नेपाली क्रिकेटमा जिम्मेवार व्याटरको खोजी
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपाली क्रिकेटको मुख्य समस्या भनेको व्याटिङ हो । व्याटिङ चल्न नसक्दा थुप्रै खेलहरुमा नेपाल जितको मुखमा पुगेर पनि पराजित हुनुपरेको थियो । हुन त व्यािटङको समस्या अहिलेको भने होइन्, जब देखि नेपालले अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन थाल्यो, बलिङकै कारण थुप्रै सफलताहरु हासिल गर्न सकेको थियो । एशोसिएट राष्ट्रमा नेपाल व्याटिङ भन्दा पनि बलिङ र फिल्डिङ स्टेन्थ राष्ट्रका रुपमा परिचित छ । एकदिवसीय मान्यता पाएपनि व्याटिङमा अपेक्षाकृत सुधार हुन सकेको छैन । कुनैबेलाका व्याटिङका खम्बा पूर्वकप्तान पारस खड्का, शरद भेषाकरहरु अहिले सक्रिय खेल जीवनबाट टाढा छन्, नयाँ पुस्ताको आवागमनले व्याटिङमा सुधारको संकेत देखिएपनि, प्रर्दशनमा एकरुपता आउन सकेको छैन ।

नेपालले एकदिवसीय मान्यता प्राप्त गरेसँगै अहिले आइसीसी लिग २ मा प्रतिस्पर्धा गरिरहेको छ । आगामी चार बर्षलाई फेरि एकदिवसीय मान्यता रिटेन गर्नुपर्ने चुनौतीमा रहेको नेपालका लागि व्याटिङ नै मुख्य टाउको दुखाईको विषय बनेको छ । व्याटिङमा ओपनिङदेखि फिनिसिङ कसरी हुन्छ, भन्नेमा जित र हारको निर्धारण हुन्छ । नेपालका लागि ओपनिङमा आसिफ, कुशल र अर्जुनमध्ये कुनै दुईजनाले गर्ने निश्चित जस्तै छ, र, तीन नम्बरमा कसले व्याटिङ गर्छ भन्नेमा निकै चासो रहेको छ । नम्बरमा तीनमा, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, देव खनाल र रोहित पौडेल मध्ये एकले खेल्ने निश्चित छ ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केहि समय ओपनिङ समेत गरेपनि, धेरैले उनलाई नम्बरमा तीनमा उपयुक्त हुने बताउने गरेका छन् । उनको प्रर्दशनले पनि ज्ञानेन्द्र ओपनिङ भन्दा नम्बर ३ मै व्याटिङ गर्दा राम्रो हुने देखाउँदछ । हालै सम्पन्न केन्या भ्रमणका समयमा पनि ज्ञानेन्द्रले केहि खेलमा ओपनिङ गरेका थिए भने केहि खेलमा ३ नम्बरमा व्याटिङ गरेका थिए । क्रिजमा जमेर, परिस्थिति अनुसार आकर्षक शटहरु खेल्न सक्ने ज्ञानेन्द्र टिमको सबैभन्दा अनुभवी खेलाडी समे रहेकाले उनलाई ओपनिङ भन्दा मध्यक्रममा खेलाउँदा राम्रो हुने क्रिकेटका जानकारहरुको सुझाब छ ।

जतिबेला, ज्ञानेन्द्र मल्ल टिमबाट बाहिर रहेका थिए, स्कटल्याण्ड र अमेरिका भ्रमणका समयमा ३ नम्बरमा व्याटिङको अवसर पाएका थिए, युवा व्याटर तथा नेपाली अण्डर १९ टिमका कप्तान देव खनाल । अग्लो कदका खनालले स्कटल्याण्ड र अमेरिका भ्रमणका समयमा एक अर्धशतक समेत प्रहार गरेर राम्रो संभावना देखाएपनि लामो इनिङ खेल्न सकिरहेका छैनन् । ज्ञानेन्द्रको टिममा कमव्याकसँगै, दुईजना बीच निकै प्रतिस्पर्धा हुने संभावना छ । मिडियम पेशसँग राम्रो खेल्ने देवले मध्यक्रममा नेपालको विकेटलाई बचाउने भूमिका पनि खेल्नसक्ने छन् । अण्डर १९ टिममा मा ओपनरसमेत रहेका देवले केन्या भ्रमणका समयमा केहि खेलमा ओपनिङ समेत गरेका थिए ।

नेपाली व्याटरमध्ये अहिले सबैभन्दा फर्ममा रहेका खेलाडी हुन्, नेपाली टिमका उपकप्तान रोहित कुमार पौडेल । उनी नेपालका प्रमुख व्याटर समेत हुन् । भावी कप्तान समेत रहेका रोहितको व्याटिङमा धेरै हदसम्म नेपाली टिमको जित हार निर्भर रहेको छ । रोहितको विद्यमान फर्म र खेल्ने शैलीका कारण, उनले ३ नम्बरमा व्याटिङ गर्नुपर्ने आवाज पनि उठेको छ । अहिले उनले पाँचौ नम्बरमा व्याटिङ गर्ने गरेका छन् । चौथो नम्बरमा दिपेन्द्रसिंह ऐरीले व्याटिङ गर्ने भएपनि, उनको खराब फर्मका कारण तल्लोक्रममा धेरै दबाब पर्दै आएको छ । रोहितले ३ नम्बरमा व्याटिङ गरे, पाचौ नम्बरमा कसले व्याटिङ गर्ने भन्ने प्रश्न पनि निकै महत्वपूर्ण रहेको छ । कुनै कारणबस, देव र ज्ञानेन्द्रले ओपनिङ गरेको खण्डमा रोहितका लागि ३ नम्बर उपयुक्त मान्न सकिन्छ ।

(Visited 23 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services