सुदुरपश्चिम प्रदेशलाई हराउँदै गण्डकीको विजयी सुरुवात
प्रकाशित मितिः2 years ago

म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगिता सुरु भएको छ । बिहिबार सम्पन्न पहिलो तथा उद्घाटन खेलमा गण्डकी प्रदेशले लगातार सोझो तीन सेटमा सुदुरपश्चिम प्रदेशलाई हराउँदै विजय सुरुवात गरेको छ । उद्घाटनखेलको पहिलो सेटमा सुदुरपश्चिम प्रदेशलाई १८ अङ्कको विरुद्ध २५, दोस्रो सेटमा ८ को विरुद्ध २५ र तेस्रो सेट भने २२ का विरुद्ध २५ अङ्क ल्याएर गण्डकी प्रदेशले विजय हासिल गरेको छ ।

भलिबल प्रतियोगितामा सातवटा प्रदेश र विभागीय टिम गरेर कुल १० वटा टिमको सहभागिता रहेको छ । यसैगरी भोलिदेखि नै म्याग्दीको बेनीमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पनि सञ्चालन हुने भएको छ । तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय र एनआरएनसहित कुल ११ वटा टिमको सहभागिता रहने जनाइएको छ । आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगितामा देशैभरबाट ६ सयजना भन्दाबढी खेलाडी तथा अफिसियलहरु म्याग्दी आएका छन् । भोलिको पहिलो खेल कर्णाली प्रदेश र सशस्त्र प्रहरी बल (एपिएफ)को बीचमा हुने आयोजकले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले खेलकुद प्रतियोगिताले म्याग्दीको प्रचारप्रसार हुने बताए । उनले जिल्लामा पहिलोपटक महिला भलिबल र तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न पाउनु गौरवको विषय भएको बताउँदै म्याग्दीलाई खेलकुद सञ्चालन गर्ने अवसर दिएकोमा राष्ट्रिय खेलकुद परिषदलाई धन्यवाद समेत दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले म्याग्दीमा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले म्याग्दी जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त राखे ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष जितेन्द्रबहादुर चन्द, धवलागिरि गाउँपालिका म्याग्दीका अध्यक्ष प्रेमप्रसाद पुन, प्रमुख जिल्ला अधिकारी चिरन्जिवी राना, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र बेनी नगरपालिका–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ बोेलेका थिए । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व खेलाडी, अफिसियल, सरोकारवाला लगायतको टोलीले बाजागाजा, झाँकी र ¥यालीसहित बेनीबजारको परिक्रमा गरेको थियो । खेलकुद प्रतियोगिताको उद्घाटनसत्रमा जिल्लास्थित विभिन्न जातीय संघसंस्था तथा कलाकारहरुले गीतसङ्गीत सहितको नृत्युहरु प्रस्तुत गरेका थिए । कार्यक्रम बेनी नगरपालिकाका प्रमुख केसीको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीको स्वागत र जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

(Visited 51 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services