को होला नेपाली क्रिकेट टिमको कप्तान ?
प्रकाशित मितिः4 years ago

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका सन्दीप लामिछाने किशोरी बलात्कार काण्डमा मुछिएका छन् र उनी विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बन गरेको छ । क्रिकेटमा ग्लोबल स्टारको छवि समेत बनाएका सन्दीपको अनुपस्थितिमा टिमको नेतृत्व कसले गर्ला ? अब हुने प्रतियोगिताहरुमा नेपालको प्रर्दशन कस्तो रहला ? भावी कप्तान कसलाई बनाउँदा ठिक होला ? यहि विषयमा केहि चर्चा गरौँ ।
सन्दीप, एक सामान्य क्रिकेटर मात्र थिएनन् ।

पछिल्लो करिब एक दशक नेपाली क्रिकेटमा सबैभन्दा चर्चित र सफल क्रिकेटर रहेका सन्दीपले विश्वका अधिकांश ठुला साना फ्रेन्चाइज लिगहरुमा सहभागिता मात्र जनाएनन्, दमदार खेल कौशल मार्फत व्यक्तिगतसँगै देशको पहिचान चिनाउन सफल भए । सन्दीपले पछिल्लो समय नेपाली राष्ट्रिय टोलीको समेत नेतृत्व गरिरहेका थिए । उनको नेतृत्वमा टिमले मिश्रित नतिजा निकालिरहेको थियो । तर, केहि दिनअघि सन्दीप, किशोरी बलात्कार मुद्दामा फसेसँगै उनी विरुद्ध अदालती प्रक्रिया अघि बढेको छ ।

गत पुसमा ज्ञानेन्द्र मल्ललाई प्रतिस्थापित गर्दै सन्दीप राष्ट्रिय टिमको कप्तान नियुक्त भएका थिए । अनुशासन विपरीत काम गरेको भन्दै क्यानले तत्कालीन कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाएको थियो । उनीहरू दुवै अहिले राष्ट्रिय टोलीमा भए पनि पुरानो जिम्मेवारीमा छैनन् ।सन्दीपको कप्तानीमा नेपालले मिश्रित नतिजा निकालिरहेको थियो । उनी बिस्तारै परिपक्व बन्दै गइरहेका थिए । व्यक्तिगत प्रदर्शनमा एकपछि अर्को उत्कृष्टता पस्किरहेका थिए । तर, किशोरी बलात्कारको आरोपले उनको व्यक्तिगत जीवन बिथोलिएको छ नै, सिंगै नेपाली क्रिकेट जगत् खल्बलिएको छ ।विगत आधा दशकदेखि सन्दीप नेपाली क्रिकेटका एक अभिन्न पात्र थिए । नेपालले प्राप्त गरेका हरेक अन्तर्राष्ट्रिय सफलतामा जोडिएका छन् उनी । क्रिकेटबाट उनले जति नाम कमाएको नेपाली खेलाडी अर्को छैन । तर, व्यक्तिगत जीवनको एउटा घटनाले उनको करिअर धराशायी बन्ने खतरा पैदा भएको छ ।

सन्दीप निलम्बनमा परेपछि र तत्काल टोलीमा फर्कने अवस्था कम देखिएपछि नेपाली टोलीको नयाँ कप्तान को बन्नेमा बहस सुरु भएको छ । युवा खेलाडीहरूको वर्चस्व रहेको टिममा क्यानसँग कप्तानका विकल्पहरू अत्यन्त सीमित छन् ।पूर्व कप्तान ज्ञानेन्द्र मल्ल कारबाहीमा परेसँगै केही समय राष्ट्रिय टिमबाटै बाहिर भए । ओमानमा भएको टी–२० विश्वकप छनोट र यूएईमा भएको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलापछि टोलीमा पर्न छाडेका ज्ञानेन्द्रले यसै महिनाबाट कमब्याक गरेका छन् । नयाँ प्रशिक्षक मनोज प्रभाकर ज्ञानेन्द्रसहितका खेलाडीलाई टोलीमा समेटेर केन्या भ्रमणमा निस्किएका थिए । केन्या भ्रमणमा उनी एक दिवसीय शृखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

ज्ञानेन्द्र पनि फेरि कप्तानी पाएको खण्डमा जिम्मेवारी स्वीकार्न तयार देखिएका छन् । ‘मैले सधैँ भन्दै आएको छु, मैले टिमलाई जस्तो भूमिकामा आवश्यक पर्छ, योगदान दिन तयार छु,’ ‘तर, मैले नै पाउनुपर्छ भन्ने होइन ।’ उनले सञ्चारमाध्यमहरुलाई भनेका छन् ।ज्ञानेन्द्रप्रति क्यान सकारात्मक नभएको अवस्थामा दोस्रो विकल्प दीपेन्द्र सिंह ऐरी हुन् । यसअघि टिमको उपकप्तान रहेका ऐरी ज्ञानेन्द्रसँगै कारबाहीमा परेका थिए । यद्यपि, खेलाडीको रूपमा उनले राष्ट्रिय टिमबाट आफ्नो स्थान गुमाएका छैनन् ।

ब्याटिङसँगै बलिङबाट पनि खेल जिताउन सक्ने भएकाले दीपेन्द्र अहिले नेपाली टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी मानिन्छन् । उनी टिमका सिनियर खेलाडी पनि हुन् । तर, कप्तानी दिने सवालमा उनीप्रति पनि क्यान त्यति सकरात्मक देखिएका छैनन् र क्यानसँग भएको तेस्रो विकल्प भनेको हालका उपकप्तान रोहितकुमार पौडेललाई कप्तानमा उकाल्ने हो । पौडेल अहिले नेपाली टिमका सर्वोत्कृष्ट ब्याट्सम्यानका रूपमा दरिएका छन् । एकपछि अर्को खेलमा उनको ब्याटिङ निखारिँदै गएको छ ।सन्दीपको अनुपस्थितिमा हालै केन्याविरुद्धको एकदिवसिय शृङ्खलामा रोहितले कप्तानी गरेका थिए । तीन खेलको उक्त श्रृंखला नेपालले क्लिन स्वीप गरेको थियो भने, रोहितको व्यक्तिगत प्रदर्शन पनि उत्कृष्ट रह्यो । यसले पूर्ण कालिन कप्तानका रूपमा उनको दाबेदारीलाई बलियो बनाएको छ ।

(Visited 54 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services