दसैं कपको उपाधि यतीलाई
प्रकाशित मितिः3 years ago

एडिलेड ।यस वर्षको दसैं कपको उपाधि मेलबर्नस्थित यती फुटबल क्लबले हात पारेको छ । दक्षिणी अस्ट्रेलियामा दुई दिनसम्म चलेको उक्त प्रतियोगितामा यतीले मेलबर्नकै रोयल वेस्टर्न क्लबलाई ४–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । प्रतियोगितामा नेपालको राष्ट्रिय टीममा रहेका तथा टीमबाट खेलिसकेका १ दर्जनभन्दा बढी खेलाडीले भाग लिएका थिए ।दसैंको अवसरमा हरेक वर्ष यहाँस्थित एडिलेड खुकुरी क्लब ९एकेएफसी० ले एक दशकदेखि फुटबल लिग प्रतियोगिता आयोजना गर्दै आएको छ ।

मुख्य क्लबका साथै ३५ वर्षमाथिका खेलाडीहरूको भेट्रान क्लबका साथै बालबालिकाको समेत प्रतियोगिता आयोजना गर्ने गरिएको छ । प्रतियोगितामा भारतीय टीमसहित यस वर्ष दक्षिण अस्ट्रेलियाका १३ र मेलबर्नका ३ गरी १६ क्लबले सहभागिता जनाएका थिए भने ४ भेट्रान क्लबको समेत सहभागिता थियो ।यसैगरी बालबालिकाको दुई टीमले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगितामा नारी निकुञ्जको संयोजनमा महिलाका दुई टीम समेत सहभागी थिए । यहाँस्थित तेस्रो डिभिजन खेल्दै आएको एकेएफसीले अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका खेलाडीलाई अवसर सिर्जना गर्ने उद्देश्यले दसैंको अवसरमा प्रतियोगिता गर्दै आएको जनाएको छ ।

शनिबार र आइतबार दुईदिनसम्म लिग चरणमा खेलाइएको प्रतियोगिताको फाइनलमा यती फुटबल क्लबका तर्फबाट राष्ट्रिय खेलाडी जगजीत श्रेष्ठ, आशिष लामा, सुमन लामा र विमल रानाले गोल गरेका थिए । प्रतियोगिताको दोस्रो हाफमा रोयल वेस्टर्न क्लबका रवि थिङले सान्त्वना गोल फर्काएका थिए ।यतीका तर्फबाट गोलकिपर रहेका नेपाली राष्ट्रिय टोलीका गोलकिपर एलन न्यौपानेले प्रतियोगिताभर एक गोल मात्र खाँदै उत्कृस्ट गोलकिपरको उपाधि समेत पाए । प्रतियोगिताको उपाधिसँगै यतीले ६ हजार ५ सय नगद अस्ट्रेलियन डलर, ट्रफी र मेडल समेत हात पारेको थियो भने उपविजेता रोयल वेस्टर्नले २ हजार डलर नगद, ट्रफी र मेडलमा चित्त बुझाउन परेको थियो ।प्रतियोगिताको उत्कृष्ट खेलाडी र उच्च गोलकर्ताको उपाधि आशीष लामाले पाए भने उत्कृष्ट मिडफिल्डर राजन गुरुङले हात पारे ।

यसैगरी उत्कृष्ट मिडफिल्डर जगजीत श्रेष्ठ भएका थिए । उत्कृष्ठ खेलाडी चुनिएका सबैले जनही २ सय डलर नगद र ट्रफीसमेत जितेका थिए ।यसैगरी भेट्रानतर्फको उपाधि भारतीय फुटबल क्लब एसबीएसले ब्रदर युनाईटेड फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै जितेको थियो । उसले ८ सय डलर नगद, ट्रफी र मेडल समेत हात पार्‍यो । यसैगरी, बालबालिकालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको बालबालिकाको फुटबल प्रतियोगिताको उपाधि नेपाली विद्यालयले जितेको थियो ।क्लबका महासचिव राजन लामिछानेले हरेक वर्ष आयोजना गरिने यस प्रतियोगिताले नेपाली फुटबललाई स्थानीयस्तरमा चिनाउन र भविष्यमा नेपाली खेलाडीलाई यहाँका स्थानीय क्लबमा अवसर सिर्जना गर्न मद्दत पुर्‍याउने जनाए । उनले करिब एक दशकदेखि प्रतियोगिता आयोजना भइरहेको भन्दै यहाँस्थित दोस्रो पुस्तालाई समेत फुटबलप्रति आकर्षित गर्न यस प्रतियोगिताले मद्दत पुर्‍याइरहेको सुनाए ।

प्रतियोगितामा राष्ट्रिय टीमका पूर्व तथा वर्तमान खेलाडीका साथै नेपालको ए डिभिजन खेलिरहेका एक दर्जनभन्दा बढी खेलाडीको सहभागिता थियो । प्रतियोगितालाई उनीहरूको उपस्थितिले अझ रोचक बनाएको थियो । प्रतियोगितामा एलन न्यौपाने, जगजीत श्रेष्ठ, आशीष लामाका साथै राजन गुरुङ, सुमन लामा, विमल राना लगायत परिचित खेलाडीको सहभागिता थियो । (साभार: इकान्तिपुर )

(Visited 20 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services