
मेलवर्न । मेलबर्नको मुख्य स्थान फेडेरेसन स्क्वायर शनिबार बिहानैदेखि नेपालमय बन्यो । सहरमा फरफराइरहेका नेपाली झन्डासँगै सयौं नेपालीले एकाबिहानै आफ्नो वेशभूषासहित नगर परिक्रमा गर्दा वरपर रहेर फोटो खिच्ने र ताली बजाएर स्वागत गर्नेको संख्या निकै थियो ।त्यसका साथै नेपाली बाजागाजा र जातजातीका अलगअलग पहिचानसहितका झाँकीले त मेलबर्न सहर नै ‘सानो नेपाल’ बनेको भान हुन्थ्यो ।
अस्ट्रेलियाको मेलबर्नमा सनिबार सम्पन्न नेपाल महोत्सवले मेलबर्नवासीलाई नेपालको कलासंस्कृती, परम्परा र खानाको प्रत्यक्ष स्वाद मात्र चखाएन्, नेपाल घुम्न जान प्रेरित समेत गर्यो । महोत्सवमा सहभागी अन्य देशका अवलोकनकर्ता नेपाल चिनाउनका लागि राखिएका विभिन्न स्टल हेरेर दंग थिए । त्यस्तै, सगरमाथा आरोहणको भर्चुअल अनुभव गराउन स्थापना गरिएको विहार घुमिसकेपछि नेपाल घुम्न जाने सोच बनाएका विदेशी समेत भेटिए ।नेपालको पहिचानका रूपमा चिनिएका धरहरा, बौद्ध तथा स्वयम्भू स्तूपलगायत सामाग्रीले अवलोकनकर्ताको ध्यान खिचेको थियो भने नेपाली परम्परागत बाजासमेत प्रदर्शनमा राखिएको थियो । त्यसका साथै, नेपाली परम्परागत खानाका परिकारले सबैको मन जितेको थियो ।
नेपाली कलाकार तथा बालबालिकाको प्रस्तुति र विभिन्न जातजातिका परम्परागत नृत्य तथा झाँकीले अवलोकनर्ताको ध्यान खिचेको थियो । कार्यक्रममा सहभागीता जनाउन आएका मन्त्रीद्वय नाताली हर्टचिन्स, लिली डिएम्ब्रोसियोले नेपालीले अस्ट्रेलियालाई बहुसांस्कृतिक देश बन्नका लागि पुर्याएको योगदानका लागि धन्यवाद मात्र दिएनन् कि नेपाल आफैंमा कलासंस्कृतिको धनी देश भएको बताए । महोत्सवमा सहभागिता जनाउन आएका केन्द्र तथा राज्यका एक दर्जनभन्दा बढी सांसदले समेत नेपालीको खुलेरै प्रशंसा गरे ।
अस्ट्रेलियास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हरेक दुई वर्षमा यहाँका राज्यहरुमा नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । कोरोना महामारीका कारण ४ वर्षपछि आयोजित महोत्सवका दिन मौसम त्यति सफा नभए पनि अवलोकनकर्ताको सहभागीलाई भने त्यसले खासै असर पारेन । महोत्सव करिब ५० हजारले अवलोकन गरेको आयोजक समितिका संयोजक हरि खड्काको अनुमान छ । ‘महोत्सवको माध्यमबाट हामीले आफ्नो मातृभूमिको पहिचान झल्काउने र पर्यटन प्रवर्द्धन गर्ने काम गरेका छौं,’ उनले भने । महोत्सवको माध्यमबाट बहुसांस्कृतिक समुदायलाई नेपाली कलासंस्कृति, परम्परा र वेशभूषासँग पहिचान गराउन र जोड्न सफल भएको उनको दाबी छ । इकान्तिपुरबाट साभार
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services