दलहरुको निर्वाचन अभ्यास जनता माथिको भद्दा मजाक
✍ डिला खरेल
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपालमा यतिबेला निर्वाचनको माहोल छ । राजनीतिक दलहरु आफुअनुकुल र व्यक्तिगत स्वार्थ चुर्लुम्मै डुबेका कारण विभिन्न गठबन्धनमा आबद्ध भएर निर्वाचनमा होमिएका छन् । नेपालको आसन्न संसदीय निर्वाचनमा दलहरुको राजनैतिक दल अदलबदलको अभ्यास अत्यन्त लज्जास्पद, घिनलाग्दो र नेपाली जनता माथिको भद्दा मजाक हो भन्न सकिन्छ ।

नेपाली कांग्रेस र नेकपा माओवादीसहितको गठबन्धन अनि नेकपा एमाले र राप्रपाको केही ठाउँको गठबन्धन साथै मधेशवादी दललगायत अन्य दलको उक्त गठबन्धनहरुसँगको आश्रयलाई हेर्ने हो भने पनि यो कुरालाई पुष्टि गर्दछ ।

यो सम्पूर्ण रुपमा व्यापार हो । न कुनै सिद्धान्त मिल्छ, न कुनै निश्चित राष्ट्रिय मुद्धाका लागि यी दल मिलेका हुन् । प्रष्टरूपमा आफ्नो सांसद पद र राजनीतिक दलको अस्तित्व जोगाउनका लागि मात्र गठबन्धनको नाटक गरेका हुन् ।

विशेषगरी २०४७ पछि नेपालको राजनीति, राजनिति जस्तो रहेन । यो त राजनीतिक उद्योग प्रालि भयो । देउवा, प्रचण्ड, ओलीलगायत दलका भनिएका सर्वथा पटकपटक असफल नेता राजनीतिक दल प्रालिका डाइरेक्टर, अरु नेताकार्यकर्ता शेयर होल्डर भए र मुलुकको कार्यकारी पदमा रहेर कमाउ खाउको धन्दा बनाए । देशलाई माया गर्ने नितान्त कम र छिटफुट भए, जो ओझेलमा पारिए, परे, विडम्बना यही हो । र पनि नेता यिनै हुन् । खराब मध्येका कम खराब र चोर मध्येका कम चोर छान्नुको विकल्प छैन ।

हामी सबै मतदाताले यसपटकको निर्वाचनमा कृपया आफ्नो आत्मा भित्रको चैतन्य जागृत गर्नु पर्नेछ, विवेक प्रयोग गर्नु पर्नेछ । नेपालमा दल र दलका नेताको सदबुद्धि आओस् । चाँडो यो राजनीतिक उद्योग प्रालि बन्द होस् र स्वच्छ वहुदलीय लोकतान्त्रिक ईमान, जमान र नैतिकता, परोपकार र सेवभाव हावी भएको राजनीतिक संस्कार सुरू होस् । यो अभ्यास अहिल्यै गरिनु उपयुक्त हुन्छ ।

हाम्रो भविष्यको यात्रा पनि यही हो । हामीले यसपटक पनि सोचेनौँ भने, पुरानै अनुहारलाई दियौँ भने यो ५ वर्षमा हामीले मात्रै नभएर मुलुकले ठूलो क्षति बेहोर्नेछ ।

(भरतपुर चितवन घर भएका अस्ट्रेलियामा बस्दै आएका खरेल लेखा, वित्त र बैंकिङ विषयका प्राध्यापक हुन् ।)

(Visited 63 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services