
मनाङ : हिमाली जिल्ला मनाङमा शिक्षण संस्थाअनुसार विद्यार्थीको सङ्ख्या भने घट्दो छ ।
जिल्लाका शिक्षण संस्थामा विद्यार्थी सङ्ख्या घट्दो क्रममा छ । शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय मनाङका अनुसार कक्षा बढ्दै गएपछि कतिपय विद्यालयमा विद्यार्थी रित्तिने अवस्थामा पुगेका छन् ।
एकाइ कार्यालयको तथ्याङ्कअनुसार कक्षा १ देखि ५ सम्मका मनाङ ङिस्याङ गाउँपालिकामा ५४, सदरमुकाम चामे गाउँपालिकामा ५५, नासों गाउँपालिकामा ८४ र नार्पाभूमि गाउँपालिकामा १० विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपार्इंले जानकारी दिए।
इकाइ प्रमुख चपाईंले कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीको सङ्ख्या मनाङ ङिस्याङ गाउँपालिकामा कूल ७२ जना रहेका छन् । चामे गाउँपालिकामा एक सय ७६, नासों गाउँपालिकामा एक सय ७८ र नार्पाभूमि गाउँपालिकामा शून्य रहेको जानकारी दिए। ‘इसीडीमा विद्यार्थी बढी भए पनि कक्षा बढ्दै गएपछि घट्ने गरेको छ,’ उनले भने, ‘शिक्षातर्फ विद्यार्थीलाई आकर्षित गर्न विभिन्न योजना दिवा खाजा तथा आवासीय व्यवस्था गरिएको छ । विद्यालयमा विद्यार्थी घट्ने क्रममा छन् ।’
विशेषगरी कक्षा ६ देखिमाथिका कक्षामा विद्यार्थी घटेको शिक्षाको तथ्याङ्कले देखाएको छ । मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने चपाईंले बताए । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी बाहिरिएको हुनसक्ने उनको भनाइ छ ।
जिल्लाका चार पालिकाका विभिन्न विद्यालयमा विद्यालय भवन र शिक्षक छ विद्यार्थी छैनन् । ‘यस्तो अवस्थामा विद्यालय बन्द छन्,’उनले भने,’केही विद्यालयमा इसीडीका विद्यार्थीबाहेक अन्य विद्यार्थी नै छैनन् ।’
जोखिमरहित तवरबाट बालबालिकालाई पठनपाठनको व्यवस्था भएमा आफूसँगै राखेर बालबालिका पढाउने आशा रहेको अभिभावकको भनाइ छ । मनाङ ङिस्याङ गाउँपालिकामा एक सय १७ विद्यार्थीको पठनपाठनका लागि ४१ शिक्षक रहेका छन् ।
चामे गाउँपालिकामा दुई सय ४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासों गाउँपालिकामा एक सय ५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमि गाउँपालिकामा २५ विद्यार्थीका लागि नौ गरी कूल एक सय ६१ शिक्षकले उनीहरुलाई पठनपाठन गराउँदै आएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services