म्याग्दीको मनमोहक बराहताल ओझेलमा
प्रकाशित मितिः3 years ago

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित पुथा र चुरेन हिमालको फेदीमा रहेको मनमोहक भुजुङ्गे बराहताल ओझेलमा परेको छ । समद्री सतहबाट करिब चार हाजर चार सय मिटर उचाइमा अवस्थित ताल पर्यटकीय सम्भावनाले महत्वपूर्ण रहे पनि प्रचार–प्रसारको अभावले ओझेलमा परेको हो ।

दिउँद र वर्षायाम सधँै सदावहार पानी नसुक्ने ताल अत्यन्तै आकर्षक रहेको छ । निलो रङमा  सुन्दर, शान्त र मनोरम देखिने यस तालको दृश्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । गुर्जादेखि चुरेन र पुथा हिमालको आधार शिविर जाने पदमार्गमै पर्ने भए पनि आवश्यक मात्रामा प्रचार–प्रसार नभएकाले यहाँको महिमा उजागर हुन नसकेको स्थानीय युवा टुकप्रसाद छन्त्यालले बताए ।

“यो अहिलेसम्म लुकेको छ, यहाँको सम्भावनालाई बाहिर ल्याउन सके गुर्जा आउने जो–कोही पनि यो तालसम्म पुग्न सक्छन्, यसपटक हामीले यस क्षेत्रको पर्यटकीय सम्भावना उजारमा टेवा पु¥याउने गरी लघुकथाको दृश्यसमेत यसै क्षेत्रमा पुगेर छायाँङ्कन गरेका छौँ”, उनले भने ।

गुर्जा गाउँबाट यस तालमा पुग्न करिब आठ घण्टा र तालबाट आधार शिविर पुग्न तीन घण्टा पैदलयात्रा गर्नुपर्छ । चुरेन र पुथा हिमालको आधार शिविर पुग्ने पदमार्ग सञ्चालनमा आएसँगै आधार शिविर पुग्ने विदेशी पर्यटक तालमा जाने गरे पनि उल्लेख्य मात्रामा पर्यटक यस क्षेत्रमा भित्रिन नसकेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

उनले विगत दुई वर्षमा गाउँपालिकामार्फत पहिलो वर्ष रु सात लाख र दोस्रो वर्ष रु ११ लाख बजेट विनियोजन गरेर गुर्जाबाट तालसम्मको पदमार्ग निर्माण भएको जानकारी दिए । “तालसम्म पुग्न कुनै कठिनाइ नै छैन, गुर्जा आइपुग्ने जो–कोही पर्यटक सजिलै पुग्न सक्छन्, त्यहाँबाट आधार शिविर पुग्ने पदमार्गलाई थप स्तरीय बनाउनका लागि पालिकालगायत अन्य निकायमार्फत बजेट व्यवस्थापनका लागि पहल गरेका छौँ”, अध्यक्ष छन्त्यालले भने।

भुजुङ्गे बराह ताल करिब छ सय मिटर लाम्बाइ र साढे दुई सय मिटर चौडाइ भएको क्षेत्रफलमा रहेको अनुमान छ । यस बराहतालमा जनैपूर्णिमाको अवसरमा भेडीगोठालाहरूले पूजाआजा गर्दै आएका छन् । जिल्लामा सडक सञ्जालले नजोडिएको एकमात्रै वडा गुर्जामा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङबाट एक दिनको पैदलयात्रा गर्नुपर्छ ।

(Visited 44 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services