सन्दीपबिना नामिबिया टुरको तयारी
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी लिग २ अन्र्तगत नामिबिया र स्कटल्याण्डसँग एकदिवसीय सिरिजका लागि आगामी ३० नोभेम्बर देखि ९ डिसेम्बरसम्म नामिबिया भ्रमणको तयारीमा छ । एकदिवसीय मान्यतालाई रिटेन गर्नुपर्ने चुनौतीमा रहेको नेपाली क्रिकेटका लागि यो भ्रमण एकदमै महत्वपूर्ण छ तर, नेपालको हालसम्मकै सबैभन्दा सफल तथा अन्तराष्ट्रिय सेलिब्रेटी क्रिकेटर सन्दीप लामिछाने यो भ्रमणमा सहभागि हुनेमा धेरै आशंका उत्पन्न भएको छ । उनी माथि लागेको किशोरी बलात्कार आरोपको न्यायिक निरुपण नहुँदासम्म उनी राष्ट्रिय टिममा फर्कने छैनन्, कप्तानसमेत रहेका सन्दीपको अनुपस्थितिमा नेपाली टिम कस्तो रहला ? आम समर्थकहरु माझ जिज्ञासा उत्पन्न भएको छ ।

किशोरी बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने बिनै, नेपाली राष्ट्रिय क्रिकेट टोली नामिबिया भ्रमणमा निस्कने तयारीमा रहेको छ । न्यायिक निरुपणको प्रक्रियामा रहेको सन्दीपमाथिको मुद्धा, कहिले किनारा लाग्ने हो ? कुनै टुगो छैन, त्यसैले पनि नेपाली टोलीलाई, पूर्वनिर्धारित कार्यतालिकामा निस्कनुको विकल्प पनि छैन् । नेपाली क्रिकेटको भविश्य जोडिएको आइसीसी लिग २ मा ३६ खेलमध्ये २० खेल सकिँदा नेपालको अँकतालिका भने सुखद् हुन सकेको छैन । २० खेलबाट १७ अंक जोडेर सात देश सम्मिलित लिगको अंक तालिकामा नेपाल छैठौं स्थानमा छ। नेपालले लिगमा अझै १६ खेल खेल्न बाँकी रहेको छ । नामिबिया भ्रमणमा नेपालले आयोजक नामिबिया र अँकतालिकामा दोश्रोस्थानमा रहेको स्टकल्याण्डको सामना गर्दैछ । आइसीसीले उक्त सिरिजको खेलतालिका समेत सार्वजनिक गरेको छ, जसअन्र्तगत नेपालले डिसेम्बर २ र ७ तारिखमा नामिबिया र डिसेम्बर ४ र ८ तारिखमा स्टकल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

नामिबिया सिरिजमा, सन्दीप बिना नेपालको बलिङ निकै कमजोर हुनेछ । तीब्र गतिका बलर सोमपाल र करण केसीले ठिकठाक प्रर्दशन गरेपनि सन्दीपको स्पिन जादुकै कारण नेपालले विपक्षी टोलीलाई २ सय रनको हाराहारीमा समेट्दै आएको थियो । अन्तराष्ट्रिय खेलहरुमा सन्दीप बाहेक, नेपालका अन्य स्पिनरहरुले सम्झनालायक प्रर्दशन गर्न नसकिरहेको अवस्थामा, सन्दीपकै अनुपस्थिति हुँदा, स्पिन आक्रमण कस्तो हुने हो ? अनुमान लगाउन निकै कठिन हुनेछ । सन्दीपको विकल्पमा सुशान्त भारी, ललितनारायण राजवंशी, सागर ढकाल, बसिर अहमद जस्ता स्पिनरहरुले आफुलाई प्रमाणित गर्नुपर्ने बेला आएको छ । सन्दीपले अहिलेसम्म नेपालका लागि ३० एकदिवसीय खेलमा ६९ विकेट प्राप्त गरिसकेका छन् । यहि तथ्यांकले बताउंछ की, सन्दीप कुन स्तरको खेलाडी हो, भनेर । ग्लोबल स्टारको छवि बनाएका सन्दीप न्यायलयबाट दोषी प्रमाणित भए, उनको खेल करिअरमा सदाका लागि पूर्णविराम लाग्नेछ भने, निर्दोष भए, फेरि क्रिकेटमा फर्कनसक्नेछन् ।

सन् २०१८ मा एकदिवसीय मान्यता पाएसँगै नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिकाले आइसिसी क्रिकेट विश्वकप लिग–२ खेल्ने अवसर पाएका थिए। सन् २०२३ सम्म चल्ने यो सिरिजमा नेपालसहित प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्ने तालिका छ। जसमा ९ वटा त्रिकोणात्मक एकदिवसीय समावेश हुनेछन्।लिग–२ प्रतियोगिता विश्वकप छनोट मात्र नभएर एकदिवसीय टिमको अस्थायी मान्यता निर्धारण गर्ने भएकोले सबै टिमका लागि यो प्रतियोगिता निकै महत्वपूर्ण छ । लिग २ मा ओमानले ३६ खेलबाट ४४ अंक जोडेको छ । स्कटल्याण्डले २८ खेलबाट ४०, अमेरिकाले ३२ खेलबाट २९, युएईले २६ खेलबाट २७, नामिबियाले २२ खेलबाट २६ र अँकतालिकाको पुछारमा रहेको पपुवा न्यूगिनी भने रेलिगेशनमा पर्ने संभावना उच्च रहेको छ ।

 

(Visited 52 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services