महानगरले कोभिड–१९ विरुद्धको खोप सञ्चालन गर्ने
प्रकाशित मितिः3 years ago

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले साउन २१ गते आइतवारदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । यस अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो।

कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१,  मा साउन २१ र २२ गते २ दिन कार्यक्रम चलाइनेछ। यसैगरी वडा नं १२, १५, १९ र ३२ वडामा साउन २३ र २४ गते दुई दिन कार्यक्रम चलाइने तयारी रहेको कामपा स्वास्थ्य विभाग प्रमुख रामप्रसाल पौडेलले जानकारी दिनुभयो ।

खोप कार्यक्रममा १२ वर्षमाथि उमेर समूहका व्यक्तिलाई समावेश गरिने प्रमुख पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिरामी परेर शिथिल भएपछि मात्र उपचारका लागि जाने परिपाटीको अन्त्य गर्दै सम्भावित स्वास्थ्य जोखिम आकलन गरेर नागरिकको बचावटको लागि खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।’

अहिले कोभिडको सङ्क्रमणका बारेमा मानिसले खासै कुरा गरेका छैनन् । अस्पतालमा कोभिडकै कारण निमोनिया भएका बिरामी आउने गरेका छन् । उनीहरुको उपचार आईसीयूमा राखेर भइरहेको पनि पौडेलले भन्नुभयो ।

पटकपटक सञ्चालन गरिएको अभियानमा पनि केही नागरिकले पहिलो मात्रासमेत खोप नलगाएको पाएपछि कामपाले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो । केही वाडमा मात्र यस कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको भए पनि क्रमिकरुपमा अन्य वडामा पनि यस कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रमले पहिलो मात्रा लगाउनकै लागि छुटेकालाई समेट्ने र दोस्रो, तेस्रो र चौथो मात्रा नलगाउनेका लागि सहज हुनेछ ।

अहिलेसम्म ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने दोस्रो मात्रा लगाउने ८८ प्रतिशत, तेस्रो मात्रा ४३ प्रतिशत र चौथो मात्रा लगाउने छ प्रतिशत रहेका खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । यस कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि साउन १८ र १९ गते स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण र २० गते शनिवार खोप सञ्चालन हुनेछ ।

(Visited 22 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services