बेनी–जोमसोम सडक सास्ती र जोखिम
प्रकाशित मितिः2 years ago

मुस्ताङ । पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ ।

सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो ।

७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपालीका अनुसार जलेश्वर, राहुघाट, बैसरी, नौनीबगर, जलथले, रुप्से र काभ्रेभिरको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको हो ।

“कुन ठाउँमा कति बेला पहिरो खस्छ थाहै हँुदैन”, उनले भने, “खसेको पहिरो पन्छाउँदै सवारीसाधनलाई गन्तव्यमा पठाउँदै गरिएको छ ।” राहुघाटमा पहिरो खसेर सडक साँघुरिने र हिलोमा फस्ने समस्या छ ।

बैसरीमा सडक माथिबाट केही दिनयता निरन्तर पहिरो झरिरहेको छ । पहिरो खस्न रोकिएको समयमा सवारीसाधन पार गराउने गरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको नौनीबगर, जलथले, रुप्से र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पनि पहिरोको समस्या छ । यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । बीच बाटेमै अलपत्र पर्नुपर्ने अथवा गाडी परिवर्तन गर्नुपर्ने समस्या छ ।

जोमसोमबाट शनिबार बेनी आइपुग्न काठमाडौँका तीर्थ श्रेष्ठले पहिरोका कारण पूरै दिन लागेको बताए ।

“अघिपछि जोमसोमबाट चार घण्टामै बेनी आइपुगिन्थ्यो”, उनले भने, “यसपालि पहिरोले बिहान ६ बजे हिँडेको साँझ ७ बजेमात्र बेनी आइपुगियो ।”

राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम सडक स्तरोन्नतिको क्रममा रहेको छ । मुस्ताङको घाँसा देखि जोमसोम खण्डको पुल नभएको ठाउँ बाहेकका ठाउँमा सहज यातायात सञ्चालन भइरहेको छ ।

भिरालो र कमजोर भूगोल भएको म्याग्दी खण्डमा विस्तार गरिएको सडक भत्किएर हिलाम्मे बनेको छ । कालोपत्र गर्ने तयार भएको सडक पनि पहिरोले साघुरिएको छ । कतिपय ठाउँमा ट्रक र ठूला वस एकतर्फी मात्र आवत जावत गर्न सक्छन् ।

बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक विभाग र ठकेदार कम्पनीका डोजर लगायत उपकरणलाई तयारी अवस्थामा राखेर पहिरो पन्छाउने र यातायात सञ्चालन गर्ने गरिएको बताए ।

म्याग्दीको रुप्सेबाट मुस्ताङको घाँसासम्मको खण्डमा धेरै पहिराको समस्या देखिएको उहाँको भनाइ छ ।

दुई वर्षअघिको बाढीले रुप्से र घाँसाको खहरेखोलामा निर्माणाधीन पुलको जगनै बगाएको थियो । बेगखोला र रुप्सेमा बाढी आउँदा सवारीसाधन आवतजावत गर्न सक्दैनन् ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services