
काठमाडौं । यस वर्षको दसैं मनाउन करिब १८ लाखले उपत्यका छाडेका छन् । कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौं उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूले जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरका अनुसार असोज १ गतेदेखि आइतबारसम्म करिब १८ लाख बढी यात्रुले उपत्यका छाडेका छन् । यो निजी, भाडाका गाडी र सार्वजनिक सवारीमा बाहिरिने यात्रुको संख्या हो । सोमबार साँझसम्म १९ लाखले उपत्यका छाड्ने अनुमान रहेको उनले बताए ।दसैंका लागि घर जाने यात्रुको भीड कोटेश्वर, नयाँ बसपार्क र कलंकीमा सोमबार बिहानसम्म लागेको छ । कोभिडका कारण दुई वर्षसम्म चाडबाड मनाउन घर जान नपाएकाहरू यो वर्ष घटस्थापनाबाटै उपत्यका छाड्न थालेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरका अनुसार गत वर्ष करिब १६ लाख यात्रुले उपत्यका छाडेका थिए । ‘कोभिडपछि उपत्यकाबाट बढी यात्रु यही दसैंमा बाहिरिएका हुन्,’ स्वाँरले भने, ‘सोमबारसम्म १९ लाख यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको छ ।’ यात्रुको चाप बढी हुँदा सवारी व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ । सुदूरपश्चिम जाने यात्रुको संख्या धेरै हुँदा त्यो क्षेत्रका लागि सवारी व्यवस्थापनमा समस्या भएको हो । ‘काठमाडौंमा चल्ने सार्वजनिक सवारीसाधनलाई अपुग भएको ठाउँमा पठाइएको छ,’ उनले भने । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि शनिबार साँझसम्म ६२ हजार ४४ सार्वजनिक सवारी बाहिरिए भने ४ लाख ६९ हजार ३ सय ७ यात्रुले उपत्यका छाडेका छन् ।
धनगढीकी कल्पना रोकाय दसैंका लागि घर जान भन्दै टिकट लिन गत शुक्रबार सबेरै नयाँ बसपार्क पुगिन् । बिहान ३ बजे लाइन बसेकी उनले ८ बज्दासम्म टिकट पाइनन् । टिकट नपाएपछि काउन्टरका कर्मचारीलाई सोध्दा बस छैनन्, कसरी टिकट दिऊँ भन्दै पन्छिए । तर त्यहीं व्यवसायीले ३५ सय दिए टिकट छ भनिरहेका थिए । जबकि यातायात व्यवस्था विभागले काठमाडौंदेखि धनगढीसम्मको भाडा १९६२ रुपैयाँ तोकेको छ । सुपर एसी र एसी गाडी भन्दै व्यवसायीले बढी भाडा लिने गरेका छन् ।
‘प्रहरीले बढी भाडा लिनेलाई कारबाही गर्नुको साटो उल्टै मयूर यातायातमा ३ हजार रुपैयाँको टिकट काटेर जान दबाब दिइरहे,’ रोकायले भनिन्, ‘उक्त गाडीमा जानेको नाम मात्र टिपिएको थियो, टिकट दिएको देखिएन, बिनाटिकट नै यात्रुलाई जबर्जस्ती गाडी चढ्न दबाब दिइएको थियो ।’ प्रहरी र व्यवसायीले गाडी छैन भन्दै यात्रुलाई डर देखाएर बढी भाडा लिई गाडी चढ्न दबाब दिएको उनको आरोप छ । ‘सोर्स लगाएर आउनेले तुरुन्त टिकट पाउँथे,’ उनले भनिन्, ‘निकै कष्ट सहेर धनगढी रुटमै चल्ने बसको टिकट पाएँ ।’ जिम्मेवार निकाय लाचार बन्दा व्यवसायीले यात्रुसँग मनपरी भाडा असुलिरहेको उनको भनाइ छ । ‘काउन्टरनजिकै यात्रु सहायता कक्ष राखिएको छ, त्यहीं बस्ने प्रहरीले बढी भाडा लिन र गाडी चढ्न दबाब दिन्छन्,’ उनले भनिन्, ‘कारबाही गर्ने निकायको हालत यस्तो छ, यात्रुले कसलाई गएर गुनासो गर्ने ?’ समस्या रोकायको मात्र होइन, पूर्वदेखि पश्चिम जाने सबैजसो यात्रुले तोकिएको भन्दा बढी भाडा तिरेर गन्तव्यमा पुगे ।
केही यात्रु भने गाडीमा सिट नहुँदा टुल, मुडामा बसेर घर जान बाध्य भए । टिकट नपाएपछि रिजर्भमा जाने यात्रु गाडी व्यवसायीले जति पैसा माग्छन्, त्यति तिर्न बाध्य छन् ।टिकट नपाएपछि यात्रु दोब्बर भाडा तिरेर घर जान बाध्य छन् । गुनासो गर्दा कसैले चासो नदिएको यात्रुहरू बताउंछन् । ‘टिकट लिन जाँदा काउन्टरका कर्मचारी प्रहरीका डीआईजी, एआईजी र मन्त्री, नेताको बुकिङ छ, त्योभन्दा अरूको टिकट छैन भन्दै कुरै सुन्दैनन्,’ काठमाडौंबाट इलाम जाने एक यात्रुले भने, ‘निकै प्रयास गरें, इलामसम्मको टिकट नपाएपछि झापा बिर्तामोडसम्मको मात्र टिकट पाएँ ।’ यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने बढी भाडा लिनेलाई कारबाही गरेको दाबी गरिरहेका छन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services