
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि आएका गैरआवासीय नेपालीको एनआरएनए स्पोर्टस् एकेडेमीका खेलालीले बिचल्लीमा परेको गुनासो गरेका छन् ।एकेडेमीका खेलाडी सागर पुन मगरले आफूसहित सात जना खेलाडीलाई अमेरिका फर्कनु पर्ने भए पनि एनआरएनएले बिचल्लीमा पारेको बताए ।
‘हामीलाई यहाँ बोलाएर खेल्यौं तर अब हामी फर्कनु पर्ने बेला वास्तै भएन । ७ जना खेलाडी अड्ककिएका छौं । कसैको परीक्षा छ, कसैको काममा जानुपर्नेछ, कोहीको क्रिकेट सेसन सुरु हुँदैछ। आफ्नो कर्मभूमिबाट यहाँ बोलाएर सबै जनालाई यस टिमका जिम्मेवार भनिएकाहरुले बिचल्लीमा पारे’, पुनले भने ।
खेलाडीको सबै व्यवस्था एकेडेमीबाटै हुने भनिए पनि आउँदा पनि आफैं टिकट लिएर आएको र फर्किंदा पनि टिकट नदिइएको पुनले बताए ।खेल जारी रहँदादेखि नै फर्किने टिकटको व्यवस्थापन गरिदिन माग गरे पनि अहिलेसम्म संस्थाले झुलाएको उनको भनाइ छ ।एनआरएनएको टोलीले नवौं राष्ट्रिय खेलकुदको विभिन्न खेलमा सहभागिता जनाउँदै छ । अन्य खेलमा सहागी हुने खेलाडीलाई पनि यस्तो समस्या हुनसक्ने भन्दै आफूले समस्या बाहिर ल्याएको पुनले बताए ।

‘हामीले त एनआरएनएको वास्तविक रुप देख्यौ नै एक खेलाडी रहेकोले यस एनआरएनए टिमसँग कुनै पनि खेलाडी आबद्ध नभइदिनु होला,’ पुनले भने, ‘लामो समयसम्म सहेर बसे पनि अब अति भएर यस विषयलाई बाहिर ल्याएको हुँ ।’टिमका धेरै सदस्यहरु आफ्नो व्यक्तिगत खर्चमा नेपाल आएको तर यहाँ केही खर्च समेत नदिएको उनले बताए ।नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।पुरुष क्रिकेट भने काठमाडौंमा सम्पन्न भइसकेको छ । जसमा एनआरएनले पुरुष क्रिकेटमा पदक जित्न सकेन ।एनआरएन पुरुष क्रिकेट अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशसँग पराजित भएको थियो। साभार अनलाइन खबर
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services