नेपाली राष्ट्रिय फुटबलरको गन्तव्य बन्दै अस्ट्रेलिया
प्रकाशित मितिः3 years ago

काठमाडौँ । नेपालका राष्ट्रिय फुटबलरका लागि पछिल्लो समय अस्ट्रेलिया आकर्षक गन्तव्य बनिरहेको छ। नेपाल सुपर लिग अनिश्चित बन्दै गएपछि राष्ट्रिय फुटबल टिमबाट खेलेका खेलाडी समेत पछिल्लो समय अस्ट्रेलियाको स्थानीय टिमबाट खेल्न त्यसतर्फ गइरहेका छन्।

यसक्रममा शनिबार ६ जना फुटबल खेलाडी अस्ट्रेलियाको मेलवर्न पुगेका छन्। अस्ट्रेलिया जानेमा राष्ट्रिय टिमबाट खेलिसकेका राजन गुरुङ, मिक्चेन तामाङ, अमिर श्रेष्ठसहित रवी थिङ, रुमेश बर्तौला र रोहित कार्की अस्ट्रेलिया पुगेका हुन्।राजन र अमिर राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी हुन्। यस्तै मिक्चेनले पनि गत वर्ष मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिममा डेब्यूको अवसर पाएका थिए। बाँकी खेलाडी पनि ए डिभिजन लिग खेलिसकेका खेलाडी हुन्।

उनीहरूलाई मेलवर्नको स्थानीय नेपाली क्लब रोयल वेस्टर्नले स्वागत गरेको छ। क्लबले त्यहाँको स्थानीय लिग सिलिकन स्ट्याक प्रिमियर लिग २०२२ खेलेको थियो। लिगमा १० क्लबबीच प्रतिस्पर्धा भएकोमा रोयल २१ अंकसहित छैटौं भएको थियो।यस्तै क्लबले आगामी महिना एक्स्पर्ट कप २०२२ आयोजना गर्दैछ। गत साउनमा एन्फा एकेडेमीका उत्पादन हेमन्त थापा मगर फुटबलमा भविष्य खोज्दै अस्ट्रेलिया गएका थिए।२४ वर्षीय हेमन्तले सन् २०१६ मा भारतविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए। पछिल्लो समय उनले बन्द प्रशिक्षणमा स्थान बनाए पनि राष्ट्रिय टिममा स्थान बनाउन भने सकिरहेका थिएनन्।   (भिडियो न्यूजका लागि लिंकमा जानुहोला ।)

नेपालका सबै उमेर समूहबाट खेलेका हेमन्तले सन् २०७२ मा काठमाडौंमा भएको साफ यू–१८ च्याम्पियनसिप जित्दा खेलेका थिए। साउनमै विमल राना अस्ट्रेलिया पुगेका थिए। फरवार्ड रानाले गत सिजन मनाङबाट लिग खेलेका थिए।गत असारमा फरवार्ड दर्शन गुरुङ, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर नवीन गुरुङ अस्ट्रेलियाको मेलवर्न पुगेका थिए। तीनै जना मेलवर्नको युनाइटेड एफसीमा आबद्ध भएर एमसीएसए प्रिमियर लिग २०२२ खेलेका थिए।

पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ। यो वर्ष मात्रै राष्ट्रिय टिमबाट खेलेका १० खेलाडी अस्ट्रेलिया गइसकेका छन्।यसअघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए। त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिष अघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए।तीन वर्षअघि मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एनल न्यौपाने अस्ट्रेलिया गएका थिए। यस्तै जगजित श्रेष्ठ, विवेकप्रताप पन्त र विमल बस्नेत पनि अस्ट्रेलियामा स्थानीय टिमबाट खेलिरहेका छन्। (साभार सेतोपाटी डटकम)

 

(Visited 36 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services