सिड्नी । नेपालको छिमेकी राष्ट्रहरु भारत र पाकिस्तानको राजनीति, जति तिक्ततापूर्ण छ, त्यसले विश्व क्रिकेटमा पनि महत्वपूर्ण प्रभाव परिरहेको छ, किनभने भारत र पाकिस्तान विश्व क्रिकेटको महाराष्ट्रहरु हुन् । यी दुई राष्ट्रको खेल, राजनीति जतिकै तनाबपूर्ण हुने गर्दछ ।यहि बीचमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीबीसीआई) का सचिव जय साहले सन् २०२३ को एसिया कपमा क्रिकेट खेल्न भारतीय टिम पाकिस्तानमा नजाने बताएका छन् ।२०२३ को एसिया कपको जिम्मेवारी पाएको पाकिस्तानमा भारतले भ्रमण नगर्ने बताएपछि प्रतियोगितामाथि नै प्रश्न उठेको छ ।मुम्बईमा भएको बीसीसीआईको ९१ औं वार्षिक साधारण सभामा पाकिस्तानको भ्रमणको विषयले प्रवेश पाएको थियो ।
बीसीसीआईका सचिव तथा एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय साहले एसिया कप तटस्थ मैदानमा खेल्नुपर्ने सुझाव दिएको बताएका छन् ।‘एसिया कप २०२३ तटस्थ मैदानमा हुनेछ । यो मैले एसीसीको अध्यक्षको नाताले पनि भनिरहेको छु । हामी पाकिस्तान जान सक्दैनौ र उनीहरु पनि भारत आउन सक्दैनन् । त्यसैले प्रतियोगिता तटस्थ स्थानमा हुनेछ’, साहले भनेका छन् ।
२०२३ मै भारतमा एकदिवसीय विश्वकप आयोजना हुँदैछ । तर पाकिस्तानले भने भारतमा आएर खेल्ने गरेको छ । पाकिस्तानका केहि पूर्व खेलाडीहरुले आफूहरु पनि भारत जान नहुने बताउँदै आएका छन् ।२०१६ को टि–२० विश्वकप खेल्न पाकिस्तान भारतमा आएको थियो । भारत र पाकिस्तानबीचको कुटनीतिक सम्बन्धका कारण यी दुई देशबीचको खेल सम्बन्ध राम्रो छैन । त्यसैले सन् २००५–०६ को सिजन यता भारतले पाकिस्तानको भ्रमण गरेको छैन् । यी दुईले सन् २०१५–१६ को सिजनमा तटस्थ मैदान श्रीलंकामा शृंखला खेलेका थिए । भारत र पाकिस्तान एकअर्काको देशमा जान तयार नहुने स्थितिमा, नेपाल पनि तटस्थ भूमिका रुपमा रहन सक्ने भएपनि, भौतिक संरचना ज्यादै कमजोर रहेको छ । एसिया कपका लागि कम्तिमा दुईवटा विश्वस्तरका खेलमैदान र अभ्यासका लागि २ देखि ३ वटा अतिरिक्त मैदान आवश्यक पर्दछ । तर, नेपालमा टियु खेलमैदानले मात्र एकदिवसीय मान्यता प्राप्त गरेको छ ।
मुलपानी क्रिकेट मैदान निर्माण सुरु गरेको बर्षौ भइसकेपनि त्यसले पूर्णता पाउन सकेको छैन, अहिले राष्ट्रिय स्तरका प्रतियोगिताहरु हुने गरेको भएपनि त्यहाँ थुप्रै संरचना र सुविधा थप गर्नपर्ने देखिएको छ । भौतिक संरचना र सुविधाकै अभावमा नेपालले संभावना भइकन पनि यस्ता ठुला देशहरुको प्रतियोगिता आयोजना गर्न चुकीरहेको अवस्था रहेको छ । चितवनमा धुमुर्स सुन्तली फाउण्डेशन क्रिकेट ग्राउण्ड बनाउने घोषणा गरेर काम पनि सुरु गरेपनि, पर्याप्त आर्थिक अभावमा निर्माण सम्पन्न भइसक्नुपर्ने बेलामा उक्त खेलमैदान पनि अलपत्र परेको अवस्था रहेको छ । नेपाल क्रिकेट संघ क्यानले नियमित कामका अतिरिक्त अब, भौतिक संरचनाको विकासका लागि सरकारले दबाब सिर्जना गर्नुपर्ने आवश्यकता रहेको छ ।एसिया कपका लागि, एसिसीले छनौट चरण गर्ने तयारी पनि गरिरहेको छ, जसमा नेपालसहित, युएई, हङकङ, ओमान, कुवेत लगायतका देशहरु हुनेछन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services