठाइदिनु भन्ने फैसला गरेपछि कम्पनीले पाँच महिनामै फर्काइदिएको अर्का पीडित कामदार गजेन्द्र शर्माले बताए ।

ऋणपान गरेर विदेशिएका उनीहरू बेखर्ची भएर फर्केपछि पैसा फिर्ता पाउनुपर्ने भन्दै म्यानपावर कम्पनी धाउन थालेका छन् । कम्पनीले ढाँटेर पठाएको कारण दु:ख पाएको सर्लाहीका मतलुब शेखले बताए । ३१ वर्षीय शेखले साहुबाट दुई लाख ३० हजार ऋण गरेर विदेश गएका थिए । उनले ऋण लिएकोबाट १ लाख २५ हजार रुपैयाँ नूर अपर्च्युनिटी ओभरसिजलाई बुझाएको र बाँकी पैसा विदेश जाने प्रक्रिया गर्न काठमाडौं आउजाउ गर्दा खर्च भएको बताए । म्यानपावरले माग सुनुवाइ नगरेको भन्दै शेखले भने, ‘हामी केही जान्दैनौं, तिमीहरू फर्केर आयौ, जे मन छ त्यही गर भन्छ ।’

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services